|

सुर्खेत : यही चैत २१ गतेदेखि काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत सिधा हवाई उडानमार्फत् जोडिने भएको छ। नेपाल एयरलाइन्स र बुद्ध एयरले यही चैत महिनाको २१ गतेबाट नै काठमाडौं–सुर्खेत सिधा हवाई उडान गर्ने कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन्। 

अहिलेका लागि दुईवटा एयरलाइन्सले उडान गर्नेछन् भने यात्रुको चापलाई मध्यनजर गर्दै अन्य एयरलाइन्स थपिने प्रवक्ता केसीले बताइन्। करिब एक घण्टा उडान भर्नुपर्ने यस यात्रामा काठमाडौंदेखि सुर्खेत सिधा उडान हुनेछन्। यसअघि पनि केही समय उडान भरिसकेकाे भए पनि भारतीय नाकाबन्दीपछि भने उडान हुन सकेको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफल कार्यकममा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति जनाएका हुन्। बुधबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेशमन्त्रीहरूबीच कर्णालीको पर्यटन विकाससम्बन्धी भएकाे छलफलमा निजी वायु सेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने घोषणा गरेको हुन्।

बुद्ध र नेपाल एयरलायन्सले अबको दुई सातामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुद्ध एयरका निर्देशक रूपेश जोशीले चैत २१ मा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरे। यसभन्दा पहिले यात्रु नपाएको भन्दै भइरहेको उडान स्थगित गरिएको थियो।

काठमाडौं-सुर्खेत सिधा उडान नियमित भएमा कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने साथै कर्णाली प्रदेशवासीहरू काठमाडौंसम्म हवाई यात्रा गर्दा नेपालगन्ज जानुपर्ने बाध्यता र झन्झटबाट मुक्त हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.