थाहा संवाद : स्थानीय सरकार

संभावना र स्रोतको पहिचान गरेर अघि बढ्न आवश्यक छ : नगर प्रमुख निमफुन्जो शेर्पा
SHARES

चैत १३, २०७४

    स्थानीय तहको निर्वाचन भएको १० महिना बित्यो। जनता सिंहदरबारको अधिकार गाउँमै पाउने भन्ने नाराप्रति विश्वास गरिहेका छन्। स्थानीय सरकार अहिले के गर्दै छ? अहिलेसम्म कस्ताकस्ता कामहरू संचालन भए चुनावपछि? चुनावी ऐजेण्डालाई कतिको प्राथमिकताका साथ लागू गरिँदै छ? भन्ने विषयमा केन्द्रित रहेर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पासँग थाहाखबरका लागि रमेश पराजुलीले गरेको कुराकानी ।   

    नगर प्रमुखका रूपमा दश महिने कार्यकाल कस्तो बित्यो?

    हामी जुन अवस्थाबाट गुज्रेर आयौँ, त्यसलाई नजिकबाट हेर्दा त निकै सफल भइयो जस्तो लाग्छ तर म यतिमा सन्तुष्ट छैन। धेरै काम गर्न सकिने रहेछ। पहिलो वर्ष सिक्दैमा बित्यो। यस वर्षबाट हामी परिणाममा देखिने कामको योजना बनाउँदै छौँ।

    चुनावी एजेण्डा र चुनावका समयमा गरिएका प्रतिवद्धता कतिको कार्यान्वयनमा ल्याइँदै छ? हालसम्म केके गर्नुभयो?

    म आगामी योजनामा बढी केन्द्रित छु। बाह्रबिसे नगरपालिकालाई सबै खाले विकासमा अघि बढाउन सके चुनावी एजेण्डाहरू कार्यान्वयन गरेको ठहर हुने मेरो बुझाइ छ।

    बाह्रविसे नगरपालिकालाई समृद्ध बनाउने आधार केके छन्?

    पहिलो आधार भनेको यहाँका मिहिनेती मानिसहरू हुन्। म नयाँ र ठूला कामहरू केही गर्दिनँ। गरिरहेका कामहरूलाई व्यावसायिक, सहज बनाउनेछु र मिहिनेती मानिसहरूको हित हुने खालकोे काम गर्नेछु।

    यहाँ आर्थिक, सामाजिक, साँस्कृतिक तथा अन्य विभिन्न खाले समृद्धिको प्रचुर संभावना छ। यी संभावनाहरूलाई यथार्थमा बदल्न हाम्रो प्रयास मात्रै पर्याप्त नहुन सक्छ। अब प्रदेश तथा केन्द्रले हामीले देखेका संभावनाहरूलाई संभाव्यता अध्ययन गरी परिणाम निकाल्ने कुरामा आर्थिक तथा प्राविधिक सहायता दिनुपर्छ। जलस्रोत, पर्यटन, कृषि र व्यापार यहाँका समृद्धिका आधार बन्न सक्छन् भन्ने मेरो अनुमान छ।

    जनप्रतिनिधिको हिसाबले जनताको कामलाई कतिको सहज तुल्याउनुुभएको छ?

    हाम्रोतर्फबाट गर्न सक्नेसम्मका सहजताका लागि काम गरिरहेका छौँ तर सरकार संचालन विधि, प्रक्रिया, नियम र ऐन कानुनहरूबाट गर्नुपर्ने अवस्थाले गर्दा कहिलेकाहीँ त हात बाँधेर पोखरीमा फालहालेजस्तो लाग्छ। अब बानी पनि भयो। थाहा पनि भयो, जनातालाई कस्ता सरकारी कामकाजमा सहजता तुल्याउनुपर्छ भन्ने कुुरा। मैले सूची नै तयार पारेको छु। आगामी अधिवेशनबाट हामी यस्ता सूचीहरूलाई व्यवस्थित गरी जनताका कामकाजलाई थप सरल र सहज बनाउनेछौँ।  

    हिमाली क्षेत्रमा स्याउ खेती विस्तारका योजना थिए तपाईंका, के हुँदै छ अहिले?

    कार्यान्वयनको चरणमा छ। हामीले स्याउका बिरुवा अर्डर गरिसक्यौँ। अब बिरुवा सार्नका लागि उपयुक्त समय पारेर परीक्षण खेती सुरु गर्छौं। केही विधि र प्रक्रिया पु¥याउनुपर्ने भएको र अलिक पछि यस्तो सोच बनेकाले अलिकति ढिला भयो। केही ढिला भए पनि परीक्षण सफल हुनेमा हामी आशावादी छौँ। स्याउ मात्रै होइन, हामी हरेक वडामा नयाँ उत्पादनका कामहरू केके गर्न सकिएला भन्ने अध्ययनको तयारी पनि गर्दै छौँ। हरेक वडामा नयाँ संभाव्यताको खोजी गर्न मैले वडा अध्यक्षज्यूहरू र कृषिविज्ञसँँग छलफल पनि बढाउँदै छु।

    नगरपालिकाको प्रमुख आम्दानीको स्रोत व्यापार थियो। अहिले तातोपानी नाकासँगै व्यापार बन्द छ। स्थानीय तहलाई कसरी चलाउँदै हुनुहुन्छ? त्यस विषयमा के सोच्नुभएको छ?

    हो, यो नगरपालिकामा मात्र होइन, देशका धेरै मानिसहरूले तातोपानी नाकाबाट रोजीरोटीको व्यवस्था गरेका थिए। तर यो नाका सुचारु नहुँदा केही वर्षदेखि धेरैलाई घर चलाउन गाह्रो भएको छ। व्यक्तिको निजी जीवन र परिवार मात्र होइन, सिंगो मुलुकलाई नै ठूलो परिमाणमा राजश्व बुझाउने नाका बन्द हुँदा राज्यलाई नै असीमित क्षति भएको छ, भइरहेको छ।

    तर पनि हामी नगरपालिकाले मात्र यसमा गर्न सक्ने त केही होइन। यति हुँदाहुँदै पनि हामीले विभिन्न दबाब समूह तथा राजनीतिक, कूटनीतिक तवरबाट नाका संचालनका लागि निरन्तर प्रयत्न जारी राखेका छौँ। अबको केही महिनामा परिणामहरू देखिएला। कम्तीमा नयाँ सरकारको केही समय हेरौँ।

    सँगै तातोपानी नाका र स्थानीय तह संचालन फरक कुरा हो। स्थानीय तह संचालन हुने बिधि, प्रक्रिया र महत्त्व फरक छ। यो नाका नचलेको घटनाबाट हामीले के बुझ्नुपर्छ भने अब आत्मनिर्भर आर्थिक प्रणालीको विकास नगर्ने हो भने हामीलाई जुनसुकै बेला यस्ता अप्ठ्याराहरू आइरहनेछन्।

    नगरपालिकाको पुनर्निर्माणको अवस्था कस्तो छ? अब कति समयमा सक्ने योजनामा हुनुहुन्छ?

    निजी आवास पुनर्निर्माणको कुरामा परिणाम उत्साहजनक छ। करिव ८० प्रतिशत लाभग्राही दोस्रो किस्ताका लागि सिफारिस भएका छन् भने पछिल्ला दिनमा यो गति झनै बढेको छ। तर अन्य सरकारी संरचनाहरू भने सुस्त गतिमा देखिएका छन्। कतिपय संघसंस्थाहरूले संझौता गर्ने तर काम नगर्ने गरेकाले यस्ता संरचनाहरू बेवारिसे जस्ता छन्। अब हामी यी सबैको तथ्यांकका आधारमा तोकेको समयमा परिणाम दिन लागाउने र परिणाम दिन नसक्ने संस्थाहरूलाई बिदा गर्ने तयारीमा छौँ।

    खासगरी निजी आवाससँग सम्बन्धित अन्य समस्याहरू पनि छन्। जनताका गुनासाहरू छन्। कतिपय बस्तीहरूबाट स्थानीयहरू विस्थपित भई हामीले सिफारिस पठायौँ। तर माथिबाट फर्छ्यौट भएको सूची आएको छैन। अब उनीहरूलाई के गर्ने भन्ने समस्या छ।

    हामी आफूले सक्ने र पुनर्निर्माण प्राधिकरणमा पठाउनुपर्ने समस्यालाई संकलन गरी केलाउँदै छौँ। हामी आफैँ नै प्राधिकरण केन्द्रमा गएर समस्याबारे छलफल गरेका पनि छौँ र तत्काल फेरि जाँदै छौँ, गुनासाका पोकाहरू लिएर। अब हामी हाम्रै निर्णयमा जनताका समस्या समाधान हुने सहज उपाय खोजिरहेका छौँ। केही महिनाभित्र सहज वातावरण बन्ने संकेत देखेका छौँ।

    जनताको दैनिक जीवनमा अपरिहार्य खानेपानी, स्वास्थ्य, शिक्षा, सडकलगायतको विकासका काम कस्तो हुँदै छन्?

    हामी चैत महिनालाई सहभागितामूलक विकासको योजना बनाउने र बैशाखलाई योजना समुदायको बीचमा छलफल गर्ने महिनाको रूपमा प्रयोग गर्दै छौँ। खानेपानी, स्वास्थ्य, शिक्षा, सडकलगायत अन्य धेरै कुराहरूका बारेमा हामीले योजना बनाउनुपर्नेछ। हामीकहाँ स्रोत होइन, सोचको कमी छ। हामीले विकसित सोच बनाउन नसक्दा हाम्रा अपार संभावनाहरू समस्याका रूपमा छन्। अहिले हामीकहाँ यहाँले चर्चा गर्नुभएका कुनै पनि विषयमा ठूला समस्याहरू छैनन्। सानातिना समस्याहरूलाई तुरुन्तै सुल्झाउने प्रयास गरेका छौँ।

    विकास बजेट सायद अन्य स्थानीय तहको तुलनामा हामीकहाँ सहजताका साथ कार्यान्वयन भइसकेको छ। विकास निर्माणका कामहरू स्थानीय तहमा दिएर विकेन्द्रित शासनको अभ्यास भइरहेको छ। कुनै पनि संवैधानिक अधिकार कुनै एक व्यक्तिको हातमा हुन्छ भन्ने कुरा गलत बुझाइ हो। म यस नगरपालिकाको प्रमुख भएकाले नगर सरकार संचालनको प्रमुख दायित्व र जवाफदेहिता मेरो नै हो तर म सबै जनप्रतिनिधिको नेतृत्व भएकाले म सामूहिकतामा विश्वास गर्छु। म व्यक्ति नभएर सरकार हुँ। सरकार व्यक्तिगत तवरले होइन, ऐन, कानुन र विधि विधानले चल्छ। त्यसैले मेरो हातमा केही छैन, जे छ, संवैधानिक व्यवस्थामा छ। त्यसलाई ऐन, कानुन बनाएर लागू गर्ने कुरा सामूहिकतामा आधारित छ।

    संभावनाको हिसाबले नगरपालिकामा धेरै स्रोतहरू छन्। त्यसलाई आगामी चार वर्षमा कसरी प्रयोगमा ल्याइँदै छ?

    म फेरि दोहोर्‍याउँछु कि हामी स्रोत नभएर होइन, सोच नभएर अलमलिएका छौँ। अर्को हाम्रो संस्कार नै कामभन्दा कुरा धेर गर्ने खालको छ। अब हामीले दीर्घकालीन सोच बनाएर काम गर्नुपर्नेछ। कतिपय स्रोतहरू पहिचानका लागि विज्ञताको जरुरी छ। हामी विज्ञहरूको समेत सहयोग लिई सबै खाले स्रोतहरूको पहिचान खोजी तथा संकलन गर्ने योजनामा छौँ। धेरै स्रोतहरू त तुरुन्तै प्रयोगमा ल्याउन तथा वर्षैपिच्छे संकलन गर्न सकिने किसिमका छन्। तर कतिपय स्रोतहरूबारे विस्तारै काम गर्नुपर्ने अवस्था पनि छ। जे होस्, हामी चार वर्षभित्र यस नगरका मानवीय, प्राकृतिक, वातावरणीयलगायत सबै स्रोतहरूको खोजी, पहिचान, संकलन र प्रयोगमा हाम्रो विशेष ध्यान जानेछ।

    म यो नगरपालिकालाई समृद्ध बनाउने काममा आफूले आफैँलाई पनि पत्यार नलाग्ला जस्तो द्रुत गतिमा काम गरिरहेको छु। म यसरी जनताको काममा खटिन्छु भन्ने अरूले त विश्वास गरेका थिएनन् नै, म आफैँलाई यसरी जनकार्यमा अभ्यस्त गराउन सकुँला भन्ने लागेको थिएन।

    चुनावी ऐजेण्डा कतिको पूरा गर्न सक्छु जस्तो लाग्छ?

    पूरा गर्न नसकिने काम मैले बोलेको छैन। तर कतिपय कामहरू समयमै सक्न नसकेको जस्तो महसुस भएको छ। काम गर्दै जाँदा यस्तै हुँदो रहेछ। तर अब जनताका साना मसिना कामहरूलाई तुरुन्तै सम्पन्न गर्न तदारुकताका साथ लागिनेछ।

    विकास निर्माणको काममा आफ्नै स्रोत र साधनलाई कतिको जोड दिनुभएको छ?

    यो लोकप्रिय कुरा त हो तर संभावना रहेनछ। मलाई पनि सुरुसुरुमा सबै काम स्थानीय स्रोत साधनबाटै गर्नुपर्छ र गर्न सकिन्छ जस्तो लाग्थ्यो। तर सबै ठाउँमा यो कार्यान्वयन नहुँदो रहेछ। सामान्य उदाहरणका लागि गाउँमा घर बनाउने काम त गाउँकै मानिसहरूबाट संभावना होला जस्तो लाग्थ्यो तर कुनै पनि गाउँमा गाउँका मानिसहरूले मात्रै संभव भएन र अहिले हरेक गाउँमा बाहिरबाट आएका मानिसहरूले पुनर्निर्माणमा सहयोग गरिरहेका छन्। यस्तै अवस्था हरेक ठाउँमा छ। यसको मतलब स्थानीय स्रोत साधनलाई बेवास्ता गर्नुपर्छ भन्ने होइन, तर सबैतिर यो संभव रहेनछ भन्ने बुझाइ मात्रै हो। संभव भएसम्मका स्थानीय स्रोत, साधनको प्रयोगलाई हामीले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।

    जडिबुटी उत्पादनको हिसाबले पनि बाह्रबिसे नगरपालिकालाई चिन्न सकिन्छ, कस्तो संभावना देख्नुभएको छ?

    हामी कहाँ धेरै ठूलो मात्रामा नहोला। केही मानिसहरूलाई रोजगारी र केही उद्योग संचालन गर्न मिल्ने गरी जडिबुटी संकलन तथा उत्पादन र प्रशोधन गर्न सकिने संभावनाहरू हामीले देखेका छौँ। हाम्रा उच्च पहाडी तथा हिमाली भेगहरू जडिबुटीका लागि उर्वर क्षेत्र हुन्। यी क्षेत्रहरूको अध्ययन गरी हामी यो कामलाई पनि अघि बढाउनेछौँ।

    तपाईंको कार्यकालमा बाह्रबिसे नगरवासीले आफ्नो नगरपालिकालाई कस्तो पाउनेछन्?

    सबैभन्दा पहिले बाह्रबिसे बजार क्षेत्रलाई सफा सुग्घर बनाउने, त्यसपछि यसलाई व्यवस्थित, आकर्षक र रमणीय बनाउने मेरो पहिलो लक्ष्य छ। यसैअनुसार मैले काम सुरु गरिसकेको छु।

    नगरपालिकाको नाम नै यही बजारका कारण रहेकाले यसमा मेरो पहिलो ध्यान छ। यहाँका नौवटा वडाहरूलाई फरक फरक विशेषताको केन्द्र बनाउने मेरो सपना छ। अरू धेरै नसके पनि एउटा वडामा एउटा पर्यटक आकर्षणको केन्द्र बनाउने मेरो चाहना छ। यो संभावना पनि छ।

    हामी विकास निर्माणमा मात्रै केन्द्रित भएर सुख पाउने छैनौँ। संविधानले दिएका अधिकार क्षेत्रका ऐन, कानुनहरू बनाउने काम पनि निकै चुनौतीपूर्ण छ। यो नियम, कानुुन बनाउने काम त अतिझन्झटिलो होला जस्तो लाग्दै छ। काम गरेको परिणाम पनि नदेखिने, नगरी पनि नहुने। यसले पनि लामै समय लिन्छ जस्तो छ। ऐन, कानुन नै बनाउने कुरामा हतारिएर मात्रै पनि पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ।

    म यो नगरपालिकालाई समृद्ध बनाउने काममा आफूले आफैँलाई पनि पत्यार नलाग्ला जस्तो द्रुत गतिमा काम गरिरहेको छु। म यसरी जनताको काममा खटिन्छु भन्ने अरूले त विश्वास गरेका थिएनन् नै, म आफैँलाई यसरी जनकार्यमा अभ्यस्त गराउन सकुँला भन्ने लागेको थिएन। अहिले त यस्तो बानी परिसक्यो कि हरेक दिन जनताका बारेमा केही काम गरिएन भने के हराए के हराएजस्तो लाग्न थालिसक्यो।

    मलाई काठमाडौंको बसाइभन्दा गाउँगाउँमा जनताका गौँडागल्फा र खेतबारीको बसाइ नै प्रिय लाग्न थालेको छ। मैले यो स्वाङ पारेको होइन।

    मैले म आफू जति क्रियाशील छु, मेरा कर्मचारी साथीहरूलाई समेत यही गतिमा काम गर्न प्रेरित गरिरहेको छु। कर्मचारीलाई रिस त उठ्दो हो तर पनि मेरा जनप्रतिनिधि सहकर्मी र कर्मचारी साथीहरूले पनि मेरो नगर समृद्ध बनाउने अभियानलाई विना शर्त साथ दिनुभएको छ।

    म अहिले यही गर्छु भनेर सार्वजनिक गर्न चाहन्नँ तर चार वर्षभित्र यस नगरपालिकाको विकासमा कायापलट गराउने काम गरेर देखाउँछु। नगरको विकासबाहेक मेरो अन्य कुनै प्राथमिकता छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]