|

काठमाडौं : साना-ठूला प्राय: सबै अपरेसनको बेलामा ऐनेस्थेसिया आवश्यक हुन्छ। तर अपरेसनको बेलामा आवश्यक पर्ने सोही एनेस्थेसियाका चिकित्सक (एनेस्थेटिस्ट)को संख्या भने सरकारसँग न्यून रहेको छ।

पछिल्लो समय जसरी बिरामीहरूको संख्या बढ्दै गएको छ, तिनै बिरामीहरूको उपचारका लागि आवश्यक पर्ने एनेस्थेसियाका चिकित्सकहरू भने सरकारसँग अत्यन्त कम रहनु बिरामीका लागि दुर्भाग्यपूर्ण बन्दै गएको छ भने सरकारको निरीहता।

सामान्य होस् वा  जटिल प्रकारको शल्यक्रिया गर्दा शल्यक्रियको समयमा ऐनेस्थेसियाको महत्त्वपूर्ण भूमिका हुन्छ। बिरामीलाई दुखाइ र तनाव महसुस नहोस् भन्नका लागि लठ्याउन वा बेहोस बनाउन प्रयोग गरिने एक प्रकारको अौषधि हो एनेस्थेसिया। तर सरकारकै ठूला अस्पतालहरूमा ऐनेस्थेसियाका चिकित्सकहरू दरबन्दीअनुसार नहुँदा स्वास्थ्य सेवामा अप्ठ्यारो भइरहेको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए। श्रेष्ठले हाल वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूतिगृह र भरतपुर अस्पतालमा दरबन्दीअनुसार एनेस्थेटिस्टको संख्या रहेको तर देशका अन्य सरकारी अस्पतालहरूमा एनेस्थेसियाका चिकित्सक नरहेको बताए।

उनले भने, 'हाल वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूतिगृह र भरतपुर अस्पतालमा दरबन्दीअनुसार एनेस्थेटिस्टको संख्या भए पनि अन्य कुनै पनि सरकारी स्वास्थ्य संस्थामा एनेस्थेटिस्टको संख्या आवश्यकताअनुसार छैन, जसले गर्दा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेका छैनन्।'

हाल देशभर सरकारसँग जम्मा १८ जना एनेस्थेसिया चिकित्सक रहेका छन्। हालसम्म भएको दरबन्दीको आधारमा २७ जना एनेस्थेसियाका चिकित्सकको दरबन्दी खाली रहेको डा. श्रेष्ठले बताए।

अन्य विशेषज्ञ चिकित्सको तुलनामा एनेस्थेसियाका चिकित्सकको दरबन्दी नै थोरै रहेको छ। त्यसमाथि दरबन्दीअनुसारका चिकित्सक नहुँदा कतिपय सुविधासम्पन्न अस्पतालमा सामान्यदेखि जटिल प्रकृतिका शल्यक्रिया गर्न अप्ठ्यारो भइरहेको समेत डा. श्रेष्ठले बताए।

'हाल सरकारसँग भएको दरबन्दीअनुसार २७ जना एनेस्थेसियाका चिकित्सकको दरबन्दी खाली छ', उनले भने, 'कम्तीमा पनि हालकै दरबन्दीअनुसार चिकित्सक हामीसँग भए ५० वेडसम्मका प्रत्येक सरकारी अस्पतालमा एक जनासम्म पठाउन सकिने अवस्था हुन्थ्यो।'

कम्तीमा ऐनेस्थेटिस्ट आवश्यक ६ सय जना

हाल अस्पतालहरूमा बिरामीको चापअनुसार प्रत्येक सरकारी अस्पतालका चार जनासम्म एनेस्थेसियाका चिकित्सक भए जनतालाई गुणस्तरीय सेवा दिन सकिनेसमेत माहाशाखा प्रमुख डा. श्रेष्ठले बताए। यस्तै, देशभर हाल कम्तीमा पनि ६०० जति एनेस्थेसियाका चिकित्सकको आवश्यक रहेको छ।

उनले भने, 'हाल रहेका सरकारी स्वास्थ्य संस्थाहरूमा अस्पतालको बेडको संख्या र बिरामीको चापअनुसार कम्तीमा एक अस्पतालमा एकदेखि चार जनासम्म एनेस्थेसियाका चिकित्सकहरू भए बिरामीले राम्रो उपचार सेवा पाउँथे।'

हाल स्वास्थ्य सस्थाहरूमा एनेस्थेसियाका चिकित्सक नहुँदा उनीहरूका स्थानमा  सहायक एनेस्थेटिस्टबाट शल्यक्रिया हुने भए पनि शरीरको भित्री अंगको शल्यक्रिया गर्नुपर्ने अवस्थामा भने एनेस्थेसियाकै चिकित्सक आवश्यक पर्ने डा. श्रेष्ठ बताउँछन्।

काउन्सिलमा ३८९ जना मात्र दर्ता

नेपाल मेडिकल काउन्सिलमा जम्मा ३८९ जना मात्र एनेस्थेसियाका चिकित्सक दर्ता भएका छन्। काउन्सिलको तथ्यांकअनुसार २९० जना पुरुष र ९९ जना महिला एनेस्थेसियाका चिकित्सक रहेका छन्। दर्ता भएका कतिपय चिकित्सकहरू विदेश गएकाले नेपालमै रहेर काम गर्ने एनेस्थेसियाका चिकित्सकहरू एकदम कम रहेको काउन्सिलले जनाएको छ।

 के हो एनेस्थेसिया?

सामान्य तथा जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थामा बिरामीलाई बेहोस गराउने चिकित्सा पद्धतिलाई एनेस्थेसिया भनिन्छ। शरीरको बाहिरी भागमा शल्यक्रिया गर्दा जुन ठाउँमा शल्यक्रिया गर्ने हो, त्यही ठाउँमा एनेस्थेसियाबाट लठ्याउने गरिए पनि शरीरको भित्री भागमा शल्यक्रिया गर्नुपर्ने अवस्थामा बिरामीको पूरै शरीर लठ्याउने गरिन्छ। यस्तो बेलामा एनेस्थेसियाका चिकित्सकहरूले बिरामीको शारीरिक अवस्थाअनुसार शरीरलाई लठ्याउने गर्छन्।

एनेस्थेसियाको प्रयोग शल्यक्रियाको समयमा लठ्याउन मात्र नभई चिकित्सा क्षेत्रमा यसको धेरै भूमिका हुन्छ। बिरामीलाई सहनै नसक्ने दुखाइ भएको अवस्थामा दुखाइ कम गर्न, मुखबाट फोक्सोमा पाइप हालेर भेन्टिलेटरमा जडान गर्न पनि एनेस्थेसियाको सहयोग आवश्यक पर्छ।

एनेस्थेसिया बिरामीको शरीरमा प्रयोग भएको बेला बिरामी अचेत हुन्छन्, सम्झना हुँदैन, शल्यक्रिया गर्दाको पीडा हुँदैन र मांसपेशी चल्दैन। त्यसैले उपचारका लागि बिरामीलाई गराइने बेहोसी हो। तर यस्तो बेहोसीको उद्देश्य भनेको बिरामीको जोखिम कम गराउनु हो। यी सबै कुरा औषधिको माध्यमबाट गराइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.