|
फाइल तस्बिर

मलेखु : धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ। 

विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो। सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु गरिएको हो। 

विद्यालय टाढा भएकाले एउटा तह पार गरेपछि अर्को तह पढ्नका लागि विद्यालय नै परिवर्तन गर्नुपर्ने समस्याका कारण विद्यालयको तह बढाउन वैकल्पिक आयआर्जन गर्नुपर्ने बाध्यता विद्यालयलाई छ। 

नजिक विद्यालय नहुँदा विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्न टाढा जान नसक्ने भएकाले विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिका लागि आयआर्जनको बाटो खोजेको रावलडाँडा आधारभूत विद्यालयका अभिभावक रामबहादुर रावलले बताए। 

कक्षा ८ सम्मको अनुमति भए पनि एक जनाले बालविकास केन्द्रको सहयोगमा पढाउने र एक प्राथमिक तहको दरबन्दीबाहेक कुनै शिक्षक नभएको पूर्वगाविस अध्यक्षसमेत रहेका रावलले जानकारी दिए। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा हाल २२४ विद्यार्थी पढ्ने गर्छन्। 

विद्यालयको छतमा २० घार मौरी पालिएको छ। विद्यालयलाई गैरसरकारी संस्था यूएमएन र प्रयास नेपालले आधुनिक मौरीको घार निःशुल्क उपलब्ध गराइदिएकोछ। परीक्षणका रुपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो भएमा संख्या बढाउने विद्यालयका प्रधानाध्यापक सञ्जीव रावलले बताए।  

समुदायकै पहलमा विद्यालयको तह वृद्धि गरी सामुहिक तरकारी खेती, अन्न संकलन तथा खसीबाख्रा पालेर पनि धादिङका केही विद्यालयले अहिले शिक्षकलाई तलब खुवाउँदै आएका छन्। ग्रामीण क्षेत्रका प्राथमिक तहका धेरैजसो विद्यालयमा शिक्षक दरबन्दी नहुने र निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन अन्न तथा नगद संकलन गरिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.