घटना स्थलतिर प्रहरी
दार्चुला : भारतलाई मात्रै फाइदा हुने गरी जिल्लाको उत्तरी क्षेत्रमा मनोमानी पुल बनाउने तर नेपालीलाई आवश्यक पर्ने ठाउँमा पुल बनाउन नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन्।
गत शुक्रबार व्यास गाउँपालिका–२ का स्थानीयले तल्ला दुम्लिङमा महाकाली नदीमाथि पुल लगाउन खोजेका थिए तर भारतीय पक्षले नेपालीहरुलाई पुल बनाउन दिएका थिएनन्।
भारतीय पक्षले नेपालीहरुलाई पुल बनाउन नदिएको र नेपाल सरकार तथा राजनीतिक दलहरुले नेपालीहरुलाई सहयोग पुग्ने गरी पुल बनाउन सहयोग नगरेको भन्दै स्थानीय आक्रोसित भएको स्थानीयको भनाई छ।
जिल्ला प्रशासन कार्यालयमै पटक–पटक निवदेन दिएर नेपालीहरुलाई सहज हुने स्थानमा पुल लगाई दिन आग्रह गरे पनि स्थानीयको माग सम्बोधन हुन नसकेको स्थानीय हरकसिह बुढाथोकी बताउँछन्। भारतीयहरुले आफूले चाहेको ठाउँमा पुल लगाउन पाउने हामीले नपाउने ? स्थानीय प्रश्न गर्छन्।
नेपाल सरकारले पुल निर्माण गर्न भारतीय पक्षसँग समन्वय नगरे आफूहरुले भारतलाई मात्रै फाइदा हुने र नेपालीहरुलाई कुनै फाइदा नहुने क्षेत्रमा राखिएका पुलहरु भत्काउने नाम नबताउने सर्तमा राप्लाका एक स्थानीयले जानकारी दिएका छन्। ‘हामीलाई पायक पर्ने ठाउँमा पुल राख्न नदिए नेपालको बस्ती नै नभएको तम्बाकु र नजाङ्मा राखिएका पुलहरु भत्काउँछौँ,’ उनले भने।
उत्तरी सीमा क्षेत्रमा स्थानीयले पुल लगाउन गरेको प्रयास र यसबाट उत्पन्न हुन सक्ने थप जटिलताका विषयमा छलफल गर्न दिउँसो जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकसमेत बसेको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ।
घटनास्थलतिर प्रहरी
भारती पक्षले पुल निर्माण गरेको क्षेत्रसम्म पुग्न दुम्लिङ्बाट झण्डै ४ घण्टा लाग्ने गर्दछ। नेपालतिर बस्ती नै नभएको ठाउँमा महाकाली नदीमाथि पुल निर्माण गरेको भारतले नेपाली बस्तितिर भने पुल निर्माण गर्न दिएको छैन। यही कुरालाई लिएर स्थानीय नेपालीहरुले भारतले बनाएका पुलहरुसमेत भत्काउने भन्दै उक्त स्थानतिर गएको खबर आएकाले वास्तविकता बुझ्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख जनकबहादुर शाहीले जानकारी दिएका छन्।
‘सुन्सेरा प्रहरी चौकी र दुम्लिङ प्रहरी चौकीबाट प्रहरी खटाएका छौँ। पछिल्लो जानकारीका लागि सम्पर्क हुन सकेको छैन।’ डिएसपी शाहीले भने।
सीमा क्षेत्रमा भई रहेको गतिविधि र दुम्लिङ्को अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली पनि घटना स्थलतर्फ टोली खटाएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति अम्बिकाप्रशाद जोशीले जानकारी दिएका छन्।
अहिले नेपाली सेनाको एक टोली उक्त क्षेत्रको निरीक्षण भ्रमणमा छ। विगत एक हप्तादेखि व्यास गाउँपालिकाको बुँदी क्षेत्रमा रहेको नेपाली सेनाले अहिले तल्लो दुम्लिङ्मा अस्थायी क्याम्प स्थापना गरेर उत्तरी सिमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ।
चैत्र ८ गते नेपाली सेनाको दिपालय पृतनाका पृतनापति झंकबहादुर कठायतले उत्तरी सिमा क्षेत्रको अवलोकन भ्रमण समेत गरेका थिए। त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति नै नहुने र भारतीयले मनोमानी गर्ने गरेका समाचारहरु सार्वजनिक भएपनि नेपाली सेनाले उत्तरी सीमा क्षेत्रमा चाँसो देखाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।