|

ताप्लेजुङ : ताप्लेजुङको लेकाली क्षेत्रमा गोठ राख्ने चलन हराउँदै गएपछि चौँरी गाईको शुद्ध दूधबाट बनाइने छुर्पीको उत्पादन घट्दै गएको छ। जिल्लाको माथिल्लो क्षेत्रका खर्कमा गोठ राख्ने पुरानो चलन हराउँदै गएपछि छुर्पी उत्पादन पनि क्रमश: घट्दै गएको हो।

काम गर्न सक्ने युवा रोजगारका लागि विदेश पलायन हुनुका साथै गोठ राख्ने काम झन्जटिलो भएको र वैकल्पिक व्यवसाय सञ्चालन आदि कारणले ठूलो गोठ राख्ने, धेरै गाईभैँसी पाल्ने चलन हराउँदै गएको स्थानीयवासीको भनाइ छ।

केही वर्षअघिसम्म जिल्लाका धेरै क्षेत्रमा गाई गोठ भेटिने गरे पनि अहिले कमै मात्र देखिने गरेको छ। यता, छुर्पीको उत्पादन घटेसँगै मूल्य भने अकासिएको छ। पहिले प्रतिकिलो ५/६ सयमा पाइने अहिले ११ सय सम्ममा प्रतिकिलो बिक्ने गरेको छ। 

आन्तरिक तथा बाह्य पर्यटकले ताप्लेजुङकै छुर्पी खोज्ने गरे पनि यहाँको उत्पादनले मागलाई धान्न नसकेका कारण नै मूल्य बढीमा बेच्नुपरेको व्यापारीले हर्कराज तमुले बताएका छन्। उत्पादन घटेसँगै अन्य जिल्लाबाट ल्याईएको कम गुणस्तरीय छुर्पी पनि ताप्लेजुङको भन्दै ठगी गरी बिक्री हुने गरेको छ।

विगतका वर्षहरुमा जिल्लाभित्रै उत्पादन भएको छुर्पी प्रशस्तै पाउने गरेको भए पनि पछिल्लो समय पाउन मुस्किल हुने स्थानीय व्यापारी ललित गुरुङको भनाइ छ। जिल्लामा उत्पादन भएको छुर्पी मुलुकका विभिन्न ठाउँका साथै विदेशमा समेत निर्यात हुने गरेको छ।

जिल्लाको पापुङ, ओलाङचुङगोला, लेलेपको घुन्सा, याम्फुदिन, कालिखोला लगायतका गाउँहरुमा चौँरी तथा गाई पालन व्यवसाय हराउँदै गएका कारण छुर्पीको उत्पादन घट्दै गएको स्थानीयको भनाइ छ।

चौँरीपालक कृषकहरु निराश हुँदै व्यवसाय छाडेपछि छुर्पीको उत्पादन घटेको व्यवसायी वताउँछन्। चौँरी गाईको दूधबाट बनेको असली छुर्पी भनेर चिनिने छुर्पीको उत्पादन घटेको मात्र होईन लोप हुने अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन्।

ताप्लेजुङबाट कोसेलीका रुपमा देशका विभिन्न  भागमा तथा विदेशमा छुर्पी पुग्ने गरेको छ। ताप्लेजुङको छुर्पी कोसेलीको रुपमा जापान, अमेरिका, हङकङ, बेलायत, अष्ट्रेलिया साथै विश्वका धेरै देशमा समेत पुग्ने गरेको छुर्पी व्यापारी ग्याबु शेर्पाले बताए। केही वर्ष अगाडि दैनिक १५ देखि २० वटा चौँरी दुहुने गरेकी चौँरी पालक कान्छी शेर्पाले चौँरीको संख्या घटेकै कारण छुर्पीको उत्पादन घटेको बताइन्।

छुर्पी व्यापारी पेम्बा शेर्पाले अहिले चौँरी तिब्बततर्फ लान थालेका कारण पनि ताप्लेजुङमा छुर्पी अभाव हुन थालको बताए। चौँरी गाई लोप हुँदै गएका कारण अहिले ताप्लेजुङमा छुर्पीको मूल्य समेत आकासिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.