|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ। विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए। उनीहरूले १ हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको छ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो। त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो। २०७४ साल सुरु भएयताको दुईपटकको निर्वाचनको समयमा काम गर्न नपाएको, बर्सात्को समय, चाडपर्वको समय र थपिएको काम समेतलाई मिलाएर मिति थप गरिएको खनालले बताए।

यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो। स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको हो।

परामर्शदाता कम्पनीले गरेको सिफारिसअनुसार मिति थप भएको खनालले बताए। हालसम्म उक्त आयोजनाका ८२ प्रतिशत काम भएको छ। आयोजनाका इन्जिनियर खनालका अनुसार ३३.२ किलोमिटरमध्ये २४.५ किलोमिटर सडक कालोपत्र भएको छ।

राजधानी काठमाडौं र पोखरा जस्ता ठूला शहरलाई तराईसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको उक्त खण्डको निर्माण ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.