|

उदयपुर : प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रको दर्शन गर्न जाने भक्तजनले सप्तकोसीमा पहिलोपटक जेटबोट सञ्चालनमा ल्याइएको छ। उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरुले सप्तकोसी नदीमा व्यावसायिक रुपमा जेटबोट सञ्चालनमा ल्याएका हुन्।

स्थानीय आठजना युवाहरुले बराहाक्षेत्र यातायात तथा पर्यटन सेवा नामक कम्पनी दर्ता गरेर सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा ल्याएका छन्। जेट बोट सोमबारबाट व्यावसायिक रुपमा सञ्चालन हुने उदयपुरको बेलका नगरपालिका नगर प्रमुख दुर्गा थापाले जानकारी दिए। ‘बराहक्षेत्र नगरपालिका र बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोसी नदीमा जलयातायात सञ्चालन गर्न लागिएको छ।’ मेयर थापाले भने, ‘अहिले जेटबोट आइसकेको छ, हिजो मात्र हामीले बराहाक्षेत्रसम्म यात्रा गर्‍यौँ, सोमबारबाट व्यावसायिक रुपमा जलयातायात सुरु हुन्छ।’

तीन दिनअघि ल्याइएको जेट बोट चतराको जगद्गुरु आश्रमको पश्चिम कोसी नदी (ठूलो कोसी)बाट धनकुटाको सिम्ले भन्ने स्थानसम्म परीक्षण गरिएको थियो। परीक्षणमा बराहक्षेत्र र बेलका नगरपालिकाका प्रमुख, वडाध्यक्ष, बोट सञ्चालकहरुले यात्रा गरेका थिए।

चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा आउने जाने यात्रु तथा पर्यटकलाई लक्षित गरी जेटबोट सञ्चालन गर्न लागिएको सञ्चालक सन्तोष भण्डारीले जानकारी दिए। जेटबोट ३ करोड रुपैयाँमा भारतको पुनाबाट ल्याइएको जनाइएको छ।

नेपालमा जल यात्रा गर्ने पहिलो गन्तव्य बनाउन जेटबोटले सहयोग पुग्ने नेकपा माओवादीका नेता रमण भट्टराईले बताए। ‘जेट उदयपुर, भोजपुर र धनकुटा जिल्लाका विभिन्न घाटसम्म जलयात्राको सम्भावना लाई बढाउनेछ।’ भट्राईले भने ‘नियमित सञ्चालन गर्न सके जल यातायातबाट बेलका र बराहक्षेत्र नगरपालिकाको पहिचान बन्नेछ।’ अहिले सञ्चालनमा ल्याइएको जेटबोटको यात्रु क्षमता ३० रहेको बताइएको छ।

यात्रु र सामानसहित भने ३५ सय किलो लैजान सकिने क्षमता भएकोले हाललाई २५ जना यात्रु र उनीहरुका सामान्य लगेज मात्र चढाइने कम्पनीले जनाएको छ। जेटबोट पहाडी भेगमा ओहोरदोहोर गर्ने आमयात्रु तथा पर्यटकहरु लाई सबैभन्दा सजिलो सुगम तथा सस्तो वैकल्पिक जल मार्ग हुने बताउँदै सञ्चालक भरत घिमिरले बताए।

जेटबोटलाई भोजपुर अख्वाटारमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ। धार्मिक पर्यटकबाहेक स्थानीयहरुलाई पनि जेटवोटले सुविधा पुग्ने बताइएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिकावाट धनकुटाको सिम्लेसम्म जाने एक मात्र विकल्प पैदल यात्रा रहँदै आएको छ। पैदल दूरीमा करिब २० किलोमिटर टाढा रहेको सिम्ले पुग्नको लागि वराहक्षेत्र मन्दिरबाट ४ देखि ५ घन्‍टा हिँड्नुपर्दछ। जलयात्राबाट सिम्ले पुग्न मात्र ९ किलोमीटरमा छोटिने अवस्था छ । उक्त दूरी जलयात्रामा जेटबोटले बढीमा १५ मिनेटमा सिम्ले पुर्‍याउन सक्नेछ।

कप्पनीले व्यवस्थापनलाई पर्यटकीय एवं स्थानीय समुदायका लागि सेवामुखी बनाउने तयारी गरेको छ। करिब पाँच वर्षअगाडि सुम्निमा जल यातायातले नदीमा जेटबोट सञ्चालनमा ल्याएको थियो। सप्तकोसी नदीमा क्षेत्रमा पर्ने दुवै जिल्लालाई पनि पर्यटन प्रवर्द्धनको लागि टेवा पुग्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.