|

डडेल्धुरा : प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश ७ लाई कृषिमा आत्मनिर्भर हुने गरी सरकारले बजेट ल्याउन लागेको बताएका छन्। बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित एक कार्यक्रममा मन्त्री बोहराले प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर हुने खालको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन्।

भारतसँग सिमाना जोडिएका नाकाहरूबाट ठूलो मात्रामा तरकारी आयात भइरहेको उल्लेख गर्दै मन्त्री बोहराले यसलाई केही हदसम्म कम गर्नका लागि कृषि क्षेत्रमा निर्भर हुने गरी बजेट ल्याउन लागेको जानकारी गराए। ‘कृषिमा आत्मनिर्भर हुने आधार वर्षको रूपमा प्रदेश सरकारले बजेट विनियोजना गर्न गइरहेको छ’, अर्थमन्त्री बोहराले भने, ‘यहाँ २५ करोड तरकारी मात्रै भारतका विभिन्न नाकाबाट आयात भइरहेको छ। अब हामीले कृषिमा आत्मनिर्भर हुनुको कुनै विकल्प छैन।’

कृषिलाई आधुनिकीकरण गर्न नसक्दा र मर्यादित पेसाको रूपमा विकास गर्न नसकेर दरिद्रतातर्फ उन्मुख भइरेको उनको भनाइ थियो। सरकारले याेजनाबद्ध ढंगले कृषि क्षेत्रमा काम गरेमा तीनदेखि पाँच वर्षको अवधिमा कृषिमा आत्मनिर्भर हुने मन्त्री बोहराले विश्वास व्यक्त गरे। 

नेपालीको सोच र विचारमा परिर्वतन ल्याउन नसक्दा नेपाल गरिब भएको  मन्त्रीको तर्क थियो। मन्त्री बाेहराले आर्थिक क्रान्ति अब कसैको महलबाट नभई प्रत्येक नागरिकको घरघरबाट सुरु गर्नुपर्ने बताए। ‘आर्थिक क्रान्ति महलबाट होइन, सबैले आफ्नो घरघरबाट आर्थिक क्रान्तिका लागि अगाडि बढ्नुपर्छ’, उनले भने। उनले साँच्चिकै नयाँ शिराबाट नेपाल बनाउने हो भने सबैले मिलेर जानुको विकल्प नभएको पनि बताए। 

‘युवाले रोजगारका लागि विदेश पलायन हुने, बुढापाका र बालबालबालिका मात्रै मुलुकमा बस्ने हो भने यो देश कसले बनाउने?’, मन्त्री बाेहराले भने, ‘कतै न कतै हाम्रो नीतिमा खोट छ। हामीले अब नयाँ शिराबाट नेपाल बनाउने हो भने सबैले मिलेर जानु र सबैले देशका लागि योगदान गर्नुको विकल्प छैन।’

मन्त्री बाेहराले पार्टी, सिद्धान्त र विभिन्न किसिमका समूहको अन्त्य गरेर अगाडि बढे मात्रै देश समृद्ध बन्ने बताए। प्रदेश सरकारले यही चैत मसान्तभित्र एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए।

सरकारले खास गरी कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, सडकलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर पूरक बजेट ल्याउन लागेको र आगामी आर्थिक वर्षमा पूर्ण बजेट ल्याइने उनको भनाइ थियो। सरकारले जनतालाई प्रत्यक्ष राहत अनुभूति हुने खालको बजेट ल्याउन लागेको पनि अर्थमन्त्री बोहराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.