|

दमक (झापा) : झापाको शिवसताक्षी ३ स्थित सरकारी कृषि फार्मले किसानलाई बाख्रा नश्ल सुधारका लागि सहयोग गर्न बिउ बोका पाल्दै आएको छ। बिउका लागि पालिने बोका तीन वर्षभन्दा बढी पाल्न नमिल्ने भएपछि त्यसलाई हटाइयो तर अहिले अर्को बोका ल्याइएको छैन। यहाँका हरेक बिउ बोकाको अवधि तीन वर्षको रहने गरेको छ। सोही क्रममा पछिल्लो पटकको पनि हटाइएको हो।

स्थानीय किसानको पशु नश्ल सुधार गराई उन्नत बोका, पाठी उत्पादनका लागि बिउ बोका पाल्दै आएको झापाको शिवसताक्षी– ३ स्थित सरकारी कृषि फार्मले पनि कृषकका बाख्रा र फार्मको बोका बीचमा हाडनाता सम्बन्ध पर्ने भएपछि हटाएको जनाएको छ। शिवगन्जस्थित चन्द्रडाँगीमा स्थापित चन्द्रडाँगी बिउबीजन तथा दूग्ध विकास केन्द्रले विगतदेखि नै कृषकले पाल्ने गरेका बाख्रामा नश्ल सुधारका लागि उन्नत बोका पाल्दै आएको छ।

केन्द्रमा तीन वर्षसम्म जमुनापारी जातको बोका पालिएका थियो। सोही बोकाको सम्पर्कबाट उत्पादित पाठीहरू प्रजननका लागि तयार भएपछि त्यसलाई हटाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक टेकबहादुर पोखरेले जानकारी दिए। ‘यहाँ बिउका लागि बोका पाल्ने भनिएकै नश्ल सुधारका लागि हो’, उनले भने, ‘केन्द्रमा पालिएका बोकाबाट उत्पादित पाठीहरू तीन वर्षमा प्रजननका लागि तयार हुन्छन्। ती पाठीमा पुरानै बोकाको हाडनाता सम्बन्ध हुन्छ, त्यसैले हामीले त्यसलाई हटाएका हौँ।’ हाडनाताको सम्बन्धबाट उत्पादित पाठापाठी उन्नत नहुने, नहुर्कने जस्ता समस्या हुने गरेको छ। पुरानो बोको हटाइएपछि पुनःअर्को ल्याउने तयारी रहेको पोखरेलले बताएका छन्। 

समिति अध्यक्ष ढुण्डिराज गुरागाईंले किसानलाई पशुपालनमा समस्या आउन नदिने र चाँडै अभावको अन्त्य गरिने बताए। ‘पूर्वाधार विकासदेखि सेवा विस्तारसम्म हामी लागेका छौँ’, उनले भने, ‘नश्ल सुधारका लागि उपलब्ध गराइँदै आएको सेवासमेत धेरै समय रोकिँदैन, चाँडै अर्को व्यवस्था गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.