पीडैपीडामा बाँचेको परिवार

|

पर्वत  : यदि तपाईंले बागलुङदेखि चितवनको मुगलिङ वा आबुखैरेनीदेखि काठमाडौंसम्म बसमा यात्रा गर्दा सारंगी बजाउँदै हिँड्ने एकजना युवा देख्‍नुभएको छ भने उनी हुन् बागलुङको गलकोटस्थित खयरगाउँका २४ वर्षीय राजु गन्धर्व। 

उनी त्यस्ता मिहिनेती सारंगीवादक हुन् जो घर-घर मात्र पुग्दैनन् त्यस क्षेत्रमा चल्ने बसका यात्रुलाई पनि मनोरञ्जन दिन्छन र मासिक एक लाख रुपैयाँ आम्दानी गर्न सफल छन्। सुरुमा उनलाई देख्ने जो कोहीले पनि उनको यो वास्तविकतामा विश्वास गर्दैनन्। नमिलाइ काटिएको कपाल,अनुहारमा काला धब्बा भएका राजुले गीत गाएको सुन्नेले उनको रुप भन्दा कला मात्र देख्छन्। आफ्नो कला र गलाले मोहित मार्ने राजु सारंगीको गीतसँगै आफूले पनि गीत गाउँदै पैसा उठाएर जीविका चलाउँछन्। 

धेरैजसो समय बागलुङदेखि मुग्लिङ चल्ने गाडीहरुमा भेटिने उनी त्यसबाहेकका समयमा बजारका प्रत्येक घर घरमा सारंगी रेट्दै हिँडिरहेका भेटिन्छन। सारंगी रेट्दै गरेको अवस्थामा उनी पर्वत सदरमुकाम कुश्मा बजारको एक पसलमा देखिए। धेरै घरमा गीत गाएको भएर होला उनको स्वर फाटेको जस्तो सुनिन्थ्यो, यद्यपि, बाँच्नका लागि उनले गरेको यो प्रयास उनका लागि मात्र होइन अरुका लागि पनि उदाहरणीय छ । 

कुराकानीको शिलशिलामा सारंगी बजाएर पेट पाल्न सम्भव छ? भन्ने प्रश्नको जवाफमा राजुले भने, ‘गरे त पेट पाल्न सकिन्छ। यस क्षेत्रमा म नगएको कुनै ठाउँ छैन। महिनामा लगभग एक लाख रुपैयाँ कमाइ हुन्छ। गाडीमा हिँड्दा र घर घरमा हिँड्दा पाँचदेखि डेढ दुई सय रुपैयाँ पनि एउटै मान्छेले दिन्छन्। आबुखैरेनीदेखि काठमाडौंमा ओहोरदोहोर गर्दा बढी पैसा मिल्छ। यतातिर बजारमा मेला लाग्दा एक दिनको चार पाँच हजार दिएर सारंगी बजाउन बोलाउँछन्।’

पेसा र व्यवहारमा इमानदार देखिने उनले सबै पैसा भने आमालाई दिने रहेछन्। आमाले नै सबै घर व्यवहार चलाउने गरेको भन्दै उनले थपे, ‘बीच-बीचमा अलि बढी खर्च भयो। दिदीले आत्महत्या गरी त्यहीवेलामा खर्च भयो। अहिले त बैंकमा पाँच सात लाख रुपैयाँ मात्र छ होला।’

पीडैपीडाको परिवार

घर परिवारको प्रसंग जोडिँनासाथ उनी अलि झसक्क हुँदै भक्कानिए। उनका गहभरि आँसु देखिँदै थिए, त्यहीवेला अलि मधुरो स्वर पार्दै उनले आफ्नो परिवारको पीडा सुनाए। उनी भन्छन, ‘मेरो परिवारमा पीडैपीडा छ। मेरो भाउजूको आन्द्रामा घाउ थियो उहाँ बित्नुभयो। म घरको छोरामध्येको माइलो हुँ। कारण त केही थाहा पाउन सकिएन तर मेरी दिदीले भुण्डिएर आत्महत्या गर्नुभयो। त्यसको अलि समयपछि बहिनीको पनि मृत्यु भयो। बहिनीलाई मुटुमा समस्या थियो। त्यही रोगले खायो। भाउजू र दिदीहरुको मृत्युले ९ कक्षामा पढ्दै गर्दा म स्कुल जान छाँडेँ। परिवारको पीरले भाइको पनि त्यति राम्रो होस छैन। उसको दिमागले काम गर्दैन। घरमा ६० वर्षकी आमा र ६७ वर्षका बुबा हुनुहुन्छ। बुबाले पनि खासै केही मेसो पाउनुहुन्न घर चलाउने आमाले हो खर्च जुटाउने मैले हो।’

राजुको परिवारबाट दाई र दोस्री भाउजू अलग्गिएर बसेका छन भने, राजु, उनका भाई, बुबा र आमा एकातिर छन्। जग्गा जमिन दाइ भाउजूले नै कमाएका छन् भने राजुले आफ्नो परिवारलाई सारंगी रेटेर पालनपोषण गरिरहेका छन्। 

घरका कुरा गर्दा दुःखी देखिएका उनी विवाहको प्रसंग कोट्याउँदै अब विवाह पनि त गर्ने होला नि ? साथी चाहिएन ? भनेर सोध्दा अलि फ्रेस मुडमा आए। अलि लजाएजस्तो गरेर मुसुक्क हाँस्दै राजु भन्छन्, ‘२४ को भइयो बा आमाले ले नि अब बिहा गर्ने भनेका छन्। यसो कतै केटी पाए त गर्ने विचार छ। हेरम के हुन्छ।’

हरेक दिन उत्तिकै पैदल र उत्तिकै बस यात्रा गर्ने राजु गन्धर्व पेसाबाट थाकेको अनुभव गर्दैनन्। सारंगी आफ्ना पुर्खाहरुले पनि बजाएका कारण यो बजाउन आफूलाई पनि आनन्द मिल्ने उनको भनाइ छ।

जागिर पाइएन भन्दै विदेश हानिने युवाप्रति उनी अलि कडा देखिँदै भन्छन्, ‘विदेशमा गएरजस्ता काम नि गर्न मन लाग्ने यहाँ त्यही काम गर्न लाज मान्ने।  जानेको काम लाज नमानी गर्ने हो भने यहाँ बा आमाले पकाएर खान दिएको खाँदै राम्रो कमाई हुने रहेछ। दुःख त हुन्छ नि। अब बसीबसी खान पुगे पो दुःख नगर्ने। कि त भोकै बस्न सक्नपर्‍यो कि त दुःख गर्न पर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.