|

चितवन (पिप्ले) : प्यारामोटरको सफल परीक्षण गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई ८१ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ। चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको सो रकम शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो। 

चेपाङको हवाइजहाज बनाउने सपना साकार पार्न यसरी रकम सहयोग गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए। चितवनको राप्ती नगरपालिका ६ मा आयोजित कार्यक्रममा प्रदेश ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामामार्फत सरोज चेपाङ प्रतिभा संरक्षण समितिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको थियो। 

सो रकम हस्तान्तरणका क्रमममा बोल्दै मन्त्री लामाले प्रदेशको मन्त्रिपरिषद बैठकमा पनि यसबारे कुरा उठाउने र सरकारले पनि केही न केही सहयोग पनि गर्ने बताए। ‘यी जहाज बनाउने युवाका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ,’ मन्त्री लामाले भने।

राप्ती नगरपालिका ६ घर भएका २० वर्षीय चेपाङको मिनी एयर क्राफ्ट बनाउनका लागि राप्ती नगरपालिकाले समेत ८० हजार रुपैयाँ रकम दिने निर्णय गरेको नगरपालिकाकी प्रमुख प्रभा बरालले बताइन्। 

सरोजले फागुन ४ गते करिब ४० मिनेट आकाशमा प्यारामोटर उठाएर सफल परीक्षण गरेका थिए। करिब १० लाख  भए सानो हवाइजहाज नै उडाएर देखाउने सरोजले बताएका छन्। प्रमुख बरालले भनिन्, ‘क्षमता भएका व्यक्तिलाई नगरपालिकाले प्रोत्साहन गर्छ तर उनले अब सैद्धान्तिक ज्ञान सिक्नु जरुरी छ, यसका लागि पनि नगरपालिका आवश्यक सहयोग गर्न तयार छ।’

कार्यक्रममा सरोज चेपाङ प्रतिभा संरक्षण समितिका अध्यक्ष श्यामसुन्दर उप्रेतीले आफूहरू उनका लागि माध्यम मात्रै बनेको भन्दै आएको सबै पैसा उनको जहाज बनाउने काममा नै खर्च गरिने बताए। 

चेपाङको प्रतिभालाई अगाडि बढाउन सबैको सहयोग आवश्यक भएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापाको भनाइ छ। राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले नेपालकै गहना बनेका सरोजको प्रतिभाको उच्च प्रशंसा गर्दै नेपालकै नाम उँचो राख्न सफल भएको उल्लेख गरे। 
सरोजले प्यारामोटरको सफल परीक्षण गरेपछि उनलाई सहयोग गर्नेहरू बढ्न थालेका छन्। चितवनको एक नीजि कलेजले केही दिनअघि मात्रै १० हजार रुपैयाँ सहयोग गरेको थियो। कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले यसअघि मिनि प्लेन निर्माणका लागि  पाँचलाख खर्च गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.