|

ओखलढुंगा : ओखलढुंगाको पूर्व–पश्चिम जोड्ने मोलुङ खोलाको पक्की पुल ठेकेदारको लापरबाहीका कारण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन। दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको पुल ठेक्का लागेको पाँच वर्षमा पनि निर्माण हुन नसकेको हो।

ठेक्का लागेको चार वर्षपछि गएको वर्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले शिलान्यास गरेका थिए। निर्माण कार्यले गति लिन नसक्दा पुलको एकातर्फको पिलरसमेतको काम हुन सकेकोे छैन। पाइल फाउण्डेशन’ प्रविधिबाट निर्माण गरिने भनिएको पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्न १८ महिना लागेको थियो। 

जिल्लाको मोलुङ र सुनकोशी गाउँपालिका जोड्ने महत्त्वपूर्ण मोलुङ पुल निर्माणमा ठेकेदार पक्षले विविध प्राविधिक कारण देखाउँदै आएको छ। पुल निर्माणको जिम्मा पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रवीन्द्र लामाले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिले सब–कन्ट्रयाक्टर लामा आफैँ काम छाडेर भागेपछि निर्माण अलपत्र परेको ठेकेदार कम्पनीका प्रमुख भीमबहादुर साउदले बताए। ‘सबै काम गर्छु भनेर विश्वासमा मैले उसलाई काम दिए“। स्काभेटर नै उपलब्ध पनि गराएँ। तर उसले काम गरेन’, साउदले भने।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख विजयमुनि बज्राचार्यले हालसम्म ठेकेदारले झण्डै ५० लाख बराबरको मात्र काम गरेको बताए। पटक पटक ताकेता गर्दा पनि सब–कन्ट्रयाक्टरको बदमासीले गर्दा काम नभएको बज्रचार्यको भनाइ छ। सुरुमा तीन करोड ३२ लाख ५५ हजार एक सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइनपश्चात् पाँच करोड ६९ लाख २४ हजार पाँच सय ९८ रुपैयाँ पुर्‍याइएको छ। स्वीस सरकारको सहयोगमा निर्माण हुन लागेको पुलको ठेक्का जिल्ला विकास समितिले लगाएको हो। यसको प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी) ले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.