एकोहोरो स्वार्थ राखेर बनाएका पुल भत्काए हौँ : स्थानीय

|

दार्चुला : महाकाली नदीमाथि भारतले एकतर्फी रुपमा निर्माण गरेका आठ पुलमध्ये पाँच पुल नेपालका स्थानीयले भत्काइदिएका छन्। दार्चुलाको व्याँस गाउँपालिका २ का स्थानीयले भारतले एकतर्फी निर्माण गरेका पुल महाकाली नदीमा बगाइदिएका हुन्।

भारतले आफूलाई फाइदा हुने ठाउँमा पुल लगाउने तर नेपालीका स्थानीयलाई अत्यावश्यक रहेका ठाउँमा पुल बनाउन नदिएको भन्दै आक्रोशित बनेका स्थानीयले मंगलबार महाकाली नदीमाथि एकतर्फी रुपमा निर्माण गरेका पुल बगाइदिएका हुन्। तम्बाकु, दोपखे, घाटिबगड, पोला, बुँदी र थिईमा भारतीय पक्षले निर्माण गरेका पुलहरू महाकाली नदीमा बगाइदिएका हुन्।

मंगलबार बिहान दुम्लिङबाट गएका करिब ३२ जना स्थानीयहरूले पुल भत्काएर बगाइदिएको वडाध्यक्ष धीरेन्द्रसिंह बुढाथोकीले थाहाखबरलाई जानकारी दिए। उक्त क्षेत्रभन्दा उत्तरतिर पनि भारतीय पक्षले पुल राखेको हुन सक्ने तथा भौगोलिक जटिलता र दूरीका कारण स्थानीयहरू उक्त ठाउँमा पुग्न नसकेको वडाध्यक्ष बुढाथोकीको भनाइ छ।

भारतीय पक्षले आठ ठाउँमा राखेको थियो पुल

भारतीय पक्षले नेपाल सरकारको अनुमति नलिएरै महाकाली नदीमाथि आठ ठाउँमा काठे पुल लगाएको पाइएको छ। मंगलबार भारतीय पक्षले बनाएका पुल भत्काउन हिँडेका स्थानीयहरूले उक्त जानकारी दिएका हुन्। भारतीय पक्षले तम्बाकु र लखनपुर क्षेत्रमा तीन, थीँई, दोपखे, घाटिबगड, पोला र बुदीमा एकएक काठ पुल राखेको पाइएको वडाध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले बताए। तीमध्ये तम्बाकु, थीँई र दोपखेमा राखिएका पुलहरू स्थानीयले बगाइदिएका हुन्।

प्रहरी भन्छ, दुई पुल भत्काइए

स्थानीय भारतीय पक्षले लगाएका आठ पुलमध्ये पाँच पुल भत्काएको बताएका छन्। जसमध्ये दुई पुल भत्काएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि पुष्टि गरेको छ।

स्थानीयसँगै दुम्लिङबाट प्रहरीको टोलीसमेत पुल लगाइएको क्षेत्रमा गएको थियो। स्थानीयले दुई ठाउँका पुल भत्काएर बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। अन्य ठाउँमा पुल नभई ओहोरदोहोर गर्न महाकाली नदीमाथि राखिएका काठहरू रहेको सुरक्षा स्रोतको भनाइ छ।

काठ तस्करीको मेलो

भारतीय पक्षले आवतजावतलाई सजिलो बनाउन पुल बनाएको बताइएको भए पनि उक्त क्षेत्रबाट काठ तस्करी हुने गरेको वडाध्यक्ष बुढाथोकीले बताए। सिमावर्ती क्षेत्रमा निर्माणमा प्रयोग हुने काठ सबै नेपाली वनबाट भारतीयहरूले लैजाने गरेको स्थानीयहरूले बताएका छन्।

नेपालतिर मानव बस्ती नै नभएको मानवबस्तीबाट निक्कै टाढा पर्ने ती क्षेत्रमा ठाउँठाउँमा वारीपारी तर्न राखिएका काठ र पुल निर्माण गर्न प्रयोग गरिएको काठ नेपाली वन क्षेत्रबाट काटेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए। ‘भारततिर वन नै छैन, पुल बनाउन जतिपनि काठ प्रयोग गरियो त्यो सबै नेपाली वनबाटै काटेर लग्छन्’, अध्यक्ष बुढाथोकीले भने।

पुल बनाउन मात्रै नभएर भारततिर निर्माण सामाग्रीका रुपमा नेपाली वनको काठ प्रयोग हुने तर नेपाली पक्षले यसको रोकथाम कहिल्यै गर्न नसकेको वडाध्यक्ष बुढाथोकीले बताए। भौगोलिक रुपले टाढा र जोखिमपूर्ण रहेको तथा बस्तिबाट झण्डै चार-पाँच घण्टा टाढा रहेकाले वडा स्तरबाट यसको राकथाम गर्न असम्भव रहेको वडाध्यक्षको भनाइ छ।

जानकार तर मौन अपिनाम्पा

भारतले एकतर्फी रुपमा पुल बनाएको क्षेत्र अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्दछ। संरक्षण क्षेत्रका पदाधिकारीलाई उक्त क्षेत्रमा पुल बनेको ती पुलहरूमा नेपाली काठ प्रयोग भएको र नेपालको वनबाट काठ तस्कर हुने गरेको संरक्षण क्षेत्रलाई जानकारी छ।

यो क्षेत्रबाट काठ दाउरा चोरी निकासी र चोरी सिकारी समेत हुने गरेको संरक्षण क्षेत्रको जानकारीमा छ। गत फागुन १६ गते संरक्षण क्षेत्र जिल्ला परिषद्का अध्यक्ष चक्रसिंह ह्याँकीले औपचारिक पत्र लेखेर कार्यालयलाई यो वारे जानकारी दिएका थिए तर उक्त क्षेत्रमा भई रहेको काठ चारी तस्करी रोक्न भने कुनै निकायबाट पनि पहल हुन सकेको छैन। अपीनाम्पा संरक्षण क्षेत्रले ले कर्मचारी खटाएको जवाफ मात्रै दिने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.