|

चितवन : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका छन्।

मुलुकमा समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकाले विभेद र असमानताको अन्त्य गर्न केही समयको लागि समावेशितालाई सम्बोधन गर्न क्लस्टरको अवधारणा ल्याइएको उनले बताए।

डा. भट्टराईले बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उत्पीडित र उत्पीडक दुवैथरी प्रवृत्ति जातिवादी प्रवृत्ति भएको बताए। उनले नेपालको जातीय, भाषिक, सांस्कृतिक विविधताको सम्मान गर्दै उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने आवश्यकता औंल्याए।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लोकतन्त्रको समृद्धिकरण गर्दै समुन्नत समाजवादमा पुग्नुपर्ने बताएका छन्। लोकतन्त्रको समृद्धिकरणका लागि वैकल्पिक राजनीतिको अपरिहार्यता रहेको उनको भनाइ थियो। उनले आजको सत्यको रुपमा उदाएको वैकल्पिक राजनीतिलाई कार्यान्वयन गर्नकै लागि नयाँ शक्ति पार्टीको जन्म भएकोमा जोड दिए।

नयाँ शक्ति पार्टीका संयोजक एवं भट्टराईले पार्टीभित्रको पदीय जिम्मेवारी कुनै मानमर्यादाको विषय नभएको र नयाँ शक्तिले समतलीय संगठनात्मक प्रणालीको अभ्यास गरेको भन्दै एक व्यक्तिले दुई कार्यकाल मात्र कार्यकारी भूमिकामा रहने व्यवस्था गरिने बताए। उनले पार्टी निर्माणका लागि नैतिक उत्प्रेरणा र उत्पादन तथा स्वरोजगारमुखी क्रियाकलापमा सरिक हुन सबै पार्टी अभियन्ताहरूलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.