मेसमा जवानसँगै बसेर खाना खाए गृहमन्त्री थापाले

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले बुधबार नक्खु कारागार, महानगरीय प्रहरी परिसर ललितपुर, जाउलाखेल, महानगरीय प्रहरी प्रभाग पुल्चोकको निरीक्षण गरेका छन्। गृहमन्त्री थापाले भ्रमण सकेलगत्तै प्रहरीको मेसमा पुगेर जवानसँगै खाना खाएका छन्।

बिहान १०:१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए।

त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे। त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए तर गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे।

सो लगत्तै भान्सामा पुगी उनले, 'हामी पनि यहीँ खाना खान्छौँ, खाना पुग्छ नि' भनेर प्रश्न गरे। उनको प्रश्नबाट अकमकिएका प्रहरीले शुरुमा त विश्वास मानेनन्। ‘पुग्छ हजुर’ भनेर जवाफ दिए। 'त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस्' भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खाए।

दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो। गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन्।

सो अवसरमा उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिए। सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.