विचार

अब त जित्छ सञ्जय थापाले
SHARES

चैत १२, २०७४

    ‘लायन डिस्ट्रिक्ट ३२६ बी १, (एमडी ३२५) नेपालले नेपालका सय जना विशिष्ट नागरिकलाई सम्मान गर्‍यो, फागुन २६ गते। त्यसको भव्यताको चर्चा अहिले नगरौँ होला। मैले डिस्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यलाई शुभकामना दिँदै भनेँ, ‘यस्तो भव्य आयोजना, यति निष्ठा र अनुशासनको शिक्षा नेपालका पार्टी नेता र कार्यकर्ताका लागि अत्यन्तै आवश्यक छ। हाम्रै पार्टीका लागि पनि आवश्यक छ। आफ्नो मातृपार्टीका नेता कार्यकर्ताका बारेमा पहिले सोच्नुहोस्। मेचीदेखि महाकालीसम्मका प्रतिभालाई पोखरामा भेला गर्ने मान्छेको प्रतिभालाई सामान्यीकरण गर्न सकिँदैन। तपाईंले एउटा ऐतिहासिक काम गर्नुभएको छ। आफूमा रहेको यो प्रतिभालाई पार्टीव्यापी बनाउने सोच बनाउनुहोस्। सधैँ तपाईंले मलाई साथमा पाउनुहुनेछ।’ सम्मान समारोहका बारेमा अहिले यत्ति।

    किनभने अहिले चर्चा गर्नुपर्ने भयो, सञ्जय थापाको। मलाई बोलाइएको निम्तोमा प्रदीप नेपाल (सञ्जय थापा) लेखिएको थियो भने अभिनन्दनमा ‘यहाँले प्रगतिशील साहित्यको विकास र उन्नयनमा पुर्‍याउनुभएको अतुलनीय एवं अविस्मरणीय योगदान र राष्ट्र निर्माणको महान् कार्यमा गर्नुभएको अनुकरणीय कार्यहरूको स्मरण, कदर र सम्मान स्वरूप लायन्स शताब्दी सम्मानद्वारा विभूषित गरिएको छ।’  

    यो सम्मानमा पनि पहिले प्रगतिशील साहित्यको उन्नयन र विकासको कुरो आयो। त्यसैले यो सम्मान राजनीतिक भन्दा साहित्यप्रति नै बढी समर्पित छ। साहित्य सन्दर्भ सधैँ सञ्जय थापासँग जोडिएको हुन्छ, मेरो जीवनमा। 

    सञ्जय थापा मेरो उपनाम होइन। उग्रवामपन्थी सोचको मानसपुत्र भएर प्रदीप नेपालभन्दा पैँतीस वर्षपछि  जन्मिएको हो, सञ्जय थापा। उतिबेला हाम्रो पार्टीमा ‘लेख्नु भनेको आफ्नो प्रचार गर्ने निम्नपूँजीवादी चिन्तन हो’ भन्ने सोच थियो। गजबको थियो त्यो उग्रवामपन्थ। बुर्जवा पढाइ छाड्नुपर्ने, साहित्य लेखन गर्न नहुने। जति व्यहोर्‍यौँ हामीले नै व्यहोर्‍यौँ। अबको पुस्ताले यस्तो चर्को वामपन्थ कहिल्यै व्यहोर्नुपर्नेछैन। नेताहरूको ‘बौद्धिकता’का कारण अन्य खालका कष्ट व्यहोर्नुपर्ने हुन सक्छ। तर हामीले व्यहोरेको शिक्षा विरोधी वामपन्थ कहिल्यै व्यहोर्नुपर्ने छैन।

    सबैभन्दा पहिले पत्रकार बबिता बस्नेतले मेरो उपन्यास, ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’को प्रशंसा गर्दै भन्नुभएको थियो, ‘तपाईंले साहित्यमा सञ्जय थापाको नाम छोड्नुहुँदैनथ्यो। सञ्जय थापाकै नामबाट यसलाई प्रकाशन गर्नुभएको भए यसले साझा पुरस्कार पाउँथ्यो।’ सोही उपन्यास छापिएपछि विष्णुविभु घिमिरेले पनि ‘नामले धोका दियो’ भन्नुभएको थियो। सञ्जय थापा र प्रदीप नेपाल एउटै होइनन् भन्ने प्रतिक्रिया मैले मेरा सयौँ पाठकबाट पाएको छु। मैले सधैँ जिद्दी गरेर सञ्जय थापा र प्रदीप नेपाल एउटै हुन् भन्दै आएको छु र सत्य पनि यही हो।

    नेपालमा मात्र होइन, विदेशमा पनि यो सञ्जय थापाले मलाई छाडेन। अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको बेलायतमा भएको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा म पनि निम्तालु थिएँ। कार्यक्रम उद्घोषक लारा (लक्ष्मी राई)ले भन्नुभयो– ‘हामीले त सञ्जय थापालाई बोलाएका थियौँ तर यहाँ प्रदीप नेपाल उपस्थित हुनुभएछ। म उहाँलाई यथास्थानमा आसन ग्रहण गर्न अनुरोध गर्दछु।’

    सञ्जय थापा मेरो उपनाम होइन। उग्रवामपन्थी सोचको मानसपुत्र भएर प्रदीप नेपालभन्दा पैँतीस वर्षपछि  जन्मिएको हो, सञ्जय थापा। उतिबेला हाम्रो पार्टीमा ‘लेख्नु भनेको आफ्नो प्रचार गर्ने निम्नपूँजीवादी चिन्तन हो’ भन्ने सोच थियो। गजबको थियो त्यो उग्रवामपन्थ। बुर्जवा पढाइ छाड्नुपर्ने, साहित्य लेखन गर्न नहुने। जति व्यहोर्‍यौँ हामीले नै व्यहोर्‍यौँ। अबको पुस्ताले यस्तो चर्को वामपन्थ कहिल्यै व्यहोर्नुपर्नेछैन। नेताहरूको ‘बौद्धिकता’का कारण अन्य खालका कष्ट व्यहोर्नुपर्ने हुन सक्छ। तर हामीले व्यहोरेको शिक्षा विरोधी वामपन्थ कहिल्यै व्यहोर्नुपर्ने छैन।

    एकातिर ममाथि सरकारी कुदृष्टि थियो, ‘वामपन्थी आतंककारीको। त्यसैले म आफ्नो नाम साहित्यमा पनि प्रयोग गर्न सक्दिनथेँ। उता, पार्टीले पनि लेखनीमाथि प्रतिबन्ध लगाइदियो। म परेँ नलेखी बस्नै नसक्ने। त्यसैले मैले कसैले पनि  पत्ता लगाउन नसक्ने नाम आविष्कार गरेँ, सञ्जय थापा मगर। 

    त्यतिबेला म रूपन्देहीमा तुलसी थापाको माइतीघरमा बस्थेँ र वरिपरिका गाउँमा संगठन कार्य गर्थें। सञ्जयसँग जोडिएकोे थापा मगर त्यही आश्रयघरको उपज थियो। सबैभन्दा पहिले एउटा पाठक प्रतिक्रिया छापियो, सुस्केरा साहित्यिक पत्रिकामा, सञ्जय थापा मगर भनेर।

    मान्छे लुक्न सक्छ तर उसको भाषा र अक्षर लुक्न सक्दोरहेनछ। रघु पन्तले यो सञ्जय थापा मगर भनेको प्रदीप नेपाल नै हो भन्ने ठहर गरेर पछिल्ला प्रकाशनबाट मगर झिकिदिएर सञ्जय थापा मात्रै छापिदिने गर्नुभएछ। उहाँ साहित्यिक व्यक्ति हुनुहुन्थ्यो र पत्रकारिता पनि गर्नुहुन्थ्यो। त्यसैले भूमिगत कार्यकर्ताका रचनाहरू उहाँकोे हातमा पर्थे। विस्तारै मैले सञ्जय थापालाई नै आधिकारिक नाम मान्न थालेँ।

    सञ्जय थापाको नाममा मेरा सात थान उपन्यास निस्किए। तीनवटा कथासंग्रह र तीनवटै नियात्रासंग्रह। तर खुला भएपछि धेरै साथीले नेपाल र थापा दुवै प्रयोग गर्नुभएन अलमल हुन्छ। प्रदीप नेपाल तपाईं स्थायी नाम हो। अब सरकारबाट पनि लुक्नुपरेको छैन, पार्टीका अरू नेताहरूले पनि साहित्य सिर्जना गर्न थालेका छन्। उनीहरूका कारण राख्नु परेको छाडदिनुस् सञ्जय थापालाई। 

    र, मैले छाडिदिएँ। 

    तर सञ्जय थापाले मलाई छाडेन। सञ्जय थापाको नाममा छापिएका तेह्र कृतिको तीन गुणा बढी कृति सिर्जना भएका छन्, प्रदीप नेपालको नामबाट। प्रदीप नेपालकै नामबाट प्रकाशित ‘नन्दिता’ उपन्यासले संक्रमणकालीन राजनीतिको सजीव चित्रण गरेको छ। ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’को तेस्रो संस्करण यसै वर्ष निस्किएको छ।

    नाम के हो? परिचय हो। तर मान्छेको मानस फेर्न असाध्यै गाह्रो हुँदोरहेछ। मेरा पाठकको चिन्ता मैले बुझ्नुपर्छ। उहाँहरूको बुझाइमा राजनीतिक नेता, कार्यकर्ताहरू भ्रष्टाचारी हुन्छन् र लेखक, साहित्यकारचाहिँ सदाचारी हुन्छन्। तर प्रिय पाठक, तपाईंहरूको यो साहित्यकारले अहिलेसम्म राजनीतिमा एउटा पनि छीः भन्नुपर्ने काम गरेको छैन। मैले १२ वर्ष संसदमा बिताएँ। तर सुत्केरी खर्च, सुरा सुन्दरी र भन्सार सुविधाको गाडीलाई परैबाट नमस्कार गरेर बिदा गरेँ। चारवटा मन्त्रालयमा काम गरेँ तर कुनै पनि मन्त्रालयमा भ्रष्टाचारजन्य काम गरिनँ। 

    मेरा सहृदयी पाठक, ममाथि विश्वास गर्नुहोस्, यो प्रदीप नेपाल सञ्जय थापा नै हो। उसै पनि म राजनीतिलाई नागरिक दायित्व र साहित्यलाई जीवनको सार मान्ने मान्छे हुँ। उसै पनि मेरा राजनीतिक जिम्मेवारीहरू पार्टीका स्थायी कमिटी सदस्यहरूले घटाइदिनुभएको छ। अब म बिग्रिने सम्भावना घटेर गएको छ। अब त कलम र प्रदीप नेपाल पर्यायवाची भइसकेका छन्। साहित्यबाट राजनीतिमा आएको योे प्रदीप नेपाल फेरि अध्ययन र लेखनमा केन्द्रित हुनेछ अर्थात, प्रकारान्तरले यो सञ्जय थापा भइसकेको छ।

प्रदीप नेपाल

नेकपा एमालेका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]