|

सन्दर्भ– १

१० वर्ष सँगै पढेको साथीकी आमा छ महिना ओछ्यानमा थलिएर बितिछन्। एकअर्काको घरको दूरी मुस्किलले आधा घण्टा। मलेसियामा रहेको साथीको फेसबुकमा स्वर्गीय आमाको तस्वीर कसैले ‘ट्याग’ गरेको देखेपछि थाहा भयो।

सन्दर्भ– २

कार्यालयमा कामको बीचमा फेसबुकमा अल्मलिँदा स्कुले साथीको तस्वीर देखियो। हत्तपत्त ‘लाइक’ गरिहालेँ। एक घण्टापछि अर्की साथीले च्याटमा भनिन्, ‘साथी त दुर्घटनामा परेर बितेछ।’ छाँगाबाट खसेजस्तो भइयो, ‘होइन के भन्छे यो?’ सम्झेँ, भर्खर लाइक गरेको उसको फोटोमा। ‘हेर्नु छैन, नहेरी लाइक गर्‍यौ?’, उसले हप्काई। हतारहतार ‘माउस’को पांग्रा घुमाएँ। ओहो! हो त रहेछ! अर्को साथीले श्रद्धाञ्जलि दिँदै हालेको रहेछ। हतारहतार लाइक हटाएर लेखेँ, श्रद्धाञ्जलि!

एक महिनायता भएका यी दुई घटनाले कति असामाजिक बन्दै गइएको रहेछ भन्नका लागि अरू तथ्य पेस गरिरहन परेन। 

बिहान ६ बजेदेखि राती ९ बजेसम्म फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल र खबर दिने दर्जनौँ विद्युतीय पत्रिकाको माझमा रहेर पनि आफू र आफ्नाबारे किन बेखबर बन्दै गइरहेको छु म? दिनभर सामाजिक सञ्जालमा जेलिएर पनि किन असामाजिक बनिरहेको छु म?

आफ्नो पेसै त्यस्तो। पत्रकारिता। हरेक समय फेसबुक, ट्वीटरलगायत सञ्जालमा जेलिनै पर्ने। एकछिन मात्र यिनको सञ्जालले घेरिएन भने सूचनाबाट विमुख भइने। पछि परिने। लाइक गरेका लिंकहरू, नेता, अभिनेता, समाजसेवी, शिक्षकलगायतले लेखेका स्टाटस समाचारका स्रोत बन्ने हुनाले केही समय पनि सामाजिक सञ्जालबाट दूर हुनै नसकिने\नमिल्ने।

‘वाईफाई’ र 'डाटा'मा ‘कनेक्ट’ भएपछि मिनेट मिनेटमा ट्वाङ ट्वाङ गरिरहने। के रहेछ हेर्नै पर्‍यो। हेरेपछि बोल्नै पर्‍यो। प्रतिक्रिया जनाउनै पर्‍यो। आफू सक्रिय भएको देखाउनै पर्‍यो। एक घण्टा मात्र फेसबुक खोल्न भ्याइएन भने ‘ओहो जहाजै त डुबेन, पछि त परिएन’, ‘साथीहरूले केके हालिसके होला’, ‘केके भनिसके होला’ जस्तो हुने।

सामाजिक सञ्जाल पेसाका लागि सीमित भए सुखी भइन्थ्यो कि! फेसबुकमा खोलिएका अनेक किसिमका समूह (ग्रुप)। स्कुले साथीका ग्रुप। क्याम्पसमा पढ्दाताका बनेका साथीहरूको अर्को ग्रुप। टोल–बस्तीको अर्को ग्रुप। कार्यालयका साथीहरूको अर्को ग्रुप। एकछिन खाली हुँदैन।

‘वाईफाई’ र 'डाटा'मा ‘कनेक्ट’ भएपछि मिनेट मिनेटमा ट्वाङ ट्वाङ गरिरहने। के रहेछ भनेर हेर्नै पर्‍यो। हेरेपछि बोल्नै पर्‍यो। प्रतिक्रिया जनाउनै पर्‍यो। आफू सक्रिय भएको देखाउनै पर्‍यो। एक घण्टा मात्र फेसबुक खोल्न भ्याइएन भने ‘ओहो जहाजै त डुबेन, पछि त परिएन’, ‘साथीहरूले के के हालिसके होला’, ‘केके भनिसके होला’ जस्तो हुने।

फेरि साथीहरूले हालेका फोटोमा लाइक\कमेन्ट गर्नै पर्‍यो। आफूले नगरे आफूलाई पनि गर्दैनन् भन्ने बुझेको छु मैले। साथीको जन्मदिन। साथीकी श्रीमतीको जन्मदिन। छोराको जन्मदिन। छोरीको जन्मदिन। सालासालीको जन्मदिन। देवर/देवरानीको जन्मदिन। रिठ्ठो नबिराई शुभकामना दिनै पर्‍यो। 

एउटा लेख्छ, ‘रुघाखोकी र ज्वरोले लडायो।’ अर्को भन्छ, ‘हिजो राती कुकुरले झम्टेर घाइते बनायो।’ हात मर्कियो, खुट्टा भाँचियो, ढाड सड्कियो। सबैलाई सहानुभूति जनाउनै पर्‍यो। के भयो यार? कसरी सर? कहिले ‘म्याम?’ अन्त्यमा लेख्नै पर्‍यो, ‘गेट वेल सुन।’ शीघ्र स्वास्थ्यलाभको कामना। अझ आफूलाई जान्ने सुन्ने देखाउन उपचारको सूत्र पनि बताइदिनुपर्‍यो। जस्तो : तातोपानी खाऊ। फलानो खाऊ। फलानो नखाऊ। यस्तो गर। यस्तो नगर। अँ, आराम गर।  

दुःख परेकालाई हेर्न जान, प्रत्यक्ष रूपमा सहानुभूति दिन नभ्याइने। नसकिने। सामाजिक सञ्जाल छँदै छ। यसैमार्फत् झारा टारिदियो। बस्।

फेसबुक फ्रेण्डले पाएका सानातिना उपलब्धिका लागि बधाई दिनै पर्‍यो। टोलसुधार समितिले दिएको प्रमाणपत्र देखाएर साथीले तस्वीर हालेपछि बधाई नदिँदा असामाजिक भइने पो हो कि! डर छ। सप्ताहमा बसेबापत पाएको कृतज्ञतापत्रसहितको फोटोलाई लाइक दिनै पर्‍यो। छोराछोरी कक्षा उक्लेको। साथीको प्रमोसन भएको। बाबु भएको, आमा भएको (पुत्र\पुत्रीलाभ) मात्र होइन, काका, मामा फुपू, सानीमा भएको लेखेपछि पनि बधाई दिनै पर्‍यो।

जन्म दिने बाबुआमा त भइहाले। फेसबुक फ्रेण्डका काका, मामा, हजुरबाको मृत्युमा अरू केही लेख्न नसके नि ‘आरआईपी’ (खाँट्टी अर्थ बुझेको छैन मैले) दिनै पर्‍यो। मृतककलाई श्रद्धाञ्जलि र शोकमग्न परिवारलाई समवेदनाका दुई-चार शब्द खन्याउनै पर्‍यो।

श्रीमतीसँग बसेको, छोरासँग घुमेको फोटो बेलाबेलामा अपलोड गर्नै पर्‍यो। मुख चुच्चो पारेको सेल्फी हाल्नै पर्‍यो। अलि नाम चलेका नेता, अभिनेतासँग बसेर फोटो खिचिएको छ भने हाल्नै पर्‍यो। झन् नेता अभिनेताहरू ठूला पदमा पुगे वा उनीहरूले ठूला पुरस्कार पाए भने त्यो बेला फोटो ‘अपलोड’ गर्नुजतिको आनन्द केमा होला? खाएको, घुमेको, पौडेको, गुडेको, उडेको लगायतका तस्वीर हाल्नै पर्‍यो। 

राजनीतिमा रुचि छ भने आफ्ना नेताको गुणगान अर्का दलका नेतालाई सत्तोसराप गर्नै पर्‍यो। आफूलाई मनपर्ने विचारलाई अनेक तिकडम गरेर उचाल्ने र मन नपरेका विचारलाई खुइल्याउने काम गर्नै पर्‍यो।

यो सामाजिक सञ्जालको नशा पनि कस्तो! अस्ट्रेलियामा रहेको साथी अहिले के खाँदै छ? थाहा हुने। घरमा श्रीमतीले खाइन् कि खाइनन् वास्तै नहुने। नर्वेमा रहेको साथीको छोरा के गर्दै छ? लाइभ देखिने तर आफ्नो छोरा के गर्दै छ थाहै नहुने। साथीका बाआमाका तस्वीर हेरेर अाशीर्वाद माग्न मन लाग्ने तर अाफ्ना बुबाआमाको अवस्था के छ पत्तै नहुने।

घरमा भरे भोलि बिहानलाई तरकारी के छ? भण्डारमा चामल सकियो कि! केही वास्ता नहुने। छोराको स्कुलमा पैसा तिर्नुपर्ने, कापी-कलम किन्नुपर्ने मतलबै नहुने। वरपरका छरछिमेकसँग सम्बन्ध त टुट्यो, उनीहरूसँग बोलचाल भनेको यही सामाजिक सञ्जालमा मात्रै।

पाकाको कुरा सुन्ने फुर्सद नै छैन। सामाजिक सञ्जालमा भेटिने तुक्का, चुट्किला, र्‍याप हेर्न नै समय पुगेको छैन। सामाजिक सञ्जालमा जस्ता रसिला भरिला कुरा कहाँ मान्छेसँग गफिएर पाउनु! आफूले पठाएको ‘म्यासेज’को ‘रिप्लाइ’ कतिखेर आउला भन्दै प्रतीक्षा गर्नुको मज्जै बेग्लै। 

फुर्सद भयो कि फेसबुक। कार्यालयमा अलिकति खाली भयो कि फेसबुक, ट्वीटर, इन्स्टाग्राम। घरमा पुग्यो, खानाका लागि कुर्दा फेसबुक। दाहिने हात मुखमा, देब्रे हात फेसबुकमै। बसमा बसेका बेलाको कुरा छोडिदिऊँ, सहज रूपमा उभिन पाइयो भने एक हात 'ह्याण्डिल'मा अर्को हात मोबाइलमा। बसकै दूरीमा पनि अनेक संरचना बनिसकेको हुने। पत्तै नहुने। बाहिर हेर्दै प्रकृति बुझ्दै हिँड्ने भए पो!

सहकर्मी एक भाइ छन्। काठमाडौंको साँघुरा र व्यस्त फुटपाथमा पनि उनी मोबाइलमा सामाजिक सञ्जालमा व्यस्त रहन्छन्। ‘मान्छेसँग ठोकिँदैन, लडिँदैन भन्या?' सुन्नुस् त जवाफ, ‘अभ्यस्त भइसकेँ। बरु यो नचलाई हिँडे भने मान्छेसँग ठोक्किन्छु।’ एकछिन परीक्षण पनि गरेँ। हो रहेछ। मोबाइलमा फेसबुकमा मस्त भएको मान्छेसँग को ठोक्किन आउने? बाटो छोडिदिने रहेछन्। केही सीप लाग्दोरहेनछ, सामाजिक सञ्जालको जञ्जालमा जेलिनेहरूसँग।

फेरि आफ्नै कुरा। आज त बिदाको दिन, मरे नि चलाउँदिन भनेर मोबाइलको पैसासमेत रित्यायो। केही बेरमै के नपुगे के नपुगेजस्तो। बिरामी भएजस्तो। तत्काल कुदेर गयो। कार्ड किनेर ल्यायो। सुरु गर्‍यो। पैसाको परवाह किन गर्नु?

सामाजिक सञ्जालमा जेलिएर म यान्त्रिक त बन्दै गइरहेको छैन? मैले मानिसहरूलाई गर्नुपर्ने व्यवहारमा परिवर्तन त आइरहेको त छैन? परिवारलाई दिनुपर्ने समय नदिएर, सुन्नुपर्ने कुरा नसुनिदिएर अन्याय त गरिरहेको छैन? अनेक 'अनलाइन' र तिनमा आउने विचारबाट प्रभावित भएर आफ्नो सोच्ने शक्ति त क्षीण त गराइरहेको छैन? सोच्दै छु।

कुन उद्देश्यले किन ‘स्टाटस’ लेख्यो? मतलब छैन, तत्काल प्रतिक्रिया दिइहाल्यो। आगो बनिहाल्यो। तल्लो स्तरको गालीमा उत्रियो। सामाजिक मूल्य–मान्यताको वास्ता छैन। मनपर्नेको गुणगान गर्‍यो। मन नपर्नेको खोइरो खन्यो। पारिवारिक नातासम्बन्धको कुनै मूल्य छैन। भेडाको बथान जस्तै, एउटा एकतिर लाग्यो भने सोचविचार नै नगरी अरू पनि धमाधम पछि लाग्ने।

अरूको आलोचना गर्दा, आफूले राखेको ‘स्टाटस’ अरूले नबुझ्दा, बुझेर पनि गलत अर्थ लगाउँदा र आफ्नै ढंग नपुग्दा ज्यान जोगाउनै मुस्किल पर्ला भन्ने डर छ। ‘ए यस्तो लेख्ने, पख्लास्’, ‘भरे भेटौँला’, ‘घर त आउलास् नि!’ जस्ता धम्की पनि सुन्नुपर्छ सामाजिक सञ्जालमा।

विचरा साथी जापान, अस्ट्रेलिया, अमेरिका, नर्वे पुगेर कति संघर्ष गरिरहेछ। उसका रंगीन र रमाइला तस्वीरमा लोभिएर ‘हरे, आफूले भने केही गर्न सकिएन’ भन्दै कुण्ठा पालेर बस्नु पनि त रोगै होला। परिवार, समाज र देशप्रति गर्नुपर्ने कर्तव्यको ख्यालै छैन।

सामाजिक सञ्जालमा जेलिएर म यान्त्रिक त बन्दै गइरहेको छैन? मैले मानिसहरूलाई गर्नुपर्ने व्यवहारमा परिवर्तन त आइरहेको त छैन? परिवारलाई दिनुपर्ने समय नदिएर, सुन्नुपर्ने कुरा नसुनिदिएर अन्याय त गरिरहेको छैन? अनेक 'अनलाइन' र तिनमा आउने विचारबाट प्रभावित भएर आफ्नो सोच्ने शक्ति त क्षीण त गराइरहेको छैन? सोच्दै छु।

सामाजिक सञ्जालमा लगाउनेमध्येको केही समय मैले समाज, संस्कृति, इतिहास र विज्ञानको अध्ययनमा लगाएको भए, मानिस अन्य जीवजन्तु र प्रकृतिसँग घुलमिल भएको भए अर्कै पो भइसक्थेँ कि! 

हुनत सामाजिक सञ्जालबाट फाइदा लिनुपर्ने धेरै कुरा छन्। तीबाट विमुख भएर अन्यत्रै पो बहकिरहेको त छैन? यो सामाजिक सञ्जालको जञ्जालबाट पूरै निस्किन त सक्दिनँ म, तर यसको सदुपयोग त गर्न सक्छु नि!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.