|

वीरगञ्ज : सुरेश केडिया अपहरण काण्डका अभियुक्तहरू वीरगन्ज कारागारबाट रातारात छुटेका छन्। 

वीरगन्ज कारागारमा रहेका वीरगन्जको उच्च व्यापारिक घराना केडिया अर्गनाइजेसनका सदस्य सुरेश केडियाको अपहरण काण्डमा पक्राउ परेका बारा कबहीजब्दी– ३ बस्ने चञ्चल पाण्डे, महागढीमाई नगरपालिका– २ बस्ने जियालाल यादव, वडा नम्बर- २ बस्ने वीरेन्द्र यादव, कबहीजब्दी– ९ बस्ने मियालाल यादवलाई उच्च अदालतले सफाई दिएपछि वीरगन्ज कारागारबाट उनीहरू रातारात मुक्त भएका हुन्। 

संगठित अपराधअन्तर्गत अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा वीरगन्ज कारागारमा बारा जिल्ला अदालतको चलानी नम्बर ६१७९ मिति २०७३ चैत्र १२ गतेको फैसलाअनुसार पुर्पक्षका लागि थुनामा रहेका चार जनालाई मंगलबार उच्च अदालतको वीरगन्जस्थित अस्थायी इजलासले सफाई दिएपछि उनीहरू रातारात छुटेको कारागार स्रोतले जनाएको छ।

गत २०७३ जेठ १३ गते बेलुकी ६ बजे कलैया–वरियारपुर सडकबीचमा रहेको पसाहा पुलनिरबाट वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण गरेको भन्दै सौरभ केडियाको जाहेरीमा अभियुक्तहरू पक्राउ परेका थिए। 

अभियुक्तहरूलाई कारागारमुक्त गराउन चर्को राजनीतिक दबाब आएको र ५ बजे कारागारको प्रशासनिक काम कारवाही बन्द भइसकेको अवस्थामा समेत राजनीतिक शक्तिको प्रभावमा कारागार प्रशासनलाई पारेर उनीहरू रातमा छुटेको स्रोतले जनाएको छ। कारागारमुक्त भएका चार जनालाई लिन बाराबाट झण्डै एक सय थान मोटरसाइकल, गाडीसहित मानिसहरू कारागार अगाडि बसेपछि आसपासको जनजीवनसमेत प्रभावित भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.