|

काठमाडौं : दुई साता अगाडि नर्भिक अस्पतालमा  दायाँ खुट्टाको अपरेसन गर्नुपर्नेमा बायाँ खुट्टाको अपरेसन गरेको भन्दै चिकित्सकमाथि छानविन सुरु गरियो। छानविनको क्रममा चिकित्सकको लापरवाही नै रहेको ठहर गर्दै हाल दुई चिकित्सकलाई एक महिनाका लागि निलम्बन गरिएको छ।

यस्तै, फागुन ६ गते डोटी जिल्लाको जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहमाथि बिरामीका आफन्तले बिरामीको उपचार गर्दागर्दै चिकित्सकमाथि हातपात गरे। राम्रोसँग बिरामीको उपचार नगरेको भन्दै बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरे।

गत मंसिर २९ गते दार्चुलामा कार्यरत डा. सन्दीप कँडेलमाथि तीन युवकले हातपात गरे। बिरामीको खाना खाने सन्दर्भलाई लिएर बिरामीका आफन्त र चिकित्सकबीच भनाभन हुँदा स्थिति कुटपिटमा परिणत भएको थियो। केही दिन अगाडि मोरङको एक अस्पतालमा चिकित्सकले बिरामीको अपरेसनमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तले चिकित्सकमाथि आरोप लगाए।

यी प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो समय उपचारको बहानामा चिकित्सक र बिरामीका आफन्तबीचको दूरी बढ्दै जान थालेको छ। यसले गर्दा चिकित्सकमाथि हातपातको शृंखला बढ्दै गएको छ।

बिरामीको राम्रो उपचार नगरेको, उपचार गर्दा लापरबाही गरेको, समयमा उपचार नगरेको र बिरामीको राम्रो हेरचाह नगरेको भन्दै चिकित्सकमाथि हुने हिंसात्मक घटनाको संख्या यसरी नै पछिल्लो समय बढ्दै गएको चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले जनाएको छ। चिकित्सक संघमा अभिलेख भएका विगत एक दशक अवधिको विवरण हेर्दा पनि पछिल्लो केही समययता चिकित्सकमाथि हुने हातपातको शृंखला बढ्दै गएको देखिन्छ।

एक दशकको अवधिमा ३०० बढी चिकित्सक कुटिए

११ वर्षयता चिकित्सक संघमा अभिलेख भएका विवरण हेर्दा यसअवधिमा ३०० बढी चिकित्सकहरू ड्युटीकै समयमा विभिन्न बहाना र आरोपमा बिरामीका आफन्तबाट कुटपिट भएको उल्लेख छ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यस्थलमै चिकित्सकमाथि हातपात हुनु भनेको चिकित्ककहरूको मनोबललाई कमजोर बनाउनु रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको भनाइ छ। उनले भने, 'यसरी चिकित्सकमाथिको हातपातको शृंखखला बढ्दै जानु भनेको चिकित्सकहरूको मनोबल घट्दै जानु हो। यसले चिकित्सकको सेवा भावलाई समेत असर गर्छ।' 

किन बढ्दै छ चिकित्सक र बिरामीबीचको दूरी

पछिल्लो समय चिकित्सक र बिरामीबीच दूरी बढ्दै जानुको मुख्य कारण भनेकै चिकित्सकहरूको राम्रो सुरक्षा नहुनु रहेको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको बुझाइ छ।

यस्तै, चिकित्सकमाथि हातपात गर्ने व्यक्तिहरूलाई कारवाही गर्ने कानुन पनि फितलो हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको हातपातको शृंखला बढ्नै जान थालेको डा. श्रेष्ठले बताए। उनले भने, 'हातपात गर्ने निकायलाई कारवाही गर्ने कडा कानुनको अभाव हुँदा पनि चिकित्सकहरूलाई कार्यस्थलमै हिंसात्मक शैलीमा हुने हातपातको घटनाहरू बढ्दै गएको छ।'

यस्तै, पछिल्लो समय चिकित्सक र बिरामीबीचको दूरी बढ्नुको मुख्य कारण चिकित्सक र बिरामीबीच राम्रो समन्वय नहुनु रहेको नेपाल मेडिकल काउन्सिलका प्रोफेसनल हेल्थ कन्डक्ट एन्ड इथिकल कमिटीका प्रमुख डा. ढुण्डिराज पौडेलको भनाइ छ। उनले भने, 'पछिल्लो समय चिकित्सक र बिरामीबीचको दूरी बढ्दै जानुको मुख्य कारण चिकित्सक र बिरामीबीच राम्रो समन्वय नहुनु हो।'

यस्तो दूरी हटाउनका लागि चिकित्सकहरूले पनि बिरामी र बिरामीका आफन्तको भावनालाई बुझेर उपचार गर्नुका साथै बिरामीको अवस्थाबारे राम्रोसँग आफन्तलाई बुझाउन सक्नुपर्ने तथा बिरामी र बिरामीका आफन्तले पनि चिकित्सकमाथि विश्वास गर्नुपर्ने डा. पौडेलले बताए। चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्ने कडा कानुन बनाइनुका साथै चिकित्सकहरूको कार्यस्थलमा राम्रो सुरक्षा हुनुपर्नेसमेत डा. पौडेलको भनाइ छ।

यस्तो छ कानुनी व्यवस्था

स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६३ अनुसार अस्पतालमा हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ।

यदि अस्पताल तथा चिकित्सकमाथि हातपात भए वा कसुर गरेको भेटिए पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवानाका साथै तीन लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर चिकित्सकहरूले भने ऐनमा उल्लेख भएको सजायले चिकित्सकमाथि आक्रमण गर्नेहरूको मनोबल बढिरहेको भन्दै 'जेल विदाउट बेल'को व्यवस्था राख्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.