'लिलिबिली'बाट सफलताको ह्राट्रिक गर्ने दाउ

|

काठमाडौं : नेपाली फिल्म हेर्ने दर्शकमाझ चिनाइरहनु पर्ने नाम हैन्, प्रदीप खड्का। पहिलो फिल्म स्केपबाट असफलतालाई बेहोरेका प्रदीपलाई दोश्रो फिल्म 'प्रेम गीत'ले एका-एक चर्चामा ल्यायो। प्रेम गीतबाट उनको चर्चामात्र भएन उनलाई स्टार बनाइदियो।

प्रेम गीत सफल होला र यत्तिको चर्चामा आउँला भन्ने नसोचेको प्रदीप बताउँछन्। 'प्रेम गीतको अडिसन दिँदा म छनोट हुन्छु भन्ने नै थिएन', प्रदीप भन्छन् 'छनोट भए। तर फिल्मले यत्तिका सफलता पाउँला र मेरो चर्चा यति होला सोचेको थिएन्।'

पढाईमा अब्बल प्रदीप

ललितपुरमा जन्मिएका प्रदीप पढाईमा राम्रै थिए। घरनजिकै उनको विद्यालय थियो। उनको १० कक्षा सम्मको दैनिकी विद्यालय जाने, घर फर्कने र गृहकार्य गर्ने मात्र थियो। उनले एसएलसी नदिँदासम्म घरबाट बाहिर जाने अनुमति पाएका थिएनन्। भन्छन् '१० कक्षा पुग्दासम्म मैले घर बाहिरको केही थाहा पाएको थिइँन। साच्चै भन्नुपर्दा धरहरासमेत देखेको थिएन मैले।'

उनले विद्यालयका कुनै दिन पनि बङ्क गरेनन्। पढाईमा सधै मेहनत गर्थे। फलस्वरुप उनले एसएलसीमा ८२ प्रितशत अंक ल्याए। भन्छन् 'मैले मेहनतका साथ पढेको भएर नै होला एसएलसीमा राम्रो गरेँ।'

सानै सानैदेखिको सपना

प्रदीपको सानैदेखिको सपना सबैले चिनुन् भन्ने थियो। उनलाई रोडियोमा वा टेलिभिजनमा कार्यक्रम चलाएर सबैमा चिनिने रहर थियो। उनलाई लागेको थियो 'रेडियो वा टेलिभिजनमा कार्यक्रम चलायो भने सबैले चिन्छन्।' उनलाई त्यसबेला थाहा थिएन्, फिल्मबाट यत्तिका चर्चा कमाइन्छ।

उनले आफ्नो पढाईसँगै रेडियोमा पनि कार्यक्रम चलाउन सुरु गरे। सँगै एक टेलिभिजनमा पनि उनले एउटा कार्यक्रम चलाउने अवसर खोज्न थाले। केही ठाउँमा टेलिभिजनमा बोल्ने माग गर्दै पुगे पनि।

केही समय पश्चात उनी एक टेलिभिजन कार्यक्रममा टेक्निकल पार्टमा अनुबन्धित भए। उनी क्यामेराको अगाडि देखिदैन थिए। तर, टेलिभिजनमा काम गरेकाले खुसी नै थिए। उनले त्यहाँबाट पनि चर्चा कमाउन सकेनन्। उनको सपनाको नजिकसम्म पनि पुगेनन् उनी।

टेलिभिजनमा काम गर्दै गर्दा उनले म्युजिक भिडियो गर्यो भने चर्चा हुने कुरा बुझे। 'टेलिभिजनमा काम गर्दा मैले म्युजिक भिडियो गर्यो भने चर्चामा पुगिने कुरा बुझे', उनले भने 'मेरो ध्यान त्यतै तानियो।'

त्यहाँ रहेर काम गर्दा प्रदीपले केही म्युजिक भिडियो निर्देशकलाई चिनेका थिए। उनले निर्देशकहरुलाई फोन गरेर म्युजिक भिडियोमा काम गराउन अनुरोध पनि गरे। तर धेरैले आश्वासन दिन्थे। काम दिदैन थिए। धेरै समयपछि उनले केही म्युजिक भिडियोमा पनि काम गर्न भ्याए। तर त्यहाँबाट पनि चर्चा कमाउन सकेनन्।

फ्लप फिल्मबाट फिल्मी यात्रा सुरु

चर्चा खोजिरहेका प्रदीपको ध्यान फिल्मतिर मोडयो। केही टेक्निकल पार्ट बुझिसकेका उनलाई फिल्मको निर्माता बन्ने सोच आयो। उनी अभिनय गर्न भन्दा पनि फिल्म निर्माण गर्न तम्सिए।

उनले फिल्म 'ठूलो मान्छे' निर्माण गर्ने निधो गरे। जुन फिल्ममा उनी निर्माताको रुपमा थिए। फिल्म बन्यो। प्रदर्शनमा पनि आयो। तर बिडम्बना फिल्म असफल भइदियो। उनको फिल्मी करियरको पहिलो गाँसमा नै ढुंगा लाग्यो। फिल्म फ्लप भए पनि उनी निराश थिएनन्। उनी भन्छन् 'फिल्म असफल भयो भनेर निराश थिइँन म। पैसा पनि धेरै डुबेको थिएन। त्यसलाई मैले सिकाइको रुपमा लिए।'

यसलाई एउटा नयाँ पाठ मानेर उनले पुन: प्रयास गर्ने अठोट लिएर फिल्म 'स्केप' बनाए। प्रदीप आफैँ फिल्मको मुख्य भूमिकामा प्रस्तुत भए। तर उनको यो प्रयास पनि असफल भइदियो।

भुकम्पले विदेश जान रोक्यो

प्रदीपले दुई फिल्मबाट असफलता बेहेरिसकेका थिए। केही लगानी समेत डुबेको थियो। घरबाट उनलाई बिदेश जान दबाब पनि आइसकेको थियो। घरबाट कुरा आउथ्यो 'जति जे भयो त्यो हामी हेर्छौ। तँ अब बिदेश जाँ।'

प्रदीपले पनि विदेश जाने सोच बनाइसकेका थिए। प्रकृया पनि सुरु भइसकेको थियो। उनी भन्छन् 'विदेश जाने सोचसहित मैले अष्ट्रेलियाको लागि प्रोसेसिङ गरिसकेको थिए। तर त्यहीँ बेला भूकम्प आएपछि सम्पूर्ण प्रकृया रोकियो। जसले गर्दा विदेश जाने कुरा अन्तै मोडियो।'

आशै नभएको 'प्रेम गीत'ले पूरा गरिदियो सपना

अष्ट्रेलियाको प्रकृया रोकिएको बेला उनले कता कता फिल्म 'प्रेम गीत'को लागि कलाकार चाहिएको खबर सुने। आफू फ्री भएको समयलाई सदुपयोग गरी छनोट हुने आशा अलिकति पनि नराखी प्रेम गीत टिमलाई आफ्नो केही तस्विर पठाए। 'मैले कलाकार चाहिएको छ भन्ने सुने। त्यही भएर मैले टिमलाई मेरो चारवटा फोटो पठाएको थिए', उनले भने।

केहि दिनपश्चात प्रेम गीत निर्देशक सुदर्शन थापाको फोन आयो। 'बाबु तिमी हाम्रो फिल्ममा अनुबन्धित भएका छौं हौ।' प्रदीप निकै खुसी थिए। 'पुन: फिल्ममा काम गर्दैछु। अब भने केही चर्चा कमाउने गरी काम गर्छु', यही यस्तै सोचेका थिए उनले। तर पनि उनी फिल्मले यत्तिका चर्चा कमाउने कुरामा विश्वस्त भने थिएनन् उनी।

फिल्मको गीत रिलिज भएसँगै प्रदीपको चर्चा सुरु भयो। उनी सम्झिन्छन् 'फिल्मको पहिलो गीत रिलिज हुने बित्तिकै गीतको चर्चा एकदमै भइदियो। जसबाट केही उत्साहित भने थिँए।' गीतको भिडियो हेरेर प्रदीपको प्रशंसा गर्ने पनि धेरै भेट्टिए।

रिलिज पश्चात फिल्मले दर्शकको राम्रै साथ पायो। फिल्मबाट प्रदीपको काम र लुक्सको एकदमै चर्चा भयो। प्रदीपलाई प्रेम गीतबाट स्टार अभिनेताको रुपमा हेर्न थालियो। र, प्रेम गीत प्रदीपको जीवनको टर्निङ प्वाइन्ट बन्यो।

'प्रेम गीत २' मा अर्को सफलता

प्रेम गीतको गीत रिलिज पश्चात उनलाई धेरै फिल्मबाट अफर आएका थिए। तर उनले कुनै फिल्ममा काम गरेनन्। उनी भन्छन् 'प्रेम गीतको रिजल्ट नहेरी अन्य फिल्ममा काम नगर्ने भएर अफर आएका फिल्ममा पनि काम गरिन्।'

प्रेम गीत सफल भएपछि उनले त्यहीँ ब्यानरको फिल्म प्रेम गीत २ मा काम गरे। प्रेम गीत २ बाट पनि उनले सफलता नै पाए। भन्छन् 'प्रेम गीत सफल थियो। त्यसैको सिक्वोल फिल्म बनाउँदा सफल हुनै पर्ने चुनैती थियो। आखिर सफल नै भइदियो।'

'लिलिबिली'बाट ह्याट्रिकको आशा

प्रदीप अभिनित फिल्म लिलिबिली चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्मको दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको छ। गीत र ट्रेलरले एकदमै चर्चा कमाइरहेको छ। प्रदीप खड्का अभिनित फिल्म भएकाले पनि फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।

फिल्मको चर्चालाई आधार मान्दै प्रदीप भन्छन् 'लिलिबिली पक्कै सफल हुन्छ।' फिल्मले उठाएको कथाबस्तु पनि राम्रो भएकाले पनि फिल्म सफल हुनेमा विश्वस्त छन् प्रदीप। 'फिल्मको कथाबस्तु एकदमै राम्रो छ', उनी भन्छन् 'मेकिङको हिसाबबाट पनि फिल्म निकै माथि छ। त्यसैले ढुक्कका साथ भन्छु फिल्म सफल हुन्छ।' लिलिबिली सफल भएमा प्रदीपले सफलताको ह्याट्रिक गर्नेछन्।

मिलन चाम्स निर्देशित लिलिबिलीमा प्रदीपको जोडीका रुपमा जसिता गुरुङ प्रस्तुत हुँदैछिन्। फिल्ममा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ।

अब को यात्रा?

प्रदीपले 'लिलिबिली' पश्चात दिनेश राउतले निर्देशन गर्ने फिल्म 'भैरवी'मा काम गर्नेछन्। प्रदीपले यस फिल्मको लागि सम्झौता गरिसकेका छन्। 'मैले लिलिबिली पश्चात भैरवीमा काम गर्दैछु', उनी भन्छन् 'त्यसपश्चातको लागि धेरै फिल्मको अफर छन् तर कुनै फिल्ममा सम्झौता भएको छैन्।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.