|

तनहुँ : देवघाट गाउँपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। देवघाट गाउँपालिका– ४ का अध्यक्ष पदमबहादुर गुरुङलाई सोही वडाका वडा सचिवमाथि कुटपिट गरेको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलित बनेका हुन्। 

वडा अध्यक्ष गुरुङमाथि वडा सचिव भोजराज श्रेष्ठलाई सांघातिक आक्रमण गरी हातपात गरेको आरोप लागेको हो। वडा अध्यक्ष गुरुङले सचिव श्रेष्ठलाई अपशब्दसमेत प्रयोग गरेको बताइएको छ। 

चैत १३ गते मंगलबार कार्यालय समयमा नियमित काममै रहेका बेला वडा अध्यक्ष गुरुङले हातपात गरेको सचिव श्रेष्ठले बताएका छन्। 

यसैबीच वडा अध्यक्षले गरेको हातपात र आक्रमणको विरोधमा देवघाट गाउँपालिकाका कर्मचारीहरू आन्दोलित बनेका छन्। उनीहरूले गाउँपालिकाको कामकाजसमेत ठप्प पारेका छन्। 

सोही घटनाको विरोध गर्दै जिल्लाका कर्मचारीहरूले बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन तनहुँका अध्यक्ष विश्वेश्वर सुवेदी नेतृत्वको नेपाल निजामती कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन तनहुँका अध्यक्ष तीर्थबहादुर थापा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष रुद्रसिंह ठकुरीलगायतको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत् ज्ञापनपत्र बुझाएका हुन्। 

जनप्रतिनिधिहरूले कर्मचारीहरूको मनोबल घटाउने, कर्मचारीलाई दासको रूपमा हेर्ने र आफूलाई सर्वेसर्वा ठान्ने गरेको कर्मचारीहरूले आरोप लगाएका छन्। निर्वाचित जनप्रतिनिधिहरूले आफूलाई अवमूल्यन गरेको उनीहरूको ठहर छ। 

राजनीतिक नेतृत्वलाई कर्मचारीतन्त्रसँग सहकार्य गर्न उनीहरूले सुझाएका छन्। वडा अध्यक्ष गुरुङले गरेको दुव्र्यवहारको निन्दा गर्दै उनलाई कानुनअनुसार कारवाही गरी कर्मचारीहरूलाई निर्धक्क र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्न उनीहरूले विज्ञप्तिमार्फत् मागसमेत गरेका छन्। 

दोषी उपर कारवाही नगरी ढाकछोप गर्ने प्रयत्न भएमा जिल्लास्थित कर्मचारीहरू कडा कदम चाल्न बाध्य हुने कर्मचारीहरूको चेतावनी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.