समाज

नेपाली समाजमा यसरी भिजेका छन् ‘राम’
SHARES

चैत ११, २०७४

    समाजमा असत् पक्षको अत्याचार बढेपछि भगवान् विष्णुले सातौं अवतार लिएका थिए, मर्यादापुरुष रामका रूपमा। खट्वाङ्गका नाति र दीर्घबाहुका छोरा महायशस्वी रघुको नाम पुराणमा प्रख्यात छ। उनै रघुका छोरा अज र अजका छोरा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ।

    शाब्दिक रूपमा योगीहरूको चित्त रमाउने कारकको रूपमा ‘राम’को अर्थ लगाइन्छ।

    रामको ख्याति विशेषगरी पितृभक्ति र कल्याणकारी राज्यको विषयमा छ। आमाप्रति गर्नुपर्ने व्यवहारको सन्दर्भमा रामको दृष्टान्त अघि सारिन्छ। सुशासन र लोककल्याणकारी राज्यको कल्पना गर्दा ‘रामराज्य’ भनिन्छ। नेपाली समाजमा कसैलाई केही दु:ख पर्यो भने स्वतः निस्कने गर्छ, राम। अनौठो र भयानक घटना देख्दा पनि मानिसले ‘राम राम’ भन्ने गर्दछ। बाटोमा कसैको शव लगिँदै रहेछ भने पनि मुखबाट ‘राम राम’ नै निस्कने गर्छ।

    औषधीको कुरा गर्दा ‘रामवाण’ अर्थात् अचुक हुने बताइन्छ। कर्म गर्नू फलको आश नगर्नू भन्ने गीतको सारझै काम गरेपछि फलका लागि ‘रामभरोसा’ (रामकै भर) भन्नेहरू पनि हाम्रै समाजमा छन्। दुःखको कुरा सुनाउनुपर्यो भने पनि ‘रामकहानी’ सुनाइन्छ। 

    आफूलाई थाहा नभएको कुरा कसैले सोध्यो भने ‘राम जानून्’ वा ‘रामजाने’ भन्ने उत्तर प्रसिद्ध नै छ। कुनै खेल वा तमासा देखाइयो भने पनि ‘रामलीला’ गरेको भनिन्छ। कसैको राम्रो जोडी देखियो भने ओहो ‘कति राम्रो मिलेको जोडी राम र सीताको जस्तो भन्ने गरिन्छ। पहाडतिर रातो र सेतो छिर्कायुक्त एक किसिमको विरुवालाई ‘रामतुलसी’को नाममा पूजा गरिन्छ। वनवासका क्रममा सीताका निधारबाट निस्केका राता र सेता चन्दन छरिएर पातमा लागेको विश्वास रहेको छ। रामदल (समूह), रामतोरिया (तरकारी) लगायत शब्द नेपाली समाजमा भिजेका छन्। 

    आफ्ना छोराछोरीको नाम भगवानकै राख्नेहरूले त राम शब्दलाई विविधता दिइरहेका हुन्छन्। रामको नाम लिनाले धर्म हुने विश्वासमा कतिपय बाबुआमाले अगाडि वा पछाडि राम नाम राखेकै पाइन्छ। एकल राम देखि रामप्रसाद, रामहरि, राममणि, रामलाल, रामकुमार, रामकृष्ण, रामेश, रामबहादुर, रामदास जस्ता अगाडि आउने मात्र होइन हरेराम, शिवराम, कृष्णराम, जीवराम, तीर्थराम बलराम, बाबुराम जयराम, श्रीराम लगायत अनेकौं नाम जुराउने गर्छन्। तराई–मधेशमा एक जातिको थर नै राम छ।

    यी त भए रामसँग गाँसिएर आउने शब्दहरू। राम शब्दमात्र नभई पूरा रामकथा वा रामलीला वा रामायण नै नेपाली जनजीवनमा भिजेको छ। रामको जन्म, बाल्यकाल, वनवास, सीताहरण, राम–रावण युद्ध, हनुमानको रामभक्ति, सीताको विरह, लवकुशको जन्मलगायतका प्रसंगहरू नेपाली समाजमा प्रख्यात छन्। बढ्दो भौतिक विकास र सञ्चारक्षेत्रमा आएको प्रगतिसँगै पछिल्लो पुस्तामा रामकथाको ज्ञान नभए पनि अघिल्लो पुस्तासम्म रामकथाको राम्रै ज्ञान भएको पाइन्छ। 

    संस्कृत भाषाका आदिकवि वाल्मीकिले संस्कृत भाषामा लेखेको रामायणलाई नेपाली आदिकवि भानुभक्त आचार्यले लौकिक भाषामा अनुवाद गरी प्रकाशनमा आएपछि रामकथा झनै फैलियो। अझै पनि गाउँघरतिर प्रत्येक घरमा भानुभक्तका रामायण पाइन्छ भने छन्द मिलाई मिलाई गाएको पनि देख्न सुन्न सकिन्छ। गाउँघरतिर गाइने बालन, खैंजडी भजन र तिहारमा गाइने देउसी भैलोमा समेत रामकथाको प्रभाव रहेको पाइन्छ। हरेक खैजडी(लोक) भजनमा ‘राम राम’ भन्ने तुक्का अनिवार्य मानिन्छ। 

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]