|

कपिलवस्तु : मायादेवी गाउँपालिका ३ स्थित बड्की खैराटी र बहरवासी जोड्ने मर्थी खोलाको काठे पुल र्जीण बनेपछि आवतजावतमा समस्या भएको छ। स्थानीयवासीले ४० वर्षअघि निर्माण गरेको काठे पुल मक्किएर र्जीण बनेपछि फुलिका, बरसौली, अतरपरी, छोट्की खैराटी लगायतका गाउका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको स्थानीयवासी राजकिशोर जैसवालले बताए। उनले भने, “काठको पुल जीर्ण भइसकेको छ, ओहोरदोहोर गर्न जोखिम मोलेर तर्नुपर्ने अवस्था छ, पुलको योजना माग गर्दै धेरै ठाउँ पुग्यौँ तर हाम्रा कुरा सुनुवाइ भएन।”

खोला तर्न झोलुङ्गे पुल लगाइएको ठाउँमा पुग्न अन्यत्र स्थानबाट धेरै समय लाग्ने भएकाले स्थानीयले जोखिम मोलेरै भए पनि सोही र्जीण पुलको प्रयोग गर्दै आएका छन्। “यो र्दुदशाको पुल भाँच्चिएर कुनै न कुनै दिन र्दुघटना हुने निश्चित छ,” अर्का स्थानीय राजेन्द्र तिवारीले भने, “कतिपय खोलामा अनावश्यक ठाउँमा पुल बनाइएका छन् तर, यो ठाउँमा कसैको ध्यान पुग्न सकेको छैन।”

मर्थी खोलामा पुल नहुँदा स्थानीयबाहेक बिद्यालय पढ्न जाने विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन्। हिउँदमा जसोतसो खोला तर्न सके पनि वर्षाको समयमा तर्न नसकिने स्थानीयको भनाई छ। निर्वाचनको बेला सबै नेताहरुले प्रायः विकासका कुरा ल्याए पनि जितपछि जनताको पिरमर्कामा ध्यान नदिएको स्थानीय नेता ध्रुव पाण्डेले बताए। स्थानीय सरकार आएपछि स्थानीय निकायले बनाउछन् कि भन्ने आशा गरेका स्थानीय निराश बनेका छन्।

मर्थी खोलामा पर्ने बड्की खैराटीसंगै वडा कार्यालयको भवन नजिकै लगायत अन्य स्थानमा पनि पक्की पुल निर्माण गर्नुपरेकाले आगामी आर्थिक वर्षदेखि बजेट बिनियोजन गरेर कामलाई निरन्तरता दिने वडाध्यक्ष सुकदेव तिवारीले बताए। मायादेवी गाउँपालिकाका विभिन्न गाउँमा काठेपुलको सहारामा स्थानीय ओहोरदोहोर गर्ने गरेकाले अब छिट्टै काठेपुल हटाएर पक्की पुल बनाउने उनले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.