|

काभ्रेपलाञ्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको धार्मिक पहिचान संकट परेकाले धार्मिक द्वन्द्वको खतरा रहेको बताएका छन्।

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तनका कारण आफ्नो मौलिकता संकटमा परेको बताएका हुन्। “नेपालको धार्मिक र सांस्कृतिक पहिचान संकटमा परेको छ,” उनले भने, “धर्म परिवर्तनले नेपालमा सदियौँदेखि कायम रहँदै आएको सद्भाव खल्बलिन सक्ने र मुलुक धार्मिक द्वन्द्वमा पर्नसक्ने खतरा छ।”

धुलिखेलमा बिहीबारबाट सुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा अध्यक्ष थापाले अहिलेको सरकारबाट जनताले तीव्र विकासको आशा राखेको पनि बताए। थापाले भने, “दश वर्षे सशस्त्र जनयुद्ध र राजनीतिक संक्रमणपछि हालै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएका कारण विकासप्रति जनताको आशा र भरोसा तीव्र रहेको पुष्टि हुन्छ।”

अध्यक्ष थापाले सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणपछि अहिले शान्ति र स्थायित्व कायम भई मुलुक आर्थिक समृद्धितर्फ केन्द्रित हुने आशा र विश्वास आम नागरिकको छ भन्दै अब पनि शान्ति, स्थायित्व र आर्थिक समृद्धि नभए त्यो मुलुककै लागि दुर्भाग्य हुने बताए।

अध्यक्ष थापाले विसं ०६२-६३ को परिवर्तनपछि समाजमा तीव्र राजनीतिकरण भएको उल्लेख गर्दै राज्यका सबै अंग र प्रशासनिक संयन्त्रमा तीव्र रुपम पार्टीकरण भएको, संवैधानिक अंग, न्यायालय, राजदूत र शैक्षिक संस्थालगायतमा पार्टीको भागबण्डाका आधारमा नियुक्त गर्ने परम्परा चलेको अवस्थालाई सच्याउन सकेमत्रै जनताले आशा गरेको आर्थिक समृद्धि र दिगो शान्ति एवं प्रजातन्त्र बलियो हुनेछ भने।

नेपालको सम्मान र गौरवको रक्षाका लागि वर्तमान सरकारले थुप्रै काम गर्नुपर्ने बताउँदै उनले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन सके आगामी पाँच वर्षपछि पार्टीलाई अग्रणी राजनीतिक शक्तिका रुपमा स्थापित गराउन सकिन्छ भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.