चन्दा नदिनेलाई सफाया गर्ने काम मन नपरेर संगठन छाडेँ : गिरी

|
भूमिगत जीवन त्यागेर आफ्नै व्यवसायमा लागेका मकर गिरी। फोटो: थाहाखबर

रौतहट : तराईमा संघर्षरत भूमिगत संगठन त्यागेर रौतहटका एक व्यक्ति आफ्नै व्यवसायमा लागेका छन्। गढीमाई नगरपालिका-७ का मकर गिरीले अहिले गौर नगरपालिका-९ स्थित नापी कार्यालय अगाडि फोटोकपी सेन्टर सञ्चालन गरेर जीविका चलाएका छन्।

६ वर्षअघि जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह)का एरिया कमान्डरको जिम्मेवारी सम्हालेका गिरी यतिखेर फोटोकपी मेसिन सञ्चालन गरी जीविका चलाउँदै आएका हुन्।

गौरका एक मानिससँग चन्दा माग्दा नदिएको भन्दै पार्टी नेतृत्वले सफाया गर्न निर्देशन दिएपछि आफूले संगठन त्यागेको उनले बताए। ‘मधेस मुक्ति भन्दै संघर्षमा उत्रेको पार्टी व्यक्ति हत्यामा लागेपछि पार्टी छाडेको हुँ,’ उनले भने, ‘पार्टी छाडेपछि जीविकाका लागि फोटोकपी सेन्टर सञ्चालन गरेको हुँ।’  फोटोकपी सेन्टरबाट दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुने गरेको गिरीको भनाइ छ।

आत्मसमर्पणपछि व्यवसायमा

०६७ मा संघर्ष त्यागेर स्थानीय प्रशासनसमक्ष आत्मसमर्पण गरेपछि गिरीले नापी कार्यालयकै छेउमा चिया पसल हुँदै फोटोकपी सेन्टर सञ्चालन गरेका हुन्। यसैबाट चारजना परिवारको जीवन चलेको उनी बताउँछन्। गिरीपछि ज्वाला समूहका जिल्ला इन्चार्ज बनेका गढीमाई नगरपालिकाकै शेख कुरान

(शेर सिंह)ले पनि संगठन छाडेका छन्। भूमिगत पार्टी कोब्राका तत्कालीन उपाध्यक्ष पवनकुमार तेली पनि पार्टी छाडेर व्यवसायमा लागेका छन्। जनतान्त्रिक (ज्वाला समूहका) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सन्तपुर दोस्तियाका शक्ति सिंह भनिने जैसी गिरी, जिल्ला सदस्य सूर्य यादव, प्रभु ठाकुर, तराई आर्मीका मिस्टर साका भन्ने अर्जुनप्रसाद, जनतान्त्रित्तक गोइत समूहमा नितेश कुमारले समेत आत्मसमर्पण गरी व्यवसायमा संग्लन रहेको गिरीले बताए।

आत्मसमर्पण गरेकाहरू प्रहरी निगरानीमा

यता, आत्मसमर्पण गरेकाहरूलाई प्रहरीले निगरानीमा राख्न थालेको छ। उनीहरूले पुरानै गतिविधि गर्लान् कि भनेर निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोख्रेलले बताए। अहिले समर्पण गर्नेका नामावली तयार गरी निगरानी बढाइएको प्रहरीको दाबी छ ।

यता, गम्भीर किसिमका आपराधिक गतिविधिमा संलग्न रौतहटका बारुद सिंह भन्ने सुरेन्द्र यादव पक्राउ परेका छन्। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादव अहिले सर्लाही जिल्ला प्रहरी कार्यालय, मलंगवाको हिरासतमा छन्। उनलाई पर्साबाट पक्राउ गरी सर्लाही ल्याइएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए। रौतहटको गरुडा नगरपालिका-२ पोठियाही घर भएका ३५ वर्षका यादव यसक्षेत्रको ठूलो आपराधिका रुपमा चिनिन्छन्।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यान, अपहरण, ज्यान मार्ने उद्योग, संगठित अपराध, हातहतियार खरखजनाजस्ता मुद्दा रहेको एसपी खाँले बताए। भारतमा लुकिछिपी बस्दै आएका यादवविरुद्ध अन्य जिल्लामा पनि आपराधिक मुद्दाहरू विचाराधीन अवस्थामा रहेका छन्।

यादवलाई सोमबार सर्लाही जिल्ला अदालत पेस गरिने र अदालतको आदेशअनुसार कारबाही प्रक्रिया अघि बढाइने सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.