|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजाले राजनीतिक दलहरूका बीचमा खेल्न थालेकाले उक्त राजतन्त्र फालेर गणतन्त्र ल्याएको बताएका छन्। राजधानीमा ‘गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्र’ले कोइरालाको आठौँ स्मृती दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले दलका नेतापिच्छे फरकफरक कुरा गर्ने र दलहरूलाई जुधाउने प्रवृतिका कारण राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउनु परेको बताए।

‘राजाले पार्टीपिच्छे नेताहरूलाई बोलाएर एक्लाएक्लै भेट्ने अनि जुधाउने काम गरे, पार्टीलाई जुधाउने गलत प्रवृतिकै कारण राजा फ्याँकेर गणतन्त्र ल्याउनु पर्ने अवस्था आयो’, नेता नेपालले भने। पूर्वप्रधानमन्त्री नेपालले गणतन्त्र ल्याउन गिरिजाप्रसाद कोइरालाले नायकको भूमिका निर्वाह गरेको भन्दै सूक्ष्म ढंगबाट राजनीतिलाई दूर भविश्यसम्म हेर्ने कोइरालामा महान खुबी रहेको बताए। ‘राजनीतिलाई एकैपल्ट नभइ सूक्ष्म ढंगबाट नियाल्ने क्षमता कोइरालामा थियो, उहाँले दूर भविश्य हेरेर मुलुकमा गणतन्त्रका लागि पाइला चाल्नु भएको हो, त्यहीबाट उहाँ नायक बन्नु भयो,’ नेपालले भने।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपाली राजनीतिमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै भएको बताए। सिटौलाले शक्ति आफ्नो हातमा रहँदा पनि शक्तिको कम प्रयोग गरेर मुलुकलाई जिताउने काम कोइरालाले गरेको बताए। उनले वर्तमान सरकार शक्ति आफ्नो हातमा लिएर सामन्तवाद सृजना गर्न लागेको भन्दै गिरिजाप्रसाद कोइरालाबाट नेता कसरी बन्ने भन्ने पाठ सिक्न आग्रह गरे।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाली राजनीतिक आन्दोलनको पहिलो खुड्किलो २००७ सालको आन्दोलन देखि २०६२-०६३ सम्मको पूर्णताको आन्दोलनलाई हाँक्ने एउटै व्यक्ति गिरिजाप्रसाद कोइराला मात्र भएको बताए।

कांग्रेस नेता डा. रामशरण महतले कहिल्यै पनि नसकिने ऊर्जा र नथाक्ने व्यक्तित्व गिरिजाप्रसाद कोइरालामा रहेको भन्दै राष्ट्र, लोकतन्त्र, जनताको अधिकार र राष्ट्रको समुन्नतिका लागि कोइराला मुर्धन्य व्यक्तित्व भएको बताए। कांग्रेस नेता भीमसेनदास प्रधान, प्रदिप पौडेल, गुरु घिमिरे लगायतले गिरिजाप्रसाद कोइरालाको योगदानको जति चर्चा गर्दा पनि कम हुने भन्दै राष्ट्रले नै उनको सम्मान गर्नु पर्ने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.