इलाम : नेपाली फुटबल इतिहास हेर्दा इलाममा विक्रम संवत् १९९० ताका सुरु भएको देखिन्छ। फुटबल खेल पछिल्लो समय नेपालमा सबैले रुचाइने खेलका रूपमा स्थापित भएको छ। तत्कालीन समयमा इलामबाट गोविन्दप्रसाद सिंह, नरेन्द्र खाकी, मदनबहादुर कार्की , दुर्गाप्रसाद शिवाकोटी, बमबहादुर देवान, अमरबहादुर श्रेष्ठ, फत्तेबहादुर बुढाथोकी, लोकबहादुर खत्री, पदमबहादुर देवान, देवी भक्तराजलवट, शेरबहादुर पराजुली इलामको पहिलो पुस्ताका संगठित खेलाडी हुन्।
यो राणासँग खेल्ने फुटबल टोलीको समूह हो। वि.सं. १९३९ ताका श्रीनाथ पल्टन इलाम आएपछि हलगोरु नारेर मैदान सम्याएको इतिहास छ। उतिबेला पुरुषहरू गोरु नारेर मैदान सम्याउथे भने महिलाले मकै भुटेर खाजा खुवाएको पाकाहरूबाट सुनेका अग्रज पत्रकार धर्म गौतम सम्झन्छन्।
फुटबललाई राणाहरूले व्यवस्थित र फैलाउने क्रममा यो खेल इलामको गाउँगाउँसम्म विस्तार भयो। २०१० अघि नै यो खेल इलाममा विस्तार भएको थियो। त्यसपछि इलाममा धेरै ठूला प्रतियोगिता हुन थालेका हुन्। तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर शिल्ड, गजराज बुढाथोकीका नामको गजराज कप, ज्ञानी भक्तराजका नाममा सुरु गरिएको ज्ञानी मेमोरियल शिल्ड र कमल गजमेरका नाममा राखिएको कमल शिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्मको इतिहास छ इलाममा।
एकताका इलाममा जुनियर सिनियर गरेर ८\१० ट्रफी र शिल्डहरू रहेको गौतम बताउँछन्। पछिल्लो समय माइभ्याली गोल्डकप पूर्वकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ।
नेपालको राजनीतिक र सामाजिक परिवर्तनबाट इलाम पनि अछुतो रहेन। ०१६ पछि यो खेल विस्तारै छायामा पर्न थाल्यो। सुरुवातमै नेपाली खेलकुदको मूलधारमा आउन लागेको इलामेली फुटबल फेरि छायामा पर्यो।
२०४० देखि ०४५ सालमा इलामको फुटबल चरमोत्कर्षमा थियो। पुरुषतर्फ गणेश पाण्डे, धीरेन्द्र प्रधान, मंगेश बस्नेत ध्रुव भक्तराज, धिरेन चेम्जोङ दर्शन भक्तराज सम्मिलित इलामको फुटबल चरमोत्कर्षमा थियो भने रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, संगीता रावत, शोभा राई, इन्द्र राई र जमुना पाण्डे समावेश थिए।
०४३ मा आयोजित राष्ट्रिय महिला फुटबलमा गण्डकीलाई २-० ले हराउँदै पहिलो भएको मेचीको फुटबल टोलीमा १२ जना इलामेली थिए। अलिक खुला संस्कृतिका कारण पशुपतिनगर, फिक्कललगायत क्षेत्रबाट महिला फुटबलको उदय सुरुवातमा नै हुन गएको हो। इलामको फुटबलको यो स्तर लामो समय स्थिर रहन सकेन। एन्फा र राष्ट्रिय खेलकुद परिषद्को नीति पनि केन्द्रीकृत रहेका कारण इलामको फुटबलस्तर खस्कँदै गएको इलामका प्रशिक्षक दर्शन भक्तराज बताउँछन्।
उमेर समूहका खेलाडी उत्पादन
५० को दशकमा इलामेली फुटबलले फेरि अर्को स्टार पायो। एन्फा एकाडेमीको पहिलो ब्याजका लोकबन्धु गुरुङ स्टारको रूपमा उदाए। त्यसै समयमा सुवास राईले पनि राष्ट्रिय टिमबाट खेल्ने अवसर पाए। अनुसाशन र फुटबलिङ क्लासका नमुना लोकबन्धु र सुवासपछि नवयुग इलामको फुटबलरको रूपमा उदाए।
नवयुग २०६० सालमा जिल्लास्तरीय प्रतिस्पर्धाबाट छानिएर इलामको यु–१४ टिममा परे। जुन टिमले राष्ट्रिय स्तरको जिविस कप नै जित्यो। अर्को वर्ष इलामले जिविस कपको उपाधि रक्षा गर्दा पनि उनी मुख्य खेलाडी थिए।
जिविस कपको खेल हेरेर एन्फाले इलामका दुई खेलाडीलाई छनोट गर्दा भने नवयुग अटाएनन्। त्यसपछि एन्फा महासचिव धिरेन्द्र प्रधानको सहयोगमा एपिएफमा प्रशिक्षण हिमालयन शेर्पाको बेञ्च हुँदै नेपाली सेनामा आवद्ध भएर फुटबल अगाडि बढाए।
लामो समयदेखि नेपाल आर्मीबाट खेलिरहेका नवयुगले बंगबन्धु कपमा माल्दिभ्सविरुद्ध गरेको ह्याट्रिकपछि पुनः एक पटक इलामको फुटबलले देशरभर चर्चा पायो।
पुरुषतर्फ मनिस बस्नेत, विवेक बस्नेत, छिरिङ गुरुङ, सविन रेग्मी, दर्शन गुरुङ इलामेली फुटबलमा पछिल्लो समय उदाउन सफल भएका खेलाडी हुन। उमेर समूहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नसमेत उनीहरू सफल भए। महिला फुटबलमा पनि इलामले ६० सालपछि फडर्को मार्यो।
सन् २०१० को साफ गेममा नेपाली टिमले सिल्भर मेडल जित्दा इलामकी रञ्जना दर्जी प्रमुख खेलाडी थिइन्। त्यसै समयमा पूर्वाञ्चल टिमकी कप्तान संरचना प्रधानलाई राष्ट्रिय खेलाडीको रूपमा इलामले पायो। २०४३ सालपछि २०७० सालमा इलाममा महिला फुटबलको ठूलो प्रतियोगिता आयोजना भयो। जिल्ला फुटबल संघ इलामको संयोजनमा प्रथम लुम्बिनी महिला गोल्डकप फुटबल इलाममा आयोजना भयो।
यु– १४ हुँदै सन् २०१४ मा राष्ट्रिय टोलीमा अवसर पाएकी सूर्योदय नगरपालिका– १२ तिनघरेकी एन्जिला तुम्वापो सुब्बा हाल शसस्त्र प्रहरी बल एपिएफका साथै नेपाली महिला टिमकी प्रमुख गोलरक्षकको रूपमा खेलिरहेकी छन्। इलामेली फुटबलमा राज्यको चासो नभए पनि स्थानीय व्यक्ति फुटबलको नाममा एकजुट हुन सकेका कारण नै इलामको फुटबल अग्रगतीमा भएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ बताउँछन्।
फुटबल क्रेजका कारण १७ वर्षदेखि हुन नसकेको भूकम्पपीडित स्मृति कप माइभ्याली गोल्डकप प्रतियोगितामा रुपान्तरण भएर २०७१ सालबाट नियमित सञ्चालन भई आगामी बैशाख ६ गतेबाट चौथो संस्करण सञ्चालन हुँदै छ।
खेलमैदानको अभाव
इलामबाट एन्फा महासचिव धिरेन्द्र प्रधानदेखि राष्ट्रिय महिला टोलीकी गोलरक्षक एन्जिला तुम्वापो, दर्शन गुरुङलगायतका खेलाडीहरूले अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा खेलकौशल देखाइसकेका छन्। तर, ११ जना खेलाडी खेल्न मिल्ने खेलमैदान इलाममा आधा दर्जन पनि छैनन्। पूर्वी पहाडको प्रतिष्ठित माइभ्याली गोल्डकप सञ्चालनका लागि पनि आयोजकले नेपाली सेनाको टुडिखेलको भरपर्नु परेको छ।
टुडिखेल नेपाली सेनाको स्वामित्वमा भएकाले पक्की प्याराफिट बनाउन समस्या रहेको छ। पक्की प्याराफिट नहुँदा गत वर्षको तेस्रो संस्करणमा बाँसको प्याराफिट निर्माणमा मात्र पाँच लाख रुपैयाभन्दा बढी खर्च भएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ बताउँछन्। पहिलो र दोस्रो संस्करणमा खेलमैदान कडा भएपछि नेपाली सेनाको सहयोगमा चौरमा दुवो रोपेको आयोजक अहिले पनि चौथो संस्करणमा चौर नरम बनाउन लागि परेको छ। चौरलाई नरम बनाउनका लागि २० लाखभन्दा बढी खर्च गरिसकेको चेम्जोङले बताए।
एन्फाको चासोको केन्द्र
फुटबल खेलमा इलामले प्रगती गरेपछि पछिल्लो समय एन्फाको पनि चासोको केन्द्रमा यो जिल्ला परेको छ। अखिल नेपाल फुटबल संघको गोल प्रोजेक्ट योजनाका लागि छानिएका १० जिल्लामा इलाम परे पनि विभिन्न समस्याले प्रोजेक्ट सञ्चालन गर्न नसकिएको जिल्ला फुटबल संघका पूर्वअध्यक्ष सन्तोष भक्तराजले बताए।
एन्फाले १० लाख रुपैयाँ दिने तयारी गरेकाले अब भने सहकार्यमा प्रोजेक्ट सञ्चालनको तयारी छौँ’, उनले भने। प्रोजेक्ट सञ्चालनपछि इलाममा भौतिक संरचनाले पनि ब्यापकता पाउने र केही समयमा नै फुटबलमा उन्नती हुँदै जाने जिल्ला फुटबल संघका पदाधिकारीको अपेक्षा छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।