|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाएर पेट्रोलियम पदार्थमा भइरहेको खर्च घटाउने बताएका छन्।

नेपाल इन्जिनियरिङ एशोसिएसनको १५औँ राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताए। ‘ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो,’ मन्त्री पुनले भने, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ।’

मन्त्री पुनले नेपालमा विद्युतको खपत बढाउने कार्यक्रम रहेको र अबको १० वर्षमा मुलुकलाई १० हजार मेगावाट विद्युत आवश्यक पर्ने बताए। उनले नेपालको भविष्यको मागलाई अनुमान गरेर त्यसैका आधारमा जलविद्युत आयोजना निर्माणका कामलाई तीव्रता दिइरहेको बताए।

उनले दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागी सरकारले छिट्टै नयाँ योजना ल्याउन लागेको जानकारी दिए।

माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिँदै त्यसका लागि ऊर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पुर्‍याउने बताए।

मन्त्री पुनले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको व्यापक उपयोग गरिने बताए।

‘देशमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त भएसँगै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन सकेमात्र त्यसले साँचो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ’, उनले भने।

ऊर्जामन्त्री पुनले कृषिमा आधुनिकीकरण गर्ने र उत्पादन वृद्धि गरेर देशलाई छिट्टै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको संकल्प पूरा गर्ने दिशामा आफूहरू अघि बढिरहेको बताए।

विकास र समृद्धिको सपना पूरा गर्न दक्ष इन्जिनियरहरूको ठूलो भूमिका हुने उनको धारणा थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.