|

सिमकोट : हुम्लामा संचालित माया सदनले आवासीय बालगृहको मापदण्डअनुसार पूरा नगरेको खुलासा भएको छ।  

जिल्ला बालकल्याण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा गएको अनुगमन टोलीले बालगृह व्यवस्थापन नाजुक अवस्थामा रहेको र बढी धार्मिक प्रचार गरेको तथ्य फेलापारेको छ। 

अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएको माया सदन हुम्लाले आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। 

बालबालिकालाई संरक्षण दिने नाममा खोलिएका अधिकांश बालगृह सरकारले बनाएको आवासीय बालगृह संचालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत संचालित छन्। 

माया सदनमा संलाती आवासमा बालवालिका खाना, बस्न, शौचालय, पोसाकमा समेत समस्या देखिएको महिला तथा बालबालिका कार्यालय हुम्लाकी महिला विकास अधिकृत पुनम रेग्मीले बताइन्। एउटै कोठामा एउटा बेडमा  पाँच जनासम्म बालबालिका सुताउने र झुत्रो कपडा लगाउन दिएको विद्यार्थीले घरमा विद्यालयले दिएको गृहकार्य गर्नुभन्दा बढी क्रिश्चियन धर्मको बिहान–बेलुकी प्रार्थना गर्ने गरेको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताए। 

आवासमा बस्ने बालबालिकाको खानपिनदेखि सुत्ने कोठा, शौचालयदेखि प्राथमिक उपचारका लागि राखिएको किटबक्समा म्याद गुज्रिएका औषधिसमेत भेटिएकोे जिल्ला स्वाथ्य कार्यालयका डा. रञ्जितकुमार यादवले बताए। सदनको बालगृहमा नौ जना बालिका र ११ जना बालक गरी २० जना बालबालिकालाई पठनपाठनसहित आवासको व्यवस्था गर्नुका साथै बढी इसाई धर्मको प्रचार गरिएको बताइएको छ। 

विद्यार्थी अध्ययन गर्ने कक्षा कोठामा इसाई धर्मका प्रचारका सामग्रीसमेत राखिएकोे पाइएको जिल्ला बालकल्याण समिति हुम्लाले जनाएको छ। 

बिहीबार बालकल्याण समिति हुम्लाले बालगृहको अवस्थाका बारेमा गरेको अनुुगमनका क्रममा माया सदन नामक संस्थाले संचालन गरेको बालगृृह निर्देशिकाबमोजिम नचलेको पाइएको बताएको छ। जुम्ला जिल्लामा दर्ता भएको माया सदनले सिमकोटमै बालगृृहका रूपमा संचालन गरेकोे र बालबालिका पढाइदिने नाममा क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने गरेको जिल्ला बालकल्याण समितिका अध्यक्ष एवं प्रमुुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। हुम्लामा एक दर्जन बालगृहहरू संचालनमा छन्। 

विधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनिएको तर हुम्लामा संविधानद्वारा प्रदत्त हक प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिक्षा, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक रूपले शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन  नहुने यदि गरेको  पाइएमा कानुनबमोजिम दण्डनीय हुनेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.