|

देवघाट (चितवन) : पवित्र तीर्थस्थल देवघाटको छेउमा स्याङ्जाकी भीमकुमारी पौडेलको एउटा सानो कुटी छ। २०४१ सालदेखि देवघाटमा बस्दै आएकी उनलाई अरु केहीको पिर र चिन्ता छैन, सिवाय बाँदरको।

‘तावाबाटै रोटी चोरेर लान्छ, मुछेको पीठो पनि छाड्दैन',उनले दुखेसो गरिन् ‘खानेकुरा मात्रै चोरे त हुन्थ्यो। कहिलेकाहीँ कुटपिट नै गर्छ। ज्यानै जाेगाउन गाह्रो भयो।’ बाँदरको आक्रमणबाट देवघाटका कति वृद्धवृद्धा घाइते भएको उनले बताइन्।

चितवनको देवघाटमा वृद्धाश्रमको अध्ययनका लागि आएको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन टोलीसँग पाैडेलले दुखेसो पोखेकी हुन्। ‘तपाईँहरुले सरकारलाई भनिदिनुपर्‍यो', ८५ वर्षका वृद्धप्रेमसागर सुवेदीले भने, 'बाँदरको समस्या अन्त्य गर्नुपर्‍यो।' टोलीसँग धेरै वृद्धवृद्धाहरुले बाँदरआतंक रोक्न माग गरे।

गलेश्वर आश्रमका मुक्तानन्द सरस्वतीले लामखुट्टे, उडुस र बाँदरले सताइरहेको भन्दै यसबाट मुक्ति दिलाइदिन आयोगमार्फत सरकारसँग अनुरोध गरे। सन्यास आश्रमका शिक्षक फणीन्द्र पौडेलले रोग, भोक, बाँदर आँखाको समस्याबाट वृद्धवृद्धाहरु पीडित भएको भन्दै आयोगको ध्यानाकर्षण गरे।

वृद्धवृद्धाहरुले सरकारी स्तरबाटै आश्रम सञ्चालन गर्न माग गरेका छन्। अशक्त वृद्धवृद्धाहेरचाह केन्द्रको जरुरी रहेको गलेश्वर आश्रमका कार्यालय सचिव महेन्द्र प्याकुरेल बताए। प्रारम्भिक अध्ययनमा आयोगले कानुनी मापदण्ड अनुसार वृद्धवृद्धाले सेवा नपाएको पाइएको जनाएको छ। 

आयोगसँगको छलफलमा उनीहरुले एउटै क्याम्प बनाएर वृद्धवृद्धाको स्याहारको जिम्मा सरकारले लिनुपर्ने बताए। आश्रममा बसेका वृद्ध धर्मदत्त न्यौपानेले बरु पैसा तिरेर बस्न तयार रहेको बताउँदै सरकारले वृद्धवृद्धालाई स्याहार गर्नुपर्नेमा जोड दिए। ८५ वर्षीय प्रेमसागर सुवेदीले सरकारले क्याम्प नै बनाएर वृद्धवृद्धालाई राख्नुपर्ने बताए। 

सन्यास आश्रमका शिक्षक फणीन्द्र पौडेलले आयोगलाई सुझाव दिँदै अहिले वृद्धवृद्धालाई आश्रम पठाएर झन्झट पन्छाउने काम परिवारबाट भएको भन्दै नैतिक शिक्षाको खाँचो रहेको बताए। गलेश्वर आश्रमका मुक्तानन्द सरस्वतीले 'वृद्धवृद्धाको स्याहार गर्ने दायित्व हाम्रो हो' भनेर स्थानीय सरकारले बोध गर्नुपर्ने धारणा राखे।

आयोगका सदस्य तथा सर्वाेच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले वृद्धवृद्धाहरुको समस्या लिपिबद्ध गरेकाले सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिए। उनका अनुसार अहिलेसम्म सर्वेक्षण नभएको भन्दै देशभर रहेका १४४ वटै वृद्धाश्रममा पुगेर अध्ययन गरिनेछ। चितवनका अन्य ५ वटा आश्रममा समेत अध्ययन गरिएको आयोगले जनाएको छ।

चितवन, नवलपरासी र देवघाटको संगमस्थल देवघाट तथा चितवनका विभिन्न आश्रममा तीन दिन अध्ययन गरेर आयोगको टोली फर्किएको छ। आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्यालले देशका सबै आश्रमको अवस्था अध्ययन गरेपछि प्रतिवेदन तयार गरी सरकारलाई सुझाव र निर्देशन दिने बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.