|

काठमाडौं : आफ्नो जिन्दगीबाट बालापन हटायो भने कस्तो होला जिन्दगीको परिभाषा? आमाबाट बच्चाप्रति ममता हरायो भने कस्तो होला आमाको परिभाषा? कस्तो होला नेपाली सांगीतिक क्षेत्रबाट दीपक जंगमको नाम हटायो भने? कति टुहुरो होला नेपाली संगीत क्षेत्र?

नेपाली सांगीतिक क्षेत्रमा पाँच दशकभन्दा बढी समय तन-मन सुम्पिएका जंगम आज पनि एल्बम र नयाँ गीत श्रोता माझ ल्याउन प्रतिबद्ध छन्। गीत/संगीतकै लागि अहोरात्र खटिएका छन् उनी। उनका संगीतमा गाइएका गीतहरू आज पनि जनस्तरमा उत्तिकै लोकप्रिय छन्। कर्णप्रिय छन्। गीत/संगीतमा लाग्ने नयाँ पुस्ताहरूका लागि उनका गीत कखरा नै हुन्। यस्तो लाग्छ, जंगमको जीवन सिंगो नेपाली संगीतका लागि महत्त्वपूर्ण दस्तावेज हो। उनी स्वयंमा एक अभिलेख हुन्।

नयाँ बानेश्वरबाट केही मिनेट पैदल हिँडेपछि भेटिने एउटा घरको कोठाभित्र जंगम आफ्ना हातका अौँलाले हार्मोनियममा नयाँ गीतको ट्युनिङ मिलाउँदै थिए।

नेपाली सांगीतिक क्षेत्रका एक हस्ती पछिल्लो समय बिरामी भए। उनका गीतका लाखौँ श्रोताहरू दु:खी भए तर श्रोताहरू लामो समय दुखी हुनुपरेन। श्रोताको प्रार्थना भगवानले सुने।  केही समयमै उनको एल्बम बजारमा आयो।

उनका गीत नै तीन पुस्ताले सुनिसकेको छ। उनी भन्छन्, 'बाटोमा हिँड्दा साना बच्चादेखि वृद्धसम्मले आफ्ना गीत  सँगसँगै गाएको सुन्छु, छुट्टै आनन्द आउँछ।' तर खतरै गरेँ भन्नेचाहिँ उनलाई लाग्दैन। उनी थप्छन्, 'प्रहरीले अपराधी समातेँ भनेर के नाक फुलाउनु? उसको काम नै त्यही त हो।' 

एउटा कथन छ, 'रूखमा फलेको आँपलाई नजर लगाउने टन्नै हुन्छन् मान्छेहरू तर आँप बन्न एउटा रूखले कति असिना, पानी, हावा, हुण्डरी सहेको हुन्छ, त्यतातिर ध्यान दिँदैनन्।' उनका संगीतमा आजसम्म पाकिस्तानी गायक मेहदी हसन (कारणवश ती गीत बजारीकरण हुन पाएनन्), गुलाम अली, नारायण गोपाल, अरूणा लामा, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दीपक खरेल, आनन्द कार्कीबाट पछिल्ला पुस्ता रामकृष्ण ढकाल, कर्ण दास, अजर जंगमसम्मले आवाज दिएका छन्। उनले आफ्नो संगीतमा  काम गरेका  गायकसँगको सहकार्य बढो रोचक रहेको बताए। यसै क्रममा मेहदी हसन, गुलाम अली, नारायण गोपालको सहकार्यका रोचक प्रसंगहरू उनले सुनाए यसरी।

मेहदी हसन

जंगम मेहदी हसनका ठूला फ्यान थिए। त्यसबेला उनी नेपाल प्रज्ञाप्रतिष्ठानमा कार्यरत थिए। सांगीतिक कार्यक्रमका लागि एकेडेमीका कलाकारसहित उनी २०३७ सालमा  पाकिस्तान पुगे। मेहदी हसनको देशमा पुग्दा कथम कदाचित हसनसँग भेट भए उनकै गजल सुनाउन पाइने आशमा हसनका पन्ध्र/बीसवटा गजल घोके। पाकिस्तानको विभिन्न शहरमा उनले हसनको गीत सुनाए। एक दिन त्यहाँको पत्रिकाले 'नेपाल भन्ने देशबाट आएको एउटा व्यक्तिले सबै भाषाको गीत गाउन सक्ने खुबी राख्छ। यति मात्र होइन, उसले मेहदी हसनका गीतलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्‍यो' भन्ने समाचार छाप्यो।

जंगम भन्छन्, 'यो खबर प्रकाशित भएसँगै हसन साहेब मलाई भेट्न आउनुभयो, मलाई अँगालो हाल्नुभयो र सँगै खाना खाने अफर गर्नुभयो।'  छोटो समयमै दीपक हसनका नजिकका मित्र बन्ने अवसर पाए। उनले यो क्षणलाई जिन्दगीको एक अविष्मरणीय क्षण मान्छन्। उनी थप्छन्, 'हसन साहेब ०४० सालमा काठमाडौं आउनुभयो।'

उनलाई नेपाल ल्याउन जंगमले अगुवाइ गरेका थिए। हसन नेपाल  बसुन्जेल जंगम नै लियाजो अफिसर भएर साथै बसे। केही दिनपछि हसन फर्किए। जंगम भन्छन्, 'केही समयपछि चाँदनी शाहका छवटा गीत उर्दूमा भावानुवाद गरियो। मेरो संगीत र हसन साहेबको आवाजमा रेकर्ड भयो तर ती गीत बजारीकरण भएनन्।'  यसो भन्दै गर्दा उनले मुख अमिलो बनाए।

गुलाम अली

खासमा जंगमलाई अलीसँग जोड्ने पुलको काम मेहदी हसनले गरेका हुन्। २०४१ सालको कुरा हो। पाकिस्तानी राजदूतावासबाट 'भोलि राजदूतावास हजुरको परिवारसहित आउने बाटो हेरेर बस्नेछ' भनेर फोनमा निम्तो आयो। भोलिपल्ट उनी राजदूतावास गए। त्यो दिन पाकिस्तानको राष्ट्रिय दिवस रहेछ। त्यही कार्यक्रमका लागि गुलाम अली नेपाल आएका रहेछन्। उनले सम्झिँदै भने, 'अली साहेब आएर के छ दीपकजी भनेर भन्दा म त  दंग परेँ।'

अलीको बसाइ पाँच दिनको थियो। अलीले त्यसै बखत जंगमलाई भनेछन्, 'दीपकजी म पनि नेपाली गीत गाउँछु, त्यसका लागि केही पहल गरिदिनुस्।' सुरुमा अलीले जिस्केका होलान् भन्ने लाग्यो रे जंगमलाई तर वास्तविकता भने अलीलाई नेपाली गाउने रहर नै थियो। यति ठूलो गायकले भनेपछि उनले कोसिस गर्ने बाचा गरे। तीन दिनमा चारवटा गीत कसरी गर्ने होला? उनले बेलुका ११ बजे मवीवी शाहको गीतसंग्रह पल्टाए। त्यस संग्रहमा गजल फ्लेवरको 'लोलाएका ती ठूला तिम्रा दुई नजरले' पनि समावेश थियो। त्यही गीतलाई कम्पोज गरे उनले हार्मोनियममा। राती २ बजे मात्र कम्पोज सिध्याए उनले।

'अलीले यो गीत मनपराउनुभएन भने!' 

जंगमलाई गर वा मरको स्थिति आइलाग्यो। उनले भने, 'यो अवसरभन्दा पनि ठूलो चुनौती थियो मेरालागि।' त्यसै बेला उनकी श्रीमती तथा प्रा.डा. बेनी जंगम भित्र पसिन्। उनले थपिन्, 'त्यो रात २ बजे मलाई उठाएर सुनाउनुभयो यो गीत। निद्रामै राम्रो छ भनिदिएँ ताकि हार्मोनियको आवाज बन्द होस्।' उनको कुरा सुनेर मुसुमुसु हाँसेका दीपकले भने, 'पहिलो श्रोता भएपछि राती होस कि बिहान, सुन्नुपरेन त?' दुवैको हाँसो गुंजियो कोठाभरि।

मवीवी शाहको किताब बोकेर भोलिपल्ट बिहान पद्मकन्या कलेज पढाउन गए उनी। आफनो समस्या विद्यार्थीलाई बताएर पढाउँदिन भनेछन् उनले। त्यहीँ बसेर 'किनकिन तिम्रो तस्बीर' पनि कम्पोज गरे उनले। विद्यार्थीहरूले समेत सँगसँगै गाउन थालेपछि उनी ढुक्क भए- यो गीत चल्छ भनेर।

'लोलाएका ती ठूला तिम्रा दुई नजरले', 'किनकिन तिम्रो तस्बीर', 'के छ र दिऊँ तिमीलाई मैले' र 'गाजलु ती ठूलाठूला आँखा' दीपकले तीन दिनमा अलीका लागि तयार पारे। यी सबै गीत अलीले गाए, जुन आज पनि उत्तिकै प्रिय छन् नेपाली श्रोता माझ।

नारायण गोपाल

२०२४ सालको कुरा हो। त्यसबेला गीत रेकर्ड गर्न रेडियो नेपालमा गीत छनोट गर्नुपर्ने नियम थियो। नयाँ होस् वा पुराना गायक, जसले पनि टेष्ट दिनुपर्थ्यो। भर्खरै जुँगाको रेखी बस्दै थियो जंगमको। संगीत सिकेर के गरौँ, कसो गरौँ भइरहेका बेला उनी पनि एउटा गीत बोकेर रेडियो नेपाल छिरे। त्यहाँ नातिकाजी शिवशंकर र नारायण गोपाल थिए। उनी भन्छन्, 'पहिलोपल्ट नारायण दाइलाई मैले त्यहीँ भेटेको हुँ।'

सानो फुच्चे देख्नेबित्तिकै अलिअलि मदिराको तालमा रहेका नारायण गोपालले उनलाई सोधेछन्, 'बाबू, तिम्रो गीत कति मात्राको तालमा छ?' किशोरावस्था, त्यसमाथि तातो रगत, यिनीहरूलाई एकछिन दंग्याउँछु भनेर दीपकले भनेछन्, 'दाइ मेरो गीतको मात्रा १४ तालमा छ।' जंगमको कुरा सुनेर नारायण गोपालले भनेछन्, 'हैट! कसरी हुन्छ यस्तो? १४ मात्राको ताल पनि हुन्छ? तिमीले अहिले गीत नगाऊ, पहिले ताल कन्फर्म भएपछि गाउने हो।' यसो भनेर जंगमलाई किनारा लगाएछन् नारायण गोपालले।

१० मनेटजति स्टुडियोबाहिर बसेका जंगमलाई तबलावादक ईन्द्रलाल श्रेष्ठले उत्सुकताका साथ सोधेछन्, 'भाइ, चौध मात्रामा कसरी गीत गाएका छौ?' जंगमले मुसुक्क हाँस्दै भनेछन्, 'खास केही छैन दाइ, यसो दाइहरूलाई दंग्याउन मात्र हो।' ती दिन सम्झँदा बडो 'फ्रेस' हुने उनले बताए।

ईन्द्रलाल श्रेष्ठलाई कन्भिन्स गराएपछि उनले गाउन पाए। मदिराले लठ्ठ भएका नारायण गोपाल उनको नजिक गएर गीत सुन्न थाले। उनी भन्छन्, 'म पनि के कम, मज्जाले गाइदिएँ।' उनको गीत सुनेर नारायण गोपालले खुसी हुँदै भनेछन्, 'राम्रो गाउँदारहेछौ भाइ।' जंगमले नारायण गोपालको स्वरको नक्कल गरे।

त्यसपछि दुवैको भेटघाट बाक्लिए पनि एकसाथ काम भने गरेनन्। कयौँ वर्ष नजिक भएर पनि काम नगरेको जंगम बताउँछन्। उनले भने ,'२०४०/०४२ सालको कुरा होला, त्यसबेला नारायण गोपालको आवाजको शक्ति र प्रभाव नेपाली सांगीतिक क्षेत्रमा कम हुँदै थियो। कुशल गायक सुस्ताउनु भनेको नेपाली सांगीतिक क्षेत्रका लागि कति क्षति थियो? त्यो कल्पना गर्न सकिँदैन।' त्यसपछि नेपाली सांगीतिक इतिहासबाट एउटा हस्ती हराउन नदिन जंगमले नारायण गोपाललाई पछ्याए। उनी सम्झिन्छन्, 'नारायण दाइ लास्टै सनकी मान्छे हुनुहुन्थ्यो। कन्भिन्स गराउने गाह्रो। गीत राम्रो लागे गर्छु भनिदिने, गीत राम्रो नभए संगीतकारको अनुहार पनि नहेरी हिँड्ने।' उनलाई 'कन्भिन्स' गराउनै छ महिना लाग्ने उनले बताए। 'धन्न मेरो ट्युन मनपराइदिनुभयो।' त्यसपछि नारायण गोपालको आवाजमा गीत रेकर्ड भयो-

मलाई नसोध कहाँ दुख्छ घाउ

म जे छु, ठीकै छु, बिथोल्न नआऊ।

नारायण गोपालले यस्ता कालजयी गीतहरू गाए, जसले नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाउन मद्दत गरे।

माथिका जस्ता अनेकौँ किस्साहरू छन् नारायण गोपालसँग जंगमका। 

दरबारको संदेश अवसरभन्दा चुनौती

२०४४ सालमा जंगमलाई दरबारबाट संदेश आयो। त्यसबेला दरबारिया र बाहिरिया भन्ने चलन हुन्थ्यो। 'म जस्तो बाहिरिया मान्छेलाई दरबारले के संदेश पठायो होला?' उनी चकित सँगसँगै जिज्ञासु बने।

उनले उक्त  संदेश हेरेर नर्भस बने रे! उनले भने, 'चाँदनी शाहले एउटा गीत पठाउनुभएको रहेछ।' दरबारले पनि हाम्रो गीत सुन्नेरहेछ भन्ने लाग्यो रे उनलाई। चाँदनी शाहले गीत सँगसँगै 'यो गीतलाई कुनै पनि हालतमा हिट बनाउनू है' भन्ने संदेश पनि पठाएकी रहिछन् । 'तत्कालीन रानीको सन्देश आग्रहभन्दा बढी दबाब महसुस गरेको थिएँ', उनले भने, 'एउटा गीत उत्कृष्ट हुन संगीत, शब्द र स्वरको उत्तिकै महत्त्व छ। संगीत बरु जसरी हुन्छ, उत्कृष्ट बनाउने थिएँ। एउटा गीत उत्कृष्ट बनाउन स्वर पनि उत्कृष्ट हुनुपर्‍यो।'

त्यसबेलाका जल्दाबल्दा गायक नै नारायण गोपाल थिए। जंगम भन्छन्, 'नारायण दाइ त्यति सजिला मान्छे होइनन्, तर दरबारको आदेश मान्नुको विकल्प पनि थिएन।' यो गीतलाई उचाइमा पुर्‍याउने काम नारायण गोपालको स्वरले गर्छ भन्ने लाग्यो उनलाई। यसअघि पनि जंगमले नारायण गोपालसँग काम गरेका हुनाले उनलाई अनुरोध गर्न गाह्रो भएन। तर यो गीतको तयारी गर्दा २८ वटा ट्युनिङ बनाए रे जंगमले, जसमध्ये दुईवटा छानेर दरबार पठाइयो। 'अहिले बजारमा सुनिएको गीत नै दरबारले छानेको ट्युनिङ हो', उनले सन्तुष्टिको सास फेरे। त्यही गीत थियो-

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा

एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा।

त्यसपछि नारायण गोपाललाई श्रोताहरूले उक्त गीत हरेक ठाउँमा सुनाउन आग्रह गर्थे। उनले नाइँनास्ती गर्दैनथे। 'पछि दरबारबाट चाँदनी शाहले उक्त गीतले आफ्नो चर्चा सर्वत्र भएको भन्दै हामी दुवैलाई धन्यवाद दिएकी थिइन्', सन्तुष्टि उनको अनुहारमा चम्कियो।

पत्रकार/लेखक अशोक सिलवालका शब्दमा भन्दा यति लामो समयसम्म नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएर गज्जबको 'रेकर्ड' बनेका जंगमलाई गीत/संगीतले के दियो? यो प्रश्नमा उनको मौनता हामीले भन्दा देशले बुझ्नुपर्छ। स्रष्टा सम्मानित भए पो देश सम्मानित हुन्छ। स्रष्टा समृद्ध भए पो देश समृद्द हुन्छ।

नागरिकस्तरबाट भने हिजोआज हरेक दिनजसो उनी सम्मानित भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.