|

भक्तपुर : आपसी टकरावका कारण मध्यपुर ठिमी नगरपालिकाको स्थापना दिवस नगर प्रमुख र उपप्रमुखले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाएका छन्।

नगर प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले मध्यपुर ठिमी– ४, बालकुमारीबाट र्‍यालीसहित चपाचोमा सम्मान कार्यक्रम गर्दै स्थापना दिवस मनाए भने उपप्रमुख अञ्जनादेवी मधिकर्मीको टोलीले नेपाल-कोरिया मैत्री अस्पतालमा फलफूल वितरण गरी स्थापना दिवस मनाए।

नगर प्रमुख नेतृत्वको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिमध्ये वडा नम्बर ५ र ७ का वडा अध्यक्षको सहभागिता रहेको थियो भने उपप्रमुख नेतृत्वको कार्यक्रममा नगरका १, २, ३, ४, ६ र ९ वडाका वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरू र बहुमत वडा सदस्यहरूको सहभागिता थियो।

मध्यपुर ठिमीमा नगर प्रमुख श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने उपप्रमुख मधिकर्मीसहित बहुमत वडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरू नेपाली कांग्रेसबाट निर्वाचत भएका हुन्।

२१औँ कि २२औँ!

तत्कालीन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोडेसहित पाँच गाविस समायोजन गरी २०५३ चैत १४ गते मध्यपुर ठिमी नगरपालिका घोषणा गरिएको हो। मध्यपुर ठिमी नगरपालिकाले आफ्नो स्थापना दिवस मनाउने क्रममा २०७१ सालमा १९औँ स्थापना दिवससँगै साक्षर नगर घोषणा गरिएको थियो। त्यसैगरी २०७२ सालमा २०औँ, २०७३ सालमा २१औँ स्थापना दिवस मनाएको थियो। 

तर बुधबार नगरपालिकाको स्थापना दिवस मनाउने क्रममा उपप्रमुख मधिकर्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा २२औँ उल्लेख गरिएको थियो भने चपाचोमा आयोजित कार्यक्रममा २१औँ उल्लेख गरिएको थियो।

परम्परागत वाद्यवादन र नाचका गुरु सम्मानित

चपाचोमा आयोजित कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाले नगरका विभिन्न परम्परागत वाद्यवादन, ऐतिहासिक नाचका गुरुहरूसहित विभिन्न संस्कृतिकर्मीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा मध्यपुर ठिमीका सांस्कृतिक धरोहर एवम् वाद्यवादन तथा नाच गुरु श्रीगोपाल प्रजापति, भक्तबहादुर घजू, काजी नरसिं कौडी, बुद्धिकुमार राजवाहक, अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठ, जगतकृष्ण चरीशंकर श्रेष्ठ, बुद्धिकुमार सिपाही, नारायणभक्त धौबञ्जार रहेका छन्।

त्यसैगरी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका बुद्धिकृष्ण वाग श्रेष्ठ, संस्कृतिकर्मी गणेशराम लाछी, सहकारीविज्ञ कैलाशभक्त प्रधानांग, पूर्व विशिष्ट श्रेणीका कर्मचारी भानु आचार्य, नगर स्थापना गर्न अभियान चलाउने नवीनप्रकाश श्रेष्ठलाई समेत उनीहरूको योगदानको कदर स्वरूप सम्मान गरिएको थियो।

नगर प्रमुख र उपप्रमुखबीच आरोप-प्रत्यारोप

पछिल्लो समय मध्यपुर ठिमी नगरपालिकाका जनप्रतिनिधिहरू आरोप-प्रत्यारोपमा उत्रेका छन्। नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रमुख मदनसुन्दर श्रेष्ठले एकलौटी र स्वेच्छाचारी ढंगले नगरापालिका संचालन गरेको आरोप लगाएकी छन्। उनले बुधबार नगरपालिकाको प्रांगणमा पत्रकार सम्मेलन गर्दै स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम कार्यपालिकाको नियमित बैठक बसी बैठकको निर्णयअनुसार नगरपालिका संचालन गर्नुपर्नेमा प्रमुखले बैठकसमेत नराखी एकलौटी र मनोमानी ढंगले नगरपालिका संचालन गरेको आरोप लगाउँदै नगर प्रमुखको नेतृत्वमा भएको स्थापना दिवससमेत बहिष्कार गरेका छन्।

उनले भने, ‘नगरपालिकाको स्थापना दिवस मनाउने र विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमका लागिसमेत नगर प्रमुखले कार्यपालिकामा छलफलसमेत गर्नुभएन। उहाँले एकलौटी ढंगले निर्णय गर्नुभयो। त्यसमा हाम्रो आपत्ति छ। त्यसैले हामीले त्यो कार्यक्रम बहिष्कार गर्दै अस्पतालमा फलफूल वितरणको छुट्टै कार्यक्रम राखेका हौँ।'

यता, चपाचोमा आयोजित कार्यक्रममा नगर प्रमुख श्रेष्ठले बहुमतको दम्भ सह्य नहुने बताए। उनले भने, ‘जनताको पक्षमा काम गर्न बहुमतले रोक्न खोजे त्यसलाई जनताको बीचमा नै ल्याउँछौँ।’

उनले बैठक बसौँ भन्दा नमानेकाले एक्लै निर्णय गरेर कार्यक्रम आयोजना गरेको दाबीसमेत गरे। उनले भने, ‘स्थापना दिवसको बारेमा छलफल गरौँ भन्दा उहाँहरूले मान्नुभएन, त्यसैले कर्मचारीसँगको छलफलमा कार्यक्रम तय गरेका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.