|

संखुवासभा : जिल्लाको विकट उत्तरी क्षेत्रमा रहेको  शिलिचोङ गाउँपालिकाले  ठेक्का प्रक्रियालाई खारेज गरेको छ। गाउँपालिकाले विकास निर्माण तथा भौतिक योजनाहरू उपभोक्ता समितिबाट मात्रै सञ्चालन गर्ने भएको छ। शिलिचोङ गाउँपालिकाको बैठकले विकास निर्माणका काममा उपभोक्ता समितिमार्फत मात्र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

गाउँपालिकाले विकासे आयोजना यसअघि ठेक्का प्रणालीबाट सम्पन्न गरिने भन्दै बोलपत्रसमेत आह्‍वान गरेको थियो। त्यसै बोलपत्रका आधारमा  २७ निर्माण व्यवसायीहरूले फाराम खरिद गरिसकेका थिए। उक्त गाउँ कार्यपालिकामा बसेको बैठकले निर्माण कार्यविधि नबनिसकेको भन्दै ठेक्का प्रक्रिया रोकेको थियो। 

विकास निर्माणका ठूला आयोजनाहरू पनि निर्माण समितिमार्फत सम्पन्न गर्ने व्यवस्था पास गराएर काम गर्न थालेका छन्। निर्माण व्यवसायीहरूले खरिद गरेको फारमबापतको रकम फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष राम कुलुङले जानकारी दिए। 

ठूलो बजेटका आयोजनाहरू सम्पन्न गर्न निर्माण कम्पनीमार्फत नै गर्नुपर्ने प्रावधान रहे पनि त्यस्तो ठूलो लागतको आयोजनाहरूलाई खण्ड-खण्डमा विभाजन गरी निर्माण कार्य सम्पन्न गर्ने कार्यविधिमा व्यवस्था गरेका छन्। ठेक्का प्रणालीबाट काम गर्दा प्रक्रिया धेरै झण्झटिलो हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकोले पनि निर्माण समितिबाटै योजना सम्पन्न गर्ने व्यवस्था ल्याउन परेको उनको भनाइ छ।

अहिले नयाँ कार्यविधि अनुसार दुई करोड लागतको बुम्लीङटारदेखि गाउँपालिका कार्यालयसम्म जोड्ने सडकको स्तर उन्नतिको आयोजना पनि निर्माण समितिलाई दिइ काम सुरु गरिसकेका छन्।

निर्माण समितिमार्फत एक करोडभन्दा बढी लागतको निर्माण कार्य गर्न नपाएने भएकोले सो मर्मत कार्यलाई तीन भागमा विभाजन गरेर कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.