|

उदयपुर : उदयपुरको त्रियुगा नदीमा निर्माण गरिएको चन्द्रनहरका कारण हजारौँ हेक्टर खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदै गएको छ। त्रियुगा नदीमा करिब ८८ वर्षअघि निर्माण गरिएको चन्द्रनहर बाँधले नदी थुनिएर बालुवाको सतह बढेपछि खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदै गएको हो।

त्रियुगा, चौडण्डीगढी र बेलका नगरपालिकाका किसानको धान फल्ने खेत बगरमा परिणत भएको छ। धान फल्ने खेत बालुवाले पुरेपछि स्थानीय बसाइँ सर्न थालेका छन्। त्रियुगा नदीका सहायक मानिने खहरे खोलाले बगाएर ल्याएको माटो र बालुवाले नदीको तल्लो तटीय क्षेत्रमा पर्ने  सुन्दपुर, हडिया र तपेश्वरीका हजारौँ हेक्टर खेत पुरिएको छ।

‘चन्द्रनहर बाँधले माथिबाट बगेर गएको बालुवा र माटोको लेदो रोकिदिन्छ’ , तपेश्वरीका स्थानीय पुष्प बस्नेतले भने, ‘नदीको सतह बर्सेनि बढदै पुरिँदै गएपछि माथिबाट बगेर गएको बालुवाले खेत पनि बगर बनाउँदै गएको छ।’ नहरका लागि नदीमा उत्तर दक्षिण गरेर बनाइएको बाँधले रोकिदिँदा खोलाको सतह बर्सेनि बढ्दै गएको स्थानीय बुढापाको भनाइ छ।

‘बाँधमा नदीले बगाएर ल्याएको लेदो अर्थात् बालुवा, काठ सबैले छेकिदिन्छ,’, सुन्दरपुरका ८१ वर्षीय गैरीकृष्ण दनुवारले भने, ‘अनि नदीको सतह बढ्दै जाँदा नदीले बग्ने बाटो पनि परिवर्तन गर्छ र खेतहरू पुरिँदै गएको छ।’

बर्सेनि नदीले बग्ने धार परिर्वन गर्दा सर्वसाधरणहरूसमेत वन क्षेत्र अतिक्रमण गरेर बस्न बाध्य भएका छन्। ‘ नदी किनारमा मेरो करिब १० बिगा खेत थियो’, स्थानीय कृषक रामहरी दासले भने, ‘पाँच वर्षअघिसम्म घरभरी धान भित्र्याउने म अहिले सुकुम्बासी जस्तै बनेको छु। खेत बालुवाले पुरेको छ।’

चुरे वन विनाससँगै वर्षातमा हुने भूक्षयले खहरेमा पानीको साट्टा लेदो र बालुवा बग्छ। लेदो र बालुवाले पुरिदै जाँदा जोगिदह, हडिया र सुन्दरपुर गाविसको हजारौं हेक्टर खेत पुरिएको छ,’ चौदण्डीगढीका स्थानीय कुमारसिंह कार्कीले भने, ‘खेतबारीमात्रै होइन नदी असापासका दर्जनौंँ बस्तीको उठिबास भइसक्यो।’    नहरले कृषकका लागि बनाइएको भए पनि उदयपुरका कृषक मारमा परेका छन्।

चौडण्डीगढी नगरपालिका–५ सुन्दपुरका वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘चन्द्रनहर सप्तरीका किसानका लागि हितमा भए पनि उदयपुरका किसानलाई नहर दुर्भाग्य भएको छ।’  नहर बनाउँदै उदयपुरका किसानको पनि हित हुने गरी बनाउनुपर्ने उनले बताए। उनले भने,‘नदी कटान रोक्न बाँधमा ढोका राखेर खोल्न र बन्द गर्न मिल्ने हुनुपर्ने थियो, त्यो छैन।’

चुरेबाट त्रियुगा नदीमा ३० भन्दा बढी खहरे खोला मिसिएका छन्। चुरे संरक्षणमा सरकारी बेवास्ताका कारणसमेत किसानले जोखिम उठाउनु परेको स्थानीय बताउँछन्। नहर निर्माणपछि जिल्लाका धामीचाप, मुसहरी, खैराहा, ढेलाचौरी, मुसलमान बस्ती, हडियाका खैराहा झोडा, इकराहा, शिवनगर, जोगीदहका काठीटोल, बलुवाही टोललगायतका सर्वसाधरणमा मारमा परेका छन्। नदी थुनिएकाले प्रत्येक वर्ष आउने बाढीले धार परिर्वतन गर्दै जाँदा यी बस्ती विस्थापित भएका हुन्। बस्तीहरू विस्थापित भएसँगै उनीहरू नजिकको जंगलमा पसी जंगल फँडानी गरी बसोबास गर्दै आएको बताउँछन्। 

त्रियुगा नदीको करिब ६५ किलोमिटर लामो क्षेत्रमा चन्द्रनहरले उदयपुरमा ठूलो क्षति पुर्‍याए पनि सप्तरीमा सयौँ बिगामा सिँचाइ सुविधा पुर्‍याएको छ। सरकारी निकायको बेवास्ताका कारण बर्सेनि त्यस क्षेत्रमा स्थानीयले ठूलो क्षति ब्यहोर्नु परेको छ। केही वर्षअघि स्थानीयले चन्द्र नहर भत्काउने प्रयास गरेका थिए।
नहर ५ तहमा ढलान गरेका कारण भत्काउन कठिन भएको सुन्दरपुरका शिवकुमार चौधरीले बताए।

चन्द्र नहरबाट सप्तरीको फत्तेपुर, कञ्चनपुर, धरमपुर, तिलाठी, रामपुर, मलहनिया, हनुमाननगर, बिसहरिया, बहीवीरपुर, भारदहलगायतका २९ स्थानमा वर्षको आठ महिना सिँचाइ सुविधा पुगेको छ। नहरले सप्तरीलाई फाइदा दिए पनि उदयपुरलाई भने सेती बगर बनाएको छ। तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९८० मा निर्माण गरेका हुन्। जसले सप्तरी जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.