|

गोरखा : आर्थिक वर्ष २०७४/०७५ को आठ महिनामा ५० हजार भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन्। नेपाल एकीकरण उद्गम थलाे गोरखाकाे ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकहरूको संख्या ५० हजार पुगेको गोरखा संग्राहलयका सुनिता भँडेलले जानकारी दिइन्। 

‘गोरखा र नेपालको ऐतिहासिक विषयमा अध्ययन गर्नेहरू बढी गोरखा आउने गर्छन्’ उनले भनिन् ‘संग्राहलयको बनोट, यहाँ भएका विषयवस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण बारेमा अध्ययन गर्नुपर्ने भएकोले विशेष गरी विद्यार्थीहरू घुम्न यहाँ आउँछन्। संग्राहलयले जिल्लाका विभिन्न जातजातिका भेषभूषा र धर्म संस्कृति झल्कने ग्यालरीहरू पनि राखेको छ।’ 

संग्राहलयमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २६ हजार तीनसय ४० जना विद्यार्थी, २३ हजार दुइसय ६५ जना आन्तरिक, ३३ जना सार्क राष्ट्रका, एकहजार २१ जना बाह्य गरी जम्मा ५० हजार छ सय ५९ जना पर्यटकले गोरखा संग्राहलय अवलोकन गरेको संग्राहलयको तथ्याङ्क छ। यसवर्ष अहिलेसम्ममा सबै भन्दा धेरै फागुन महिनामा दुईसय २४ जना विदेशी पर्यटकले संग्राहलय अवलोकन गरेकाे भँडेलले जानकारी दिइन्।

वर्षको सुरुदेखि फागुन मसान्तसम्म जम्मा १० लाख २१ हजार छ सय ४५ रुपैयाँ राजश्व संकलन भएको  संग्रालयले जनाएको छ। गोरखा संग्राहलय घुम्न आउने पर्यटकहरूमध्ये परिचयपत्र लिएर आउने नेपाली विद्यार्थीहरूले १०, सर्वसाधरणले २५ रुपैयाँको टिकट काटेपछि मात्र संग्रहालय अवलोकन गर्न पाउँछन्। त्यस्तै सार्क राष्ट्रबाट आउनेले ५० रुपैयाँ र बाह्य देशबाट आउने पर्यटकलाई १०० रुपैयाँको टिकट तोकिएको संग्राहलयले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.