सन्दर्भ : गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति

|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलबीचको सहमति, सहकार्य र एकताबिना मुलुकको समृद्धि र विकास सम्भव नरहेको बताएका छन्।

कांग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति तथा जिपी कोइराला मेमोरियल कम्युनिटी कलेजको पाँचौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले भने ‘गिरिजाबाबुको भावनाबमोजिम दलबीच सहमति, सहकार्य र एकताबाटो दलहरुले अँगाल्नैपर्छ, नत्र कुनै परिवर्तन संस्थागत गर्ने चुनौतीलाई सामना गर्न कठिन हुन्छ।’

उनले गणतन्त्र घोषणापछि पनि प्रमुख दलहरु सहमतिबाटै अघि बढ्नुपर्छ भन्ने कोइरालाको सुझाव निकै दूरदर्शी भएको दाबी गरे। कांग्रेस प्रतिपक्षमा रहे पनि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त हुनु सकारात्मक संकेत भएको जनाउँदै प्रचण्डले भने ‘परिवर्तनकारी दलबीच सहमति भएन भने राजा–महाराजा र निरंकुशता चाहने तत्वले टाउको उठाउँछन् भन्ने कुनियत बुझेर नै गिरिजाबाबुले परिवर्तन संस्थागत नभएसम्म राजनीति दलबीच सत्ता-प्रतिपक्षको विवाद छोडेर सहमतीय पद्धति अँगाल्नुभएको थियो।’ 

उनले गिरिजाप्रसादको यही भावनाबमोमिज हामी चल्न नसके मुलुकको समृद्धि असम्भव भएको बताए। आफूले पनि गिरिजाप्रसादकै भावनाबमोमिज २०७२ साल वैशाखमा गएको महाभूकम्पपछिको विपत्तिको अवस्थामा प्रतिपक्षमा रहे पनि आफूले प्रतिपक्षीको भावना परित्याग गरी सहयोगीको भूमिका निर्वाह गरी संविधान निर्माण गर्न सहमतिको खोजी गरेको बताए। 

गिरिजाबाबुलाई फोन गर्न रोल्पाबाट दाङ आउँथेँ : प्रचण्ड
शान्ति प्रकृयाको शुरुआती घटनाको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ‘कांग्रेसका तत्कालिन सभापति कोइराला व्यक्तिगत रुपमा आफ्नो भरोसायोग्य र विश्वास गर्न लायकको राजनेता भएकोले उहाँसँग कुराकानी गर्न रोल्पाबाट दाङ आउने गर्थें।’

उनले आफू सशस्त्र विद्रोहीको कमाण्डर भएर गिरिजाबाबुसँग वार्ता गर्न रोेल्पाबाट कहिले दाङ र कहिले रुकुम जाने गरेको र मुम्बईमा बस्दा गोआ गएर फोनमा एक घण्टासम्म कुराकानी हुने गरेको बताए। प्रचण्डले चुनौती र जटिलताबाट नडराउने दृढ आत्मविश्वास बोकेको नेता भएर पनि गिरिजाप्रसादले मेलमिलापको संस्कार देखाएको बताए। 

पहिलो भेटमै गिरिजाबाबुले आफूलाई ‘देश गणतन्त्रमा अब जान्छ, मेरो मुखबाट यो बोल्न नलगाउनुहोस्, तपाईं आफ्नो ठाउँबाट लाग्नुस्’ भनेको स्मरण गर्दै प्रचण्डले भने ‘उहाँले मसँग जे जे प्रतिबद्धता व्यक्त गर्नुभयो, ती सबै काम एक इन्च पनि तल नझरीकन पूरा गर्नुभयो, उहाँ शान्तिप्रक्रियाका नायक मात्र नभएर युगान्तकारी राजनेता पनि हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.