|

पर्वत : उद्यमशीलता विकाससम्बन्धी पढाइ मुलुकमै पहिलो पटक प्रदेश ४ को राजधानी पोखरामा हुने भएको छ। पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकाससम्बन्धी चार वर्षे स्नातक तहको पाठ्यक्रम पढाइ हुने भएको हो। 

उद्यमशीलता विकासद्धारा आर्थिक समृद्धि हासिल गर्ने तथा समग्र देश विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेर देशमै पहिलो पटक पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयमा पढाइ हुने भएको हो। मानविकी तथा सामाजिकशास्त्र संकायमा उक्त कार्यक्रम लागु गरिने भएको छ। 

स्नातक तहमा कार्यक्रम लागु गर्नका लागि अहिले पाठ्यक्रम विकास गर्ने काम अन्तिम चरणमा पुगेको उपप्राध्यापक डा. अजय थापाले जानकारी दिए। उद्यमशीलता विकाससम्बन्धी विषयको स्नातक तहको कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले निजी क्षेत्रमा उद्यमशीलता, सामुदायिक उद्यमशीलता  र उद्यमशीलता विकास सहजकर्ता जस्ता विषयमा विशिष्टीकरण गर्न पाउने व्यवस्था गरिनेछ।

उद्यमशीलताविकास कार्यक्रमको पाठ्यक्रम विकासकालागि बिभिन्न सरोकारवाला निकाय र दातृ निकायको सहभागितामा पोखरामै तीन दिने कार्यशाला पनि भएको छ। उद्योग मन्त्रालय एवं लघुउद्यम विकास कार्यक्रम, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम नेपालको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले तीन दिने कार्यशाला आयोजना गरेको हो।

कार्यशालामा नेपाल सरकार उद्योग मन्त्रालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, लघुउद्यम विकास कार्यक्रम, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम नेपाल लगायतका प्रतिनिधि र उद्यमशीलताविकाससम्बन्धी विषय र विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.