|

  • भविन कार्की -

संखुवासभा : जिल्लाको विकट र दुर्गम स्थान भनेर चिनिएको भोटखोला गाउँपालिका- १ लिङ्गाम र गोलाका स्थानीयले बिजुली बाल्न पाउने भएका छन्। बिजुलीको झिलिमिली सदरमुकाम खाँदबारीमा मात्र देख्ने गरेका भोटखोलावासीले अब आफ्नै गाउँमा बिजुली देख्न पाउने भएका हुन्।

भोटखोलाको मुख्य स्थान गोलाबजार र छिमेकी लिङ्गाम गाउँसमेतलाई पुग्ने गरी लघु जलविद्युत्त हाइड्रोपावर निर्माण कार्य अन्तिम चरणमा पुगेपछि स्थानीयहरू हर्षित भएका छन्। खेर गइरहेको पानी सदुपयोग गर्ने उद्देश्यले हाइड्रोपावर निर्माण गरेर बिजुली बाल्ने तयारीमा जुटेका स्थानीय लिङ्गामका कुमार गुरुङले बताए। 

गोलाबजारमा सबै जातिहरूको बसोवास रहेको छ। छिमेकी देश चीनको तिब्बत हुँदै किमाथांका, हटिया, चेपुवाबाट खाँदबारी झर्ने व्यापारी र धरान, विराटनगरबाट खाँदबारी हुँदै उत्तरी क्षेत्र जाने व्यापारीहरू भेटघाट हुने संगमस्थलसमेत हो, गोलाबजार। तर उक्त गोलाबजार शदियौँदेखि अन्धकार हुँदा आम सर्वसाधारण दिक्क थिए।

अब छिट्टै गोला र लिङ्गामका घरघरमा बिजुली बत्ती बल्ने लघु जलविद्युत्त हाइड्रोपावर उपभोक्ता समितिका अध्यक्ष मनोज गुरुङले बताए। ‘गोला र लिङ्गामका ५२ घरधुरीलाई पुग्ने गरी हाइड्रोको निर्माण कार्य थालनी गरिएको हो। अबको केही महिना अर्थात् आउने बैशाख महिनाभित्र निर्माण सम्पन्न भई घरघरमा बिजुली बल्ने उनको दाबी थियो। 

दशवटा स्थानीय तह रहेको संखुसवासभामा धेरै तहमा बिजुली पुगिसकेको भएपछि यस भोटखोलामा मात्र विस्तार हुन सकेको छैन। 'सबैतिर झिलिमिली छ, हाम्रै गाउँ मात्रै अन्धकारमय भयो, त्यसैले अन्धकार हटाएर उज्यालो गाउँ बनाउन लागेको',  स्थानीय कुमार गुरुङको भनाइ छ। स्थानीयकै श्रमदानमा निर्माण हुने भएकाले कसैले काममा ठग्न नपाउने र कोही नआएमा जरिवाना गर्ने नियमसमेत बनाइएको छ। 

आठ किलोवाट विद्युत्त उत्पादन हुने उक्त हाइड्रोपावरले ५२ घरधुरीलाई बिजुली बाल्न पुग्ने अनुमान छ। २०७४ भदौ महिनाबाट सुरुवात भएको उक्त योजना २०७५ बैशाखसम्म सम्पन्न हुने जनाइएको छ। उपभोक्ता समितिका अध्यक्ष मनोज गुरुङका अनुसार कूल २३ लाख ५० हजार रुपैयाँको लागतमा योजना सुरु भएको हो। योजना सम्पन्न गर्न ३० प्रतिशत स्थानीय गाउँलेहरूले जनश्रमदानसमेत गर्नुपर्नेछ।

गाउँपालिकाको वडा परिषद्‌बाट बिजुली विस्तार शीर्षकमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने लघुजलविद्युतसम्बन्धी काम गर्ने बुटवलको गौतम इनर्जी इन्जिनियरिङ नामक संस्थाले आठ लाख २५ हजार रुपैयाँ लागतमा अनुदान स्वरूप पेटसेट खरिद गरिदिने भएको छ। साथै प्राविधिक सहयोगसमेत सोही संस्थाले गरिरहेको छ।

वडा परिषद्‌बाट विनियोजित रकम अर्को वर्ष मात्रै आउने भएकाले प्रत्येक घरधुरीबाट अहिले १५/१५ हजार रुपैयाँ संकलन गरेर निर्माण सम्पन्न गर्ने र पछि सबैको पैसा फिर्ता दिइने शर्तबमोजिम काम भइरहेको समितिका अध्यक्ष गुरुङले बताए। 
        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.