भ्रष्टाचारीलाई अनुहार नहेरी कारबाही गर्छौँं : प्रधानमन्त्री

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सदाचारलाई अँगालेर अगाडि बढ्ने बताएका छन्। उनले समृद्धि र विकासका लागि आफू नेतृत्वको सरकारले सुशासन र सदाचार कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई उकास्नका लागि भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा दृढ रहेको बताएका छन्। उनले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेकाले कडाइका साथ लाग्नुपर्ने बताएका हुन्। 

'२९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार' कार्यक्रममा बोल्दै ओलीले अर्थतन्त्र उकास्नका लागि सरकारले कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएका हुन्। 

'सामान्यतया जमिन भनेपछि समुद्र सहतभन्दा माथिको जमिनलाई भनिन्छ। तर, धर्तीमा यस्ता ठाउँ पनि छन् जहाँ, इजरायलमा ४५० मिटर समुद्र सतहभन्दा तलको जमिन छ जहाँ ट्रेड सी गरिन्छ। नेपालको अर्थतन्त्र अहिले त्यस्तै हालतमा छ। समुद्र सतहसम्म भएको भए हुन्थ्यो ४५० मिटर तल छ।' उनले अहिलेको सरकारलाई अत्यन्तै नाजुक अवस्थामा रहेको र अर्थतन्त्रलाई उकास्न सानो इच्छाशक्तिले नहुने बताए। उनले भने, 'त्यहाँबाट उठाउनुछ हामीले। त्यो साना प्रयासले उठ्दैन। दृढ प्रयासले मात्रै हुन्छ। दृढ प्रयासभित्र सदाचारको जयजय  गान भ्रष्टाचारको नामो निशान। खतम पारिन्छ भ्रष्टाचार गर्‍यो कि गयो।'

भ्रष्टाचार गर्ने को हो भनेर अनुहार नहेरिने उनको भनाइ थियो। उनले भने, 'अनुहार हेरिँदैन, आफ्नै पनि पर्नसक्छ, के पनि पर्नसक्छ। कस्तो अनुहारको थियो थाहा हुँदैन, अनुहार नहेरिकन कारबाही गरिन्छ।'

उनले सरकार आफूले घोषणा गरेका कुरामा दृढ रहेको बताएका  थिए। उनले नीजि क्षेत्रलाई सघाउन उद्योग व्यवसायीलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले कानुनी अड्चन रहेका भए हटाउन तयार रहेको बताए। उनले सार्वजनिक र निजी क्षेत्र मिलेर जानुपर्ने आवश्यकता रहेको बताए। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा निजी क्षेत्र, सहरकारी र सार्वजनिक क्षेत्र मिलेर अर्थतन्त्र उकास्न लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.