यस्तो छ राजा हिलिहाङको इतिहास

|

पाँचथर : लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङको दरबार भग्नावशेषमा परिणत भएको छ। पुरातात्त्विक महत्त्वको दरबार जीर्ण हुँदा पनि नजर नपुर्‍याएका सरकारी निकाय र स्थानीय संघसंस्थाहरूले दरबार भग्नावशेषमा परिणत भएपछि भने बल्ल चासो देखाएका छन्।

अन्वेषक हर्कबहादुर योङहाङ नेतृत्वको हिलिहाङ फाउण्डेसन चार वर्षदेखि हिलिहाङ दरबार क्षेत्र संरक्षण र प्रचार प्रसारमा जुटेको छ भने पुरातत्त्व विभागसँगै पर्यटन मन्त्रालय पनि अढाई वर्षदेखि दरबार क्षेत्र संरक्षण र पुरातात्त्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धारमा क्रियाशील छन्। हिलिहाङ गाउँपालिकाले पनि हालै संरक्षणमा चासो लिएको छ। उसले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

हालसम्म पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र हिलिहाङ फाउण्डेसनले डेढ करोड रुपैयाँ दरबार क्षेत्रको पुरातात्त्विक सम्पदाहरूको भग्नावशेष संरक्षण, जिर्णोद्धार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक निर्माणमा खर्चेका छन्। अब दरबार क्षेत्रमै राजा हिलिहाङले प्रयोग गरेका हातहतियारसँगै अन्य महत्त्वपूर्ण सामग्रीहरू संग्रह गर्न संग्रहालय निर्माण गरिने भएको छ। हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले निर्माण गरिने संग्रहालयमा तोप, ढाल, तरबार, निशान, राजाको कन्तुर, हिलिहाङ झण्डालगायतका सामग्रीहरू रहने बताए। 

‘पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङको दूरदर्शीताले वर्तमान नेपालको स्वरूप बनेको हो’, उनले भने, ‘तिनै ऐतिहासिक व्यक्तित्व राजा हिलिहाङको ऐतिहासिक भूमिकाको पुनर्ताजगी गर्न संग्रहालय निर्माण गर्न लागेका हौँ।’ उनका अनुसार संग्रहालयमा राखिने भनिएका केही हातहतियारसहितका महत्त्वपूर्ण पुरातात्त्विक सामग्रीहरू गोर्खाका राजा पृथ्वीनारायण शाहले गोर्खा–लिम्बूवानबीच भएको सम्झौताको क्रममा दिएका हुन् भने केही भोटेगढीमा भोटे सेना (तत्कालीन सुख्खिम, हालको सिक्किम सरकारका सेना)सँग भएको युद्धको क्रममा खोसिएका हतियार हुन्। 

उनले दरबार क्षेत्रमा निर्माण गरिने भौतिक पूर्वाधार र पुरातात्त्विक सम्पदाहरूको जिर्णोद्धारले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने विश्वास व्यक्त गरे। दरबार क्षेत्रको संरक्षण र भौतिक पूर्वाधारहरूको निर्माणमा सरकारको निकायदेखि विभिन्न संघसंस्थाहरूले ढिलै भए पनि क्रियाशीलता बढाउँदा पुरातात्त्विक सम्पदाको  संरक्षण हुने स्थानीयवासी बताउँछन्।  

यस्तो छ राजा हिलिहाङको इतिहास

राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बूवानका १७ थुममध्येको एउटा थुम, याङ्वरकको हस्तपुर (यक) गढीका राजा हुन्। वि. सं. १७८३ मा जन्मिएका उनले १८१४ देखि १८४२ सालसम्म २८ वर्ष शासन गरेको इतिहासविद् बताउँछन्। 

उनी १८औँ पुस्ताका राजा हुन्। गोरखाका राजा पृथ्वीनारायण शाहले ससाना राज्यमाथि आक्रमण गर्दै पूर्वी क्षेत्रको छुट्टै राज्य लिम्बूवानमा प्रवेश गर्दा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध भए पनि दुवैतर्फबाट हारजीत नभएपछि लिम्बूवानलाई स्वतः अधिकार दिने गरी गोरखा–लिम्बूवानबीच सम्झौता भएको इतिहासविद् डा. नारायण संग्रौला बताउँछन्। 

उनका अनुसार हिलिहाङ योङहाङ र उनका सन्ततिले अविच्छिन्न रूपमा हस्तपुर याङ्वरक (यक)मा शासन संचालन गर्न पाउने, शाहवंशीय राजालाई दाजु र लिम्बूवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, हस्तपुर (याङ्वरक) यकमा तैनाथ सैनिक (तिलिंगा)हरूलाई लाग्ने सम्पूर्ण खर्च राजा हिलिहाङ आफैँले स्वधिकार प्रयोग गर्न पाउने र सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने सहमति भएको थियो। 

यसले गर्दा अझै पनि लिम्बू समुदायले गोरखा राज्यसँग हारेका होइनौँ भन्ने गरेका छन्। यद्यपि, राजा हिलिहाङले गोरखा सैनिकसँग लड्न उनले भोटे सैनिकको सहयोग लिएको पाइन्छ।

हाल दरबार नजिकै भोटे सैनिकहरूको गण बसेको डाँडालाई अहिले पनि भोटेगढी भनेर चिनिन्छ। हिलिहाङकी फुपू थुङ्वा मुक्मा योङहाङको सिक्किमका तेस्रो राजकुमार नामग्यालसँग विवाह पनि भएकाले दुई राज्यबीच सम्बन्ध नजिक थियो भन्ने दाबी अन्वेषक हर्कबहादुर योङहाङको छ।

तर वि. सं. १८३१ पछि हिलिहाङ गोरखा सरकारसँग आन्तरिक रूपमा मिलेको भनेर सिक्किम सरकारले शंकाको दृष्टिले हेरेको र वि. सं. १८४२ मा फुपूको घर सिक्किम जाँदा उनको हत्या भएको बताइन्छ। सिक्किम दरबारस्थित गुम्बामा हिलिहाङको टाउको अझैसम्म राखिएको छ भन्ने चर्चा लिम्बू समुदायमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.