|

गोरखा : आरुघाट गाउँपालिका- १५ डाँडागाउँकी आइती बराम (नाम परिवर्तन)ले गत फागुन १५ गते छोरी जन्माइन्। मुखले बोल्नसमेत नसक्ने ३५ वर्षकी आइतीले गाउँकै एक युवाले आफूलाई बलात्कार गरेर गर्भ रहेर बच्चा जन्मेको बताउँदै आएकी छन्। 

आइतीका परिवारले फागुन १९ गते इलाका प्रहरी कार्यालय आरुघाटमा दिएको ठाडो उजुरीका आधारमा अहिले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रबाट अनुसन्धानको काम भइरहेको छ। 

‘केटी पक्ष र केटा पक्षलाई सोधपुछका लागि बुधबार यहीँ बोलाइयो’, महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक कमला नरालले भनिन्, ‘आरोपी केटाले मैले हुँदै होइन भन्ने, पीडित केटीले यही मान्छेले हो भन्नेबाहेक केही भएन।’ पीडित पक्षले बिहीबार जिल्ला अदालत गोरखामा नाता प्रमाणित गरी पाऊँ भनेर निवेदन दिने तयारीसमेत गरेका छन्। पीडित आइती आफ्नी छोरीसमेत लिएर जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी हुन्। 

‘दुवै पक्षले प्रहरी कार्यालयमा आफ्ना-आफ्ना भनाइ राख्यौं’, पीडित आइतीका भाइ बाबुरामले भने, ‘जसलाई दिदीले दोष लगाएकी छन्, उसले स्वीकार नै गर्दैन। त्यसैले अब हामी अदालती प्रक्रियामा जाने तयारीमा छौँ। भोलि अदालतमा नाता प्रमाणित गरी पाऊँ भनेर निवेदन दिन्छौँ। डिएनए परीक्षणलगायतका काम अदालतको भनाइबमोजिम हुन्छ रे!’  

पीडित आइती दुई वर्षकी हुँदा घरभित्रको अँगेनाको भुंग्रोमा परेर उनको देब्रे स्तनलगायत शरीरको विभिन्न भागसमेत डढेको छ। आइतीले इशारा गरेर रातको समयमा घरमै आएर बलात्कार गरेको आरोप लगाएकी छन्। ‘राती सुतेको बेलामा कोठामा छिरेर, बत्ती मारेर अवैध काम गरेको भनेर भन्छे। उसले जति बेला पनि एउटै व्यक्तिलाई मात्रै दोष दिन्छे’, काका भीमबहादुरले भने। 

पीडितलाई सहयोग 

बलात्कारको सिकार भई अहिले आमा बनेकी आइतीलाई महिला तथा बालबालिका कार्यालयले आउनेजाने भाडा र अशक्तलाई सुत्केरी खर्च भनेर १५ हजार रुपैयाँ सहयोग गरेको महिला तथा बालबालिका कार्यालयकी इन्दिरा तिवारीले जानकारी दिइन्।

‘उनलाई हाम्रो कार्यालयको तर्फबाट बुधबार नै महिला तथा बालबालिका सेवा केन्द्रमै गएर नगद १५ हजार रुपैयाँ सहयोग प्रदान गर्‍यौँ', तिवारीले भनिन्, ‘आरुघाट-गोरखा गर्दाको आतेजाते खर्च र सुत्केरी खर्च भनेर हामीले १५ हजार दिएका हौँ।’

आइतीलाई स्वाँरा सघन गाउँ विकास केन्द्रले पनि पाँच हजार रुपैयाँ सहयोग गरेको केन्द्रका विकास ढुंगानाले जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.