|

कालीकोट : जिल्लाको दुर्गम पलाँता गाउँपालिका सडक संजालमा जोडिएको छ। कर्णाली करिडोरले छोएको पलाँतामा स्थानीयले ग्रामीण सडक निर्माण गरेपछि सडक संजालले छोएको हो। 

गाउँपालिकाले आगामी दुई वर्षमा प्रत्येक वडामा मोटर बाटो पुर्‍याउने तयारीका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘सडक विकासको पहिलो खुड्किलो हो’, उनले भने, ‘आगामी दुई वर्षभित्र गाउँपालिकाका सबै वडाहरूमा सडक पुर्‍याउने लक्ष्य लिएका छौँ।’

सडक निर्माण भएपछि सदरमुकामदेखि तीन दिन पिठ्युँमा भारी भोकेर पेट भर्ने समस्याको अन्त्य भएको स्थानीय सुमन बमले बताए। सडक निर्माणमा यस वर्ष मात्र गाउँपालिकाले चार करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताए। ‘गाउँपालिकाले वडा नम्बर- ६ को ओदी, जाँफे, छलाहाँ सडक खण्ड, वडा नम्बर- ९ को अशोक र मुनाल मार्गको निर्माण कार्य सुरु गरेकोे छ’, उनले भने, ‘स्थानीय कार्यदलबाट निर्माण कार्य ढिलो हुने भएपछि गाउँपालिकाले डोजरमार्फत् मार्ग निर्माण कार्य अघि बढाएको छ।’

डोजरले बनाएको मार्गमा वाल लगाउने, जाली भर्नेलगायतका कार्य कार्यदलले नै गर्ने तयारी भएकाले गाउँपालिकाले सडक निर्माण थालेको वडा नम्बर- ९ का अध्यक्ष टक्कबहादुर बमले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.