|

इलाम :  जग्गा भाडामा दिने रोङ गाउँपालिका–३ स्थित शान्ति निकेतन माविको निर्णय विवादमा परेको छ। २०७३ पुस २५ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको जग्गा ५० वर्षका लागि इलाम पाथिभरा दर्शन प्रालिलाई दिने निर्णय गरेको थियो।

बैठकले कोल्बुङ–२ ख कित्ता नम्बर १५५ को जग्गा प्रतिवर्ष २ लाख ११ हजार १११ रुपैयाँ पाँच वर्षसम्म र पाँच वर्षपछि त्यसको १० प्रतिशत वृद्धि गरी पाथिभरा दर्शनबाट रकम लिने निर्णय गरेको छ। 

निर्णयमा मालपोत कार्यालयमार्फत करार सम्झौता रजिस्ट्रेसन पारित गर्न बैठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दौतल राई र विद्यालयका प्रअ हिमेश्वरप्रसाद यादवलाई अख्तियारी दिने उल्लेख छ। सम्झौता गर्ने इलाम पाथिभरा दर्शन प्रालीले सम्झौता बखत नै विद्यालयलाई १० लाख रुपैया प्रदान गरेको थियो। विद्यालयको उक्त जग्गामा अहिले इँट्टा, सिमेन्टको कंक्रिट घर निर्माण भइरहेको छ।

‘विद्यालयको हितका लागि जग्गा लिजमा दिने निर्णय गरिएको हो। त्यही क्षेत्रमा वनको जग्गामा कति घर त्यसै बनिएका छन्, ती पनि सरकारी जग्गा नै हुन् त्यसलाई कसैले हेरेको छैन।’ विद्यालयका प्रअ हिमेश्वर यादवले भने ‘खोल्सा किनार भिरपाखा र काम नलाग्ने जग्गा भएकाले त्यसबाट विद्यालयलाई स्रोत जुटाउन लिजमा दिइएको थियो।’ यादवले भने।

जग्गा करार गरिएका सबै कागजपत्र गाउँपालिकाले लगेको यादवले बताए। ‘गाउँपालिकाले संघीय संरचनापछि विद्यालय स्थानीय तहमै आएकाले अब दिएको भाडाको अवस्था हरेरे वर्ष घटाएर वा रकम तलमाथि गरेर मिलाएर दिने भनेर कागजपत्र लगेको छ’, यादवले भने।

तर, यसरी विद्यालयको जग्गा भाडामा दिनु कानुनविपरीत रहेको सरोकारवालाको बुझाइ छ। जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम विद्यालय आफैँले जग्गा भाडामा दिन नमिल्ने बताउँछन्। ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर मात्र यसरी जग्गा लिजमा दिन मिल्छ। विद्यालय एक्लैले दिन मिल्दैन’, गौतमले भने ‘यो विषय अलि विवादस्पद छ।’

यता २०६८ सालमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा मन्त्राललाई जग्गा भोगाधिकार वितरण गर्न रोक लगाउन निर्देशन दिँदै पत्राचार गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८-८-७ मा गरेको निर्णयअनुसार प्रधानमन्त्रीको कार्यालयले संघीय संरचानतर्फ मुलुक उन्मुख रहेको जनाउँदै शिक्षा मन्त्रालयलाई त्यस्ता निर्णय रोक्न निर्देशन पठाएको थियो।

उक्त विद्यालयको जग्गा भाडामा दिइएको विषय बाहिर आएपछि र भवन निर्माण सुरु भएपछि गाउँपालिकाले पनि जग्गा भाडामा दिने र लिने कारणको अध्ययन थालेको रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले बताए। ‘विद्यालयले जग्गा किन दियो सरोकारवालाले किन भाडामालियो भनेर दुवैलाई कारण सोधेका छौँ।’ राईले भने ‘हामीले सोधेको कारण अध्ययन गरी जग्गा लिजमा दिनुपर्ने वा नपर्ने विषयमा नयाँ बाटो अपनाउने छौं।’ भाडामा दिइएको भनिएको विद्यालयको जग्गामा भने रिसोर्ट सञ्चालनका लागि भन्दै धमाधम कंक्रिट भवनहरू निर्माण भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.