|

उदयपुर : उदयपुरमा सरकारी कर्मचारी जनप्रतिनिधिबीच जुहारी सुरु भएको छ। जनताले मत दिएर पठाएका जनप्रतिनिधि अहिले अराजक बन्दै आफूलाई सर्वोपरि ठान्न थालेपछि जुहारी सुरु भएको हो। 

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा कतै कर्मचारीलाई जनप्रतिनिधिले हातपात गरेका छन् भने कतै जनप्रतिनिधि नै झगडा गर्न थालेको निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। 

‘सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत उपसचिव नारायण श्रेष्ठ कुटिएको भन्दै कर्मचारीको ज्ञापनपत्र आएको छ’, खड्काले भने, ‘चौदण्डीगढी नगरपालिकामा वडा अध्यक्षहरूले बोर्ड बैठकमै झगडा गरे भन्ने सुनेको छु।’ भित्री रूपमा कर्मचारी र स्थानीय तहका सरकार प्रमुखबीच जुहारी चलिरहेको थियो। त्यही बेला गत चैत १० गते उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर- २ का सांसद सुरेशकुमार राई, उदयपुर प्रदेशसभा २ (क) का सांसद कला घले, कटारी ननगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठसमेतको उपस्थितिमा श्रेष्ठमाथि हातपात भयो। त्यसपछि कर्मचारी र जनप्रतिनिधिहरूको विवाद सतहमा आयो।

कर्मचारीका कानुनी अधिकार जनप्रतिनिधिले नबुझ्ने र जनप्रतिनिधिको क्षेत्र अधिकारी कानुनमा प्रष्ट रूपमा नुहँदा समस्या परेको सरकारी अधिकारीको भनाइ छ। ‘कतिपय कानुन सबै पुराना छन्’, निमित्त प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘अहिले जनप्रतिनिधिले सडक बनाउने भन्दै जंगलमा डोजर लगाउन पाउँदैनन्, सार्वजनिक जग्गा बाँड्न पाउँदैनन्।’ उनले कटारीमा पनि वन अधिकृत श्रेष्ठले सडक निर्माणको काम नरोकेको भए कारवाही गरिने बताए।

'जनप्रतिनिधिले एकोहोरो भनेको भरमा सबै कुरा हुँदैन, कानुनी व्यवस्था के छ, हेर्नुपर्छ', खड्काले भने। श्रेष्ठमाथि हातपात भएपछि अहिले विभिन्न कर्मचारीले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापनपत्र बुझाएका छन्। जनप्रतिनिधिहरूको चर्को विरोधमा सरकारी कर्मचारी उत्रेका छन्।

यसरी कुटे दुई सांसद र एक प्रमुखले उपसचिवलाई 

कटारी नगरपालिका- १ स्थित खसीवासमा राष्ट्रिय वन क्षेत्रमा अनियमित रूपमा स्काभेटर प्रयोग गरी सडक निर्माण भइरहेको थियो। सुराकीको आधारमा सेक्टर वन कार्यालय कटारीले गएको चैत १० गते बिहान रोक्यो। स्काभेटर र डोजर चालक राज कटुवाल र तुलसी बुढाथोकीलाई रंगेहात पक्राउ गर्‍यो। पक्राउ गरी अनुसन्धानका लागि जिल्ला वन कार्यालय, उदयपुरको हिरासतमा पठायो। 

सडक खन्न प्रयोग भएका उक्त साधनहरू सुरक्षित स्थानमा ल्याउन तत्काल असम्भव भएकाले सोही स्थानमा नै छाडी दुई थान चाबी बरामद गर्‍यो। त्यसपछि दिउँसो २ बजे प्रतिनिधिसभा क्षेत्र नम्बर- २ का सांसद सुरेशकुमार राई, प्रदेशसभा २ (क) का सांसद कला घले, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठसमेतको २४ जनाको टोली वन कार्यालय प्रवेश गर्‍यो।

‘मेरो कार्यकक्षमा प्रवेश गरी मलाई जथाभावी गाली गलौज गर्दै हातपात गरी छातीमा लात हाने’, पीडित श्रेष्ठले भने, ‘जे पनि हुन सक्छ भन्दै धमक्याए, लात खाएपछि म केही बोल्न सकिनँ, त्यसपछि गाईघाट भागेँ।’ श्रेष्ठका नजरमा मुख्य अभद्र व्यवहार गर्ने कटारी नगरपालिका- २ गुराँसका नारायणी सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष शंकर सिंह, कटारी- २ का वडा सदस्य काशीराज पोखरेल र तल्लो कटारी- ४ का नगर सदस्य लीला अधिकारी दनुवार रहेको उनको दाबी छ।

यस कारण रोक्नुपर्‍यो सडक निर्माण

खसीवास वन क्षेत्रमा अवैध रूपमा खन्ने/पुर्ने सडक वन ऐन, २०४९, वन नियमावली, २०५१ विपरीत थियो। खसीवास क्षेत्रका वासिन्दाहरूको आवश्यकताभन्दा मारुती सिमेन्टको ट्रिपर आवतजावतका लागि जनप्रतिनिधिले योजनाबद्ध निर्माण गरेको सेक्टर वन कार्याल कटारीको भनाइ छ। ‘मैले कर्तव्य पूरा गर्दागर्दै अनावश्यक रूपमा ममाथि हातपात र दुर्व्यवहार भयो’, श्रेष्ठले भने, ‘म मातहतका कर्मचारीहरूको जीउ ज्यानको सुरक्षाको व्यवस्था मिलाइदिनुपर्‍यो।’ 

जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद भण्डारीले वन अतिक्रमण गर्ने चेष्टा र सडकको नाममा रूख बिरुवा क्षति पुर्‍याउने जनप्रतिनिधिको अज्ञानताले समस्या आएको बताए। ‘कानुनी रूपमै समस्या छ। वनको अधिकार स्थानीय तहका जनप्रतिनिधिलाई छैन’, उनले भने, ‘त्यसैको सिकार हुनुभयो श्रेष्ठजी।जनप्रतिनिधि हाम्रो अधिकार भन्ने, हामी हाम्रो अधिकार भन्ने।’

जनप्रतिनिधिलाई फरार अभियुक्तको साथ

श्रेष्ठमाथि हातपात गर्ने मुख्य नाइके कटारी नगरपालिका- २ गुराँसका शंकर सिंह रहेको सेक्टर वन कार्यालय कटारीको दाबी छ। ‘मेरो नाम भन्यो भने मलाई आएर कुट्न बेर लगाउँदैनन्’, सेक्टर वन कार्यालयका एक कर्मचारीले भने, ‘वन मुद्दामा शंकरलाई छ महिना कैद र चार लाख रुपैयाँ जरिवाना जिल्ला अदालत उदयपुरबाट फैसला भएको छ तर पक्राउ पर्दैनन्।' 

जिल्ला अदालतले वन मुद्दामा दोषी ठहर गरे पनि अहिले जनप्रनितिधिहरूका नजिकका आफन्त बनेका छन्। तिनै आफन्तको साथमा गएका सांसद सुरेशकुमार राई, उदपुर प्रदेशसभा २ (क) का सांसद कला घले, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको मौन समर्थनको साथमा वडा सदस्य काशीराज पोखरेल र लीला अधिकारी दनुवार सहयोगी बनेर श्रेष्ठमाथि हातपात भएको सेक्टर जिल्ला वन कार्यालय कटारीको भनाइ छ। 

जनप्रतिनिधि भन्छन् : ‘जनकारवाही गर्‍यौँ’

कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनताको काम नगर्ने सरकारी कर्मचारीलाई जनकारवाही गरेको बताएका छन्। ‘हामीले त्यसलाई कुटेको भन्न मिल्दैन, कुटेका हौँ, बिरामी पार्ने गरी होइन’, श्रेष्ठले थाहाखबरसँग भने, ‘जनताको लागि सडक निर्माण गर्दा रोक्ने श्रेष्ठलाई सम्झाउन मात्र खोजेका हौँ, रिसको आवेगमा हातपात भयो।’

यता, नगरपालिका उपप्रमुख भीमकुमारी राउतले सोमबार गाईघाटको हिमालय होटलमा भएको भेटमा भनिन्, ‘जनतासँग पैसा माग्ने, जनताको काम नगर्नेलाई सामान्य रूपमा तर्साएका हाैँ। उपप्रमुख राउतले भनिन्, ‘वन डढेलो लागेको छ, जनताको घरमा डढेलोले पस्न लागिसक्यो, कार्यालयमा बस्दैन, त्यसो भएकाले कुटेको भन्न मिल्दैन।’

विवादस्पद व्यक्ति हुन् श्रेष्ठ

कटारी क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध सर्वसाधरणले जनप्रतिनिधिविहीन अवस्थामा श्रेष्ठले पैसा माग्ने गरेको गुनासोसमेत गरेका छन्। ‘यस क्षेत्रमा पर्ने धेरै सामुदायिक वनहरू छन्’, स्थानीय दानवीर दनुवारले भने, ‘श्रेष्ठले पैसा नमागेको कुनै सवूद प्रमाण छैन।’ कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने श्रेष्ठलाई कुट्नुचाहिँ गल्ती भएको सर्वसाधारणको भनाइ छ।

कटारी नगरपालिका रिस्कुका मानबहादुर सार्कीले भने, ‘सरकारी कर्मचारी हो, पैसामा र्‍याल चुहाउँथ्यो, त्यही भएर सिकार भएको होला।’ मेरो सामुदायिक वनको नाम भन्यो भन्यो सबैले चिन्छन् भन्दै उनले भने, ‘हाम्रो क्षेत्रका सांसद र प्रमुखको समेत बदनाम भयो, कानुनी कारवाही गरेको भए हुने थियो।’

वडा अध्यक्षको झगडाले चौदण्डी नगरपालिकाको बोर्ड बैठक रोकियो

उदयपुरको चौदण्डीगढी नगरपालिकामा वडा अध्यक्षहरूको झगडाले आइतबार बोर्ड बैठक रोकियो। दोस्रो नगरसभाको तयारीका लागि बसेको बोर्ड बैठकमा दुई वडा अध्यक्षले झगडा गरेपछि बोर्ड बैठक रोकिएको हो। बैठक चलिरहेका बेला वडा नम्बर- ९ का वडा अध्यक्ष प्रकाश राउतमाथि वडा- १० का वडा अध्यक्ष रामकुमार खड्काले हातपात गरेपछि बोर्ड बैठक रोकिएको वडा- २ का वडा अध्यक्ष सन्तोष सुवेदीले बताए। 

‘बैठक चलिरहेका बेला राउतमाथि सुरुमा पानीको बोतलले प्रहार गरे खड्काले, त्यसपछि हातले हिर्काउन खोज्दा मैले रोकेको हुँ’, सुवेदीले भने, ‘बैठक बहिष्कार गरेर हामी हिँड्यौँ, बैठक नै रोकियो।’

कुटाइ खाने वडा अध्यक्ष राउतले प्रमुख खगेन्द्र राईको निर्देशनमा कुटेको आरोप लगाएका छन्। ‘बैठकमा खड्काले अपशब्द प्रयोग गरे, मैले बोल्न खोज्दा प्रमुखकै निर्देशनमा सुनियोजित ढंगले आक्रमण भयो’, पीडित वडा अध्यक्ष राउतले भने, ‘खड्काले हातखुट्टा भाँचिदिन्छु। तँलाई जहाँ भेट्यो, त्यहीँ सिध्याउँछु भन्दै धम्की पनि दिएका छन्।’ वडा अध्यक्षबीचको झगडापछि नगरपालिकाका प्रमुख खगेन्द्र राईलाई सम्पर्क गर्दा उनको निजी मोवाइलमा सम्पर्क हुन सकेन।

नगरपालिकाकी उपप्रमुख रीताकुमारी चौधरीले वडा अध्यक्षको झगडापछि बैठक रोकिएको जानकारी दिइन्। ‘दुई वडा अध्यक्षहरू व्यक्तिगत रिसइवी लिएर बोर्ड बैठकमा झगडा गरे’, उपप्रमुख चौधरीले भनिन्, ‘भनाभन हुँदाहुँदै हात हालहात भयो, हामी हेरिरह्यौँ अरू वडा अध्यक्षहरूले छुट्याएर पठाउनुभयो। बैठक अनिश्चितकालका लागि रोकिएको छ।’

नेकपा एमाले र नेकपा माओवादी पक्षधर वडा अध्यक्ष र सदस्यहरूले यसको चर्को विरोध गरेका छन्। चौदण्डीगढी नगरपालिका- ५ का वडा अध्यक्ष देवनारायण चौधरीले कांग्रेसका वडा अध्यक्ष खड्काले एमालेका वडा अध्यक्ष राउतलाई धम्की र डर देखाउन खोज्दा झगडा भएको बताए। ‘म नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेको हुँ’, उनले भने, ‘कांग्रेसले हेप्न खोज्दा तनाव भएर बैठक नै रोकियो।’

यसो भन्छन् उदयपुरका बुद्धिजीवी

कटारीमा जनप्रतिनिधिले उपसचिव कुट्ने र चौदण्डीगढी नगरपालिकामा वडा अध्यक्षको झगडाले उदयपुरलाई लज्जित बनाएको स्थानीयको भनाइ छ। स्थानीय शिक्षक पदम राईले अन्य जिल्लामा जनप्रतिनिधिलाई विभिन्न आरोप लागिरहेका बेला उदयपुरमा जनप्रतिनिधिसँग जोडिएका दुई घटना दुखद भएको बताए। ‘संघ र प्रदेशका सांसदको साथ प्रमुख हुँदाहुँदै कर्मचारी कुटिनु गलत हो’, राईले भने, ‘जे नहुनु थियो, त्यही भयो। अबका दिनमा यस्तो हुनुहुँदैन। यसले जनतामा निराशा ल्याएको छ।'

अधिवक्ता बैकुण्ठनाथ दाहालले जनप्रतिनिधि र कर्मचारी तानाशाही बन्दा समस्या आएको बताए। ‘कर्मचारी वर्षौंदेखि मनलागी गर्दै आएका थिए’, अधिवक्ता दाहालले भने, ‘कर्मचारी रजाइँ चल्दै गर्दा जनप्रतिनिधि रातो सिन्दूर लगाएर आए, त्यसैको उपज हो, कतै आफूआफूले झगडा गर्छन्, कतै कर्मचारी कुट्छन्।’ दुवै कानुनी अधिकार राज्यले छिनोफानो लगाउने बेला आएको दाहालको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.