|

काठमाडौं : राजधानीको सार्वजनिक बसमा चढेकी बौद्धिक अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा ठेगाना नखुलाइएका भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईं रहेका छन्। 'राजधानीमै त्यस्तो प्रकारको घटना, त्यसमा पनि सार्वजनिक बसमा चढेकी बालिकामाथि, यो सामान्य घटना हुँदै होइन, यस्तो प्रकारको घटनाले अब सार्वजनिक बसमै यात्रा गर्न जोखिम रहेको देखियो। यस घटनालाई गम्भीर रूपमा लिएका छौँ', काठमाडौं प्रहरी परिसका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले भने।

यस्तो भएको थियो घटना

फागुन १७ गते साँझ एक १५ वर्षीया बौद्धिक अपांगता भएकी ती बालिका बल्खु घरबाट बल्खु चोकतिर निस्केकी थिइन्। बल्खु पुगेकी उनी बल्खु चोकमै भेटिएको रिङरोड चल्ने बा४ख ३८४१ बस चढिन्। बस बल्खु हुँदै कलंकी, गंगबु, वसुन्धरा पुग्यो। त्यति बेलासम्म बसमा चढेका सबै यात्रु ओर्लिसकेका थिए।

साँझ झमक्क परेको थियो। ती बािलका भने ओर्लिन सकिनन्। त्यही मौका छोपेका उक्त बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले बालिकालाई सहयोग गर्नुको साटो वसुन्धारामै रहेको एक ग्यारेजमा लगेर पालैपालो बलात्कार गरे। घटना त्यतिमै रोकिएन। बलात्कारलगत्तै बालिकालाई बसका चालक घिमिरेले आफ्नै कोठा ललितपुरको हरिसिद्धि पुर्‍याएर छ दिनसम्म बन्धक बनाएर बलात्कार गरिरहे। प्रहरीका अनुसार बन्धक बनाइएकी बालिकालाई कोठाभित्रै दिसा पिसाब गराइएको थियो।  

यता, पीडित बालिकाकी आमा भने छोरी हराएकाले बालबालिका खोजतलास केन्द्रदेखि प्रहरी र संचार माध्यममा छोरीको खोजीका लागि हुलिया दिँदै अनुरोध गर्दै थिइन्। उता, बालिका भने लगातार बलात्कारको सिकार भइरहेकी थिइन्।

छ दिनको बन्धकबाट बल्लतल्ल के छुटेकी थिइन्, उनी फेरि अर्को बसका सहचालकको पन्जामा परिन्। उनी थिए, सुदीप बजगाईं। उनले फागुन २४ गते एक दिन र आफैँसँग राखेर ती बालिकालाई बलात्कार गरे। उनले फागुन २५ गते दीपक गड्तौलालाई जिम्मा लगाए। दीपकले बालिकालाई सन्तोष घिमिरेकै कोठा हरिसिद्धि पुर्‍याइदिए। २५ गते राती दीपकले आफ्नै कोठामा राखेर बलात्कार गरे।

२७ गते भने दीपकले बालिकालाई सातदोबाटोबाट रिङरोड चल्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाए। उक्त गाडीका चालक थिए, दिपक घिमिरेकै साथी भोला तामाङ र सहचालक चन्द्र सापकोटा। उनीहरूले समेत स्वयम्भुको एक ग्यारेजमा लगेर रातभर पालैपालो बलात्कार गरे। यति हुँदा बालिकाको स्वास्थ्यमा समस्या देखिन सुरु भइसकेको थियो।

२८ गते उनीहरूले ती बालिकालाई स्वास्थ्यमा समस्या देखिएपछि २५० रुपैयाँ र गर्भनिरोधक औषधि दिएर स्वयम्भुमा छाडिदिए। पीडित बालिकाका आफन्तले स्वयम्भुमा फेला पार्दा उनी अझै असामान्य बन्दै गएकी थिइन्।

बलात्कारको आशंकामा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएको आधारमा अनुसन्धान गर्दा सार्वजनिक बसका चालहरू मिलेर बन्धक बनाई पालैपालो बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए। बसका चालक सन्तोष घिमिरेको कोठाबाट प्रहरीले गर्भधारण रोक्ने औषधिको खोल, कण्डम र दुई बोतल पिसाबसमेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.