|

  • धर्मराज जीसी-

सुर्खेत : प्रदेशका पशु प्राविधिकहरूले कर्णालीमा प्रदेशस्तरीय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान स्थापना गर्न माग गरेका छन्। नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसनको कर्णाली प्रदेशस्तरीय भेलाका सहभागीहरूले यस्तो माग गरेका हुन्। 

पशु प्राविधिकहरूले कर्णाली प्रदेशका जिल्लाहरूमा उपयुक्त पशु बालीको अनुसन्धान कार्यको थालनी गर्न अध्ययन संस्थान स्थापना गर्न माग गरेका हुन्। प्राविधिकहरूले कर्णाली प्रदेशअन्तर्गतका १० वटै जिल्लामा पशु उपचार सेवामा संलग्न पशु प्राविधिकहरूलाई कानुनी समस्या भएकाले त्यसको तत्काल व्यवस्थापन गर्न र हित संरक्षणका लागि परिषद् गठन गर्न सरकारसँग माग गरेका छन्।

प्राविधिकहरूले एक गाउँ एक प्राविधिकलाई निरन्तरता दिँदै प्रत्येक वडामा एक कृषितर्फको र एक पशु सेवातर्फको प्राविधिकको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

संघीयताको कार्यान्वयन भएसँगै पुरानो दरबन्दीले काम नगर्ने भन्दै सरकारले तत्कालै सबै स्थानीय तहका पशु सेवा प्राविधिकको व्यवस्थापन तथा काममा संलग्न प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्नुपर्ने उनीहरूको माग छ। 

कर्णाली प्रदेशका जिल्लाहरूमा पशुपालन गर्न चाहने युवालाई परियोजना लक्षित प्रिमिएम तालिम तथा व्यवसाय संचालनको वातावरण बनाउन सरकारसँग माग गरिएको नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसनका कर्णाली प्रदेश संयोजक रूपसिंह राईले बताए। 

कर्णाली प्रदेशका पशु प्राविधिकहरूले पशुपालन व्यवसायका लागि उन्नत घाँस, बिउ, बोका, साँढे, राँगालगायतको व्यवस्थापन सरकारले नै गुर्नपर्ने, कृषि तथा पशु सेवाका लागि स्थानीय तहहरूमा गएको वजेट अन्यत्रै खर्च भएको भन्दै कृषि तथा पशु सेवाको बजेटलाई अनिवार्य रूपमा सम्बन्धित क्षेत्रमा लगानी गर्नुपर्ने, दर्ता नगरिएका पशु औषधि व्यवसायलाई अविलम्ब कानुनी दायरामा ल्याउनुपर्ने विषयमा भेलामा छलफल गरिएको छ।  

भेलामा सहभागी प्राविधिकहरूले प्रदेशभित्र कृषि र पशुपन्छीजन्य उद्योगको उचित व्यवस्थापन गरी पशुजन्य उद्योगहरूको स्थापनाका लागि सरकारले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.