|

कपिलवस्तु : सामाजिक विकासमन्त्री सुदर्शन बरालले मातृभाषाको संरक्षण र विकासका लागि प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने बताएका छन्। भाषा, संस्कृतिको संरक्षण गर्दै शिक्षाको मूलप्रवाहीकरण र आधुनिकीकरणका लागिसमेत विश्वविद्यालय अनिवार्य रहेको मन्त्री बरालको भनाइ छ। 

मंगलबार कपिलवस्तु सदरमुकाम तौलिहवामा 'मदरसा शिक्षा मूलप्रवाहीकरणका चुनौती र समाधानका उपायहरू' विषयक संवाद कार्यक्रममा सहभागी मन्त्री बरालले मुस्लिम बाहुल्य रहेको कपिलवस्तुमा शिक्षाको क्षेत्रमा प्रदेशस्तरीय आयोग गठन गरी अगाडि बढ्ने बताए। प्रदेश सरकारको सुरुवाती चरण भएकाले छलफल, समन्वयका आधारमा प्रदेश सरकार जनताको पहुँचमा पुर्‍याउने काम गर्न लागेको पनि उनले बताए। 

प्रदेश ५ सरकारको मूल मन्त्र नै ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र रोजगार, जनताको पहँचमा सरकार’ भन्ने रहेकाले प्रदेशभित्रका सबै जिल्लाको मातृभाषाको संरक्षणमा आफू लागिपरेको बताए। माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री बरालले भने, ‘सरकारले धार्मिक विद्यालयलाई मूलप्रवाहीकरणमा ल्याउँछ, साधारण शिक्षाको समकक्षी शिक्षा प्रवाह गर्न सहयोग गर्छ।’ 

दर्ता भएका मदरसाले पाउने अनुदान रकम विभेदपूर्ण भएको भन्दै मुस्लिम जागरण मंच, कपिलवस्तुका अध्यक्ष मेराज खानले मदरसाको चल/अचल सम्पत्ति राज्यले संरक्षण गरी अभिलेख राख्ने गरी मदरसा मूलप्रवाहीकरण कार्यलाई अगाडि बढाउनेमा जोड दिए।

मन्त्री बराल मंगलबार नै नेकपा माओवादी केन्द्र कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमा सहभागी भए। उक्त अवसरमा उनले प्रदेशको स्थायी राजधानीको विषयमा प्रदेशका १२ वटै जिल्लाका जनताको प्रतिनिधित्व हुने गरी गरिने बताए। तत्काल राजधानीको विषयमा छलफल नचलेकाले न्यायोचित तवरले नै स्थायी रूपमा राजधानी तोकिने उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.