|

सुर्खेत : कर्णाली प्रदेशका सरकारी कार्यालयहरूमा फेसबुक चलाउन बन्द गर्ने अभियान सुरु भएको छ। कार्यालय समय “वर्किङ्ग टाईम” मा फेसबुक चलाउन प्रतिबन्ध लगाउन सुरु भएको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालयहरूमा  कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन्।

मुख्यमन्त्री शाहीले सुर्खेतमा सरकारी तथा निजी स्वामित्वमा रहेका इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग छलफल गर्दै प्रदेशका सातवटै मन्त्रालएमा कार्यालय समय अवधिमा फेसबुक बन्द गर्न निर्देशन दिएका छन्।

भेटमा शाहीले जनतासंग सरोकार राख्ने सबै सरकारी कार्यालयमा फेसबुक सञ्चालनमा रोक लगाउने विषयमा पनि जानकारी लिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले जानकारी दिए।

मुख्यमन्त्रीसँगको भेटमा मुख्यमन्त्री कार्यालयबाट आधिकारीक निर्देशन आए कार्यालय अवधिमा फेसबुक बन्द गर्न कुनै अप्ठेरो नहुने ईन्टरनेट सेवा प्रदायक कम्पनीहरूले बताएका छन्।

सुर्खेतमा नेपाल टेलिकम, वर्ल्ड लिंक, सुबिसु , टेक माइण्ड र सुर्खेत केबल  नेट टिभी प्रालीले इन्टरनेट सेवा दिँदै आएका छन्।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव पहाडीका अनुसार मुख्यमन्त्रीले ल्याएको यो योजना पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालय सहित प्रदेश मन्त्रालयहरुमा लागू हुनेछ। ‘अब बिहान १० बजेदेखी साँझ ४ बजेसम्म कार्यालय अवधिमा फेसबुक चलाउन पाइने छैन” पहाडीले भने। सोमबार नै आधिकारिक निर्देशन सहितको पत्र मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कार्यालयलाई पठाउने तयारी गरेको छ। लगत्तै ऐन बनाएर नै प्रदेशभरी यो कार्यक्रमलाई कार्यन्वयनमा ल्याईने मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

केही दिनअघि मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सरकारी कार्यालय र विद्यालयरूमा कार्यालय सञ्चालन अवधिमा फेसबुक बन्द गर्ने घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.