भुवनको एक 'कल'ले बनिन् हिरोइन

|

संयोग पनि यस्तो बनिदिन्छ, जसलाई हिरोइन बन्ने सोच नै थिएन, उनै अहिले नेपाली फिल्म क्षेत्रमा स्टार कहलिएकी छन्। अहिलेकी व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हिरोइन बन्ने कुनै इच्छा थिएन। उनै साम्राज्ञी अहिले नेपाली फिल्म नगरीकी चर्चित अनि व्यस्त नायिका बनेकी छन्। फिल्म बजारमा उनको माग बढिरहेकै छ। उनका फ्यान र फलोअर्स पनि उत्तिकै छन्।

ममी नजिक आएर सानो स्वरमा बोलिन्, 'भुवन केसीको फोन आएको छ। फिल्म खेलाउने रे तँलाई। कुरा गर्न खोज्नुभएको छ। ला बोल।’ साम्राज्ञी अकमक्क परिन्। सोधिन्, ‘को भुवन केसी?’

कक्षा १२ को परीक्षा सकेको अन्तिम दिन। हस्याङफस्याङ गर्दै घर फर्किएकी साम्राज्ञीमा अर्कै खुसी थियो। घर छिर्नेबित्तिकै ममीलाई बोलाउँदै उनले भनिन्, 'ममी, परीक्षा सकियो। म पास हुन्छु नि!'

ममी नजिक आएर सानो स्वरमा बोलिन्, 'भुवन केसीको फोन आएको छ। फिल्म खेलाउने रे तँलाई। कुरा गर्न खोज्नुभएको छ। ला बोल।’ साम्राज्ञी अकमक्क परिन्। सोधिन्, ‘को भुवन केसी?’

‘हाम्रो फिल्मको हिरो के', आमाको उत्तर आयो।

उनले मोवाइल समाइन्।

'हलो।'

‘नानु, म भुवन केसी।’

‘हजुर, भन्नु न।’

'नानु, म फिल्म बनाउँदै छु। के तिमी फिल्ममा काम गर्छ्यौ?'

भविष्यमा के गर्ने भन्ने कुनै योजना नभएकी साम्राज्ञीले केही नसोची 'हुन्छ' भनिन्।

भुवनले भेट्न बोलाए। उनी गइन्। भुवनको अफिसमा बसेर साम्राज्ञी र उनकी मामुले फिल्मको स्क्रिप्ट सुने। साम्राज्ञीलाई स्क्रिप्ट मनपर्‍यो। फिल्ममा काम गर्न राजी भइन् उनी।

उनको अपोजिटमा युवास्टार अनमोल केसी अनुबन्धित थिए। त्यस कुराले साम्राज्ञीलाई कुनै असर गरेन। कारण, साम्राज्ञीले अनमोललाई चिन्दिनथिन्। भन्छिन्, 'मेरो अपोजिटमा अनमोल छ भन्ने थाहा भयो तर अनमोल को हो, मैले चिनेकी थिइनँ।'

बुबासँग झगडा गरेर फिल्म सुरु

साम्राज्ञीका बुबाले एउटा विज्ञापनमा काम गरेका थिए। उनलाई थाहा थियो, काम गर्दाको पीडा। तर साम्राज्ञी यस कुरामा अनभिज्ञ थिइन्। बुबाले दु:ख थाहा पाएरै होला, फिल्ममा काम नगर भनेको। तर बुबाको कुरालाई अस्वीकार गर्दै उनले फिल्म खेल्न जिद्दी गरिन्।

ममीले पनि साम्राज्ञीलाई साथ दिइन्। बुबाले साम्राज्ञीकी मामुसँग रिसाएर भनेका थिए, 'तिमीले छोरीको सम्पूर्ण जिम्मा लेऊ अनि मात्र फिल्म खेलाऊ।' आमाले हुन्छ भनेपछि साम्राज्ञीले फिल्म सुरु गरिन्।

थाहा भयो असली पीडा

भुवनले उनलाई फिल्ममा काम गर्नु भनेको 'लेवर वर्क' हो भनेका थिए। तर उनले सोचेकी थिइनन् यत्ति गाह्रो हुन्छ भनेर। 'गाह्रो हुन्छ भन्नुभएको थियो', उनी सम्झिन्छिन्, 'तर त्यति गाह्रो होला भन्ने सोचेकी थिइनँ।'

जाडो/गर्मी केही भन्न नपाउने। घाम भयो भन्न नपाउने। हिँडेर कहाँकहाँसम्म पुग्नुपर्ने। यो सबै साम्राज्ञीका लागि पीडा नै थियो। हेर्दा जति सजिलो छ, आफैँले गर्दा त्यो भन्दा सयौँ गुणा गाह्रो पाइन् उनले काम गर्दा। 'एउटा टेक लिन पनि चारतिरबाट क्यामेरा फिट गरिएको छ। सानो कुरा नमिले पनि फेरि खिचेको छ। ओहो! एकचोटि त सक्दिनँ जस्तै लागिसकेको थियो', उनले अनुभव सुनाइन्।

नयाँ भएर हेपाइ पनि सहनुपर्‍यो

साम्राज्ञी फिल्ममा नयाँ थिइन्। उनलाई उनको 'को-एक्टर'को जस्तो सुविधा उपलब्ध थिएन। टेक सकिएपछि अनमोललाई जुस पिउने सोध्न आइपुग्थे। तर साम्राज्ञीलाई सोध्ने कोही थिएन। 'टेक सकिएपछि अनमोललाई छाता ओडाइथ्यो', उनी सम्झिन्छिन्, 'मलाई कसैले केही वास्ता गर्दैनथे। त्यो बेलाचाहिँ धेरै दु:ख लाग्थ्यो।'

अनमोलका लागि ड्रेस उपलब्ध गराइएको हुन्थ्यो। साम्रज्ञीले आफ्ना लागि ड्रेस आफैँ मिलाउनुपर्ने हुन्थ्यो। आफूले ल्याएको ड्रेस पनि ड्रेसम्यानले राम्रोसँग राखिदिँदैनथे। 'मैले ल्याएका ड्रेसहरू पछि ड्रेसम्यानसँग माग्दा फिर्ता पाउँदिनथेँ', भन्छिन्, 'कहिले हरायो भनेर त कहिले के भनेर टार्थे।'

आफूले कस्तो गरिरहेकी छु। आफ्नो कामबाट टिम सन्तुष्ट छ कि छैन, साम्राज्ञीलाई थाहा थिएन। कारण, साम्राज्ञीलाई त्यहाँ कसैले प्रत्यक्ष प्रतिक्रिया दिँदैनथे। उनी भन्छन्, 'मैले कस्तो गरिरहेकी छु भन्ने नै मलाई थाहा थिएन। कसैले मलाई राम्रो गरेको वा नराम्रो गरेको भन्दैनथे।'

रुष्ट थिइन् साम्राज्ञी

यी र यस्तै कुरामा टिमसँग अलिक रुष्ट थिइन् साम्राज्ञी। सुटिङ सेटमा समान व्यवहार नपाएकाले टिमबाट टाढा थिइन् उनी। भन्छिन्, 'फिल्ममा काम गर्दा त्यस्तो हुन्छ सोचेकी थिइनँ। मलाई फिल्ममा काम गर्ने सोच नै मरिसकेको थियो।' 'ड्रिम्स' एउटा मेरो इतिहास बन्छ भन्ने सोचेर उनले फिल्मको छायांकन सकिन्।

छायांकन सकियो। साम्राज्ञीलाई प्रचारमा हिँड्नुपर्छ भन्नेसमेत थाहा थिएन। भुवनले पनि दुई/तीनवटा अन्तर्वार्तामा पठाए। अन्त साम्राज्ञी गइनन्।

फिल्मको सम्पादन सकियो। भुवनले साम्राज्ञीलाई फिल्म हेर्न बोलाए। साम्राज्ञी गइनन्। कारण, उनी सुटिङको बेला टिमले गरेको असमान व्यवहारबाट रुष्ट थिइन्। भन्छिन्, 'सुटिङको समयदेखि फ्रस्ट्रेड थिएँ म। त्यही भएर पनि फिल्म हेर्न गइनँ।'

फिल्म रिलिज भएको समेत उनलाई मतलब थिएन। साथीले फोन गरेर फिल्म रिलिज भयो है भन्दासमेत उनको उत्तर 'उम्म अब के?' भन्ने थियो।

ड्रिम्स रिलिजपश्चात उनलाई दर्शकले मनपराइदिए। उनले दर्शकबाट धेरै माया पाइन्। त्यो देखेर उनको मन पनि त्यतै लोभ्यियो। पुन: फिल्ममा काम गर्ने इच्छा पलायो।

दर्शकले रुचाए साम्राज्ञीलाई

ट्रेलर रिलिज भएसँगै साम्राज्ञी चर्चामा थिइन्। फिल्म रिलिजपश्चात उनको चर्चा झनै चुलियो। हलबाट फिल्म हेरेर निस्केका दर्शकले उनको कामको प्रशंसा गर्दै उनको डाइलग बोलिरहेका थिए।

फिल्म रिलिज भएको दिन हलमा रिपोर्ट बुझ्नसमेत नगएकी साम्राज्ञीलाई जिया केसीको फोन आयो। जियाले हलको हल्ला सुनाउँदै साम्राज्ञीलाई भनिन्, 'नानु, तिमीमा यत्तिका हुटिङ आइरहेको छ। तिम्रो कामलाई मनपराएका छन्। आऊ तिमी।'

उनी हतारिँदै हलमा पुगिन्। उनले त्यहाँ दर्शकको अपार माया पाइन्। सम्झिन्छिन्, 'सुटिङ गरेको दु;ख अनि मिहिनेतको फल पाएकी थिएँ मैले।'

फिल्मको अफरै अफर

ट्रेलर रिलिजको समयदेखि नै साम्राज्ञीलाई फिल्मको अफर आउन थालेको थियो। तर ड्रिम्समा काम गर्दा पाएको दु;खबाट उनी फिल्म नखेल्ने मुडमा थिइन्। आएका अफर लत्याउँदै आएकी थिइन्।

ड्रिम्स रिलिजपश्चात उनलाई दर्शकले मनपराइदिए। उनले दर्शकबाट धेरै माया पाइन्। त्यो देखेर उनको मन पनि त्यतै लोभ्यियो। पुन: फिल्ममा काम गर्ने इच्छा पलायो।

ड्रिम्स रिलिजपश्चात उनलाई झनै धेरै फिल्मका अफर आएका थिए। उनी सम्झिन्छिन्, 'मैले कति फिल्मको त स्क्रिप्ट पनि पढ्न भ्याइनँ।' धेरैवटा स्क्रिप्ट सुनेपछि उनले फिल्म 'तिमीसँग'को स्करिप्ट छानिन्। 'म आफैँलाई एकदमै मनपर्‍यो तिमी सँगको सक्रिप्ट', उनी भन्छिन्, 'त्यही भएर तिमीसँगमा काम गर्न राजी भएँ।'

अनुबन्धित भएको हिसाबमा उनको दोस्रो फिल्म हो 'तिमीसँग।' तर प्रदर्शनको हिसाबले उनको दोस्रो फिल्म 'ए मेरो हजुर २' बन्यो।

'तिमीसँग'को छायांकन र प्रदर्शन मिति ढिला भएका कारण साम्राज्ञी आफैँले अर्को फिल्ममा काम गरेको बताउँछिन्। उनले आफूसँग खाली भएको समयमा आएका अफरमध्ये छानेर 'ए मेरो हजुर २' मा काम गरेको बताइन्।

दोस्रो फिल्मबाट पनि मिलेको सफतला

साम्राज्ञी अभिनित दोस्रो फिल्म 'ए मेरो हजुर २' पनि सफल भयो। ड्रिम्समा अनमोल र भुवनका कारण चर्चामा आएकी भन्ने हल्ला भए पनि उनले ए मेरो हजुर २ बाट प्रमाणित गरिदिइन् कि 'साम्राज्ञीको कारण पनि फिल्म चल्छ।'

झरना थापाले निर्देशन गरेको फिल्म 'ए मेरो हजुर २' मा साम्राज्ञीले नवअभिनेतमा सलिनमान बानियाँसँग जोडी बाँधेकी थिइन्।

तेस्रो फिल्मबाट पनि सफलताको आश

 उनको तेस्रो फिल्म 'तिमीसँग' यही चैत २३ बाट प्रदर्शनमा आउँदै छ। अहिले साम्राज्ञी यही फिल्मको प्रचारप्रसारमा व्यस्त छन्। साम्राज्ञी यस फिल्मबाट ह्याट्रिक गर्ने सोचमा छन्। भन्छिन्, 'व्यक्तिगत रूपमा आफैँलाई असाध्यै मनपरेको फिल्म हो, तिमीसँग। लाग्छ, यस फिल्मले पक्कै सफलता हासिल गर्छ।'

पारिश्रमिक १० लाख

नेपाली नायिकाहरूमध्ये सर्वाधिक पारिश्रमिक लिने नायिका हुन्, साम्राज्ञी। उनले फिल्म 'कायरा'का लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएकी छन्। यो पारिश्रमिक नेपाली नायिकाहरूले लिएकोमध्ये सार्वाधिक हो।

सुटिङमा दुई फिल्म

उनले अभिनय गर्ने दुई फिल्म छायांकनमा छन्। उनी फिल्म 'इन्टु मिन्टु लण्डन' र 'कायरा'को छायांकनमा व्यस्त छन्। उनले आफू अरू कुनै फिल्ममा अनुबन्धित नभएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.